६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

भदौ २० बाट मतपत्र छपाइ

फाइल तस्बिर

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दल दर्ताको काम सकिएसँगै निर्वाचन आयोगले मतपत्र छाप्न सुरु गर्ने भएको छ। समानुपातिक प्रणालीमा भाग लिन आइतबारसम्म दल दर्ताका लागि दिएको समय सकिएसँगै आयोगले भदौ २० बाट मतपत्र छाप्ने काम सुरु गर्न लागेको हो।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक र प्रदेशका दुईदुई गरी चार प्रकारका मतपत्र आयोगले छाप्ने छ। प्रतिनिधिसभातर्फको समानुपातिक र प्रत्यक्षको एक/एक गरी दुई मतपत्र आयोगले छाप्ने छ। त्यस्तै, प्रदेशसभा सदस्यतर्फको प्रत्यक्ष र समानुपातिकको मतपत्र भने प्रदेशअनुसार फरक–फरक हुने आयोग स्रोतले जनाएको छ। त्यसका लागि आयोगले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फका लागि दुई/दुई करोड गरी आठ करोड मतपत्र छाप्ने आयोगले जनाएको छ।

भदौ २० बाट आयोगले चार प्रकारका मतपत्र छाप्न सुरु गर्ने जानकारी दिँदै आयोगका एक पदाधिकारीले भने, ‘मतपत्र छाप्नका लागि आवश्यक कागत खरिदका लागि सोमबार/मंगलबार टेन्डर आह्वान गर्ने तयारी भए पनि स्थानीय तह निर्वाचनका बेला बचेको कागतबाट मतपत्र छाप्ने काम सुरु गर्छौं।’ मतपत्रको साइजसहितका विषयमा आयोग आवश्यक गृहकार्यमा जुटेको जानकारी दिँदै ती पदाधिकारीले भने, ‘भदौ २० बाट सुरु नगरे ८ करोड मतपत्र छापेर ढुवानी गर्न कठिन हुन्छ।’

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ भाग लिन ७८ राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन्। आयोगले समानुपातिक प्रणालीतर्फ भाग लिनका लागि आइतबार साँझसम्म दिएको समयमा प्रतिनिधिसभातर्फ दल संख्या ७६ रहे पनि निवेदन संख्या ६८ रहेको छ। त्यस्तै प्रदेश १ मा दल संख्या ६३ रहेकोमा निवेदन संख्या ५५ को परेको छ। मधेस प्रदेशमा ६७ राजनीतिक दल रहे पनि निवेदन संख्या ५९, बागमती प्रदेशमा दल संख्या ६६ रहे पनि निवेदन संख्या ५८, गण्डकी प्रदेशमा दल संख्या ६० रहेकोमा निवेदन संख्या ५२ रहेको छ। लुम्बिनीमा ६२ दल संख्या रहेकोमा ५४, कर्णालीमा ५७ दल रहेकोमा ४९ र सुदूरपश्चिम प्रदेशमा दल संख्या ५८ रहेकोमा निवेदन संख्या ५० रहेको आयोगले जनाएको छ। आयोगले समानुपातिक प्रणालीतर्फ भाग लिनका लागि निवेदन दिने दलहरूको सूची सोमबार सार्वजनिक गर्ने छ।

आयोगले मतदाता नामवलीमा देखिएका त्रुटि पनि सच्याउन सुरु गरेको छ। स्थानीय तह निर्वाचनमा फोटोसहितको मतदाता नामवलीमा धेरै त्रुटि भेटिएपछि आयोगको तीव्र आलोचना भएको थियो। त्यसलाई सुधार गर्न आयोगले मतदातालाई नामवली सच्याउन समय दिएको छ।

आयोगले मतपेटीसहितका निर्वाचनका लागि आवश्यक पर्ने अन्य सामग्री खरिद प्रक्रिया अघि बढाएको छ भने मतदानस्थलको अध्यावधिक गर्ने कामलाई पनि आयोगले अघि बढाएको छ।

प्रकाशित: १३ भाद्र २०७९ ०२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App