राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पतालहरुको अनुभव, कार्य क्षेत्र र सेवा विस्तारलाई नियालेर स्वास्थ्य क्षेत्रको जनशक्ति विकासका लागि अल्पकालिन र दीर्घकालीन योजनाहरु बनाउने काममा विशेष ध्यान दिन सरकारलाई आग्रह गरेकी छन्।
राष्ट्रपति भण्डारीले स्वास्थ्य सेवाको विशिष्ट आवश्यक्ताको पहिचान गरी सोही अनुरुपको जनशक्ति तयार पार्नुपर्ने मुलुकसामू विद्यमान चुनौतिको सामना गरेर अघि बढन अस्पतालहरुको अनुभव अति उपयोगी हुने पनि स्पष्ट पारिन्।
काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालको ६३औं वार्षिकोत्सवको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक समारोहमा बोल्दै उनले सो अस्पतालको सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने काममा थप सफलता मिल्ने विश्वास समेत व्यक्त गरिन्।
राष्ट्रपति भण्डारीले सो अस्पतालले बाल मृत्युदर घटाउन समेत उल्लेख्य योगदान दिएको पनि स्मरण गराइन्। राष्ट्रपति भण्डारीले कोभिडको कठिन घडीमा पनि बिरामीहरुको उपचारको काममा कमी हुन नदिएको भन्दै सो अस्पतालका चिकित्सकहरुसहितका स्वाथ्यकर्मीहरुको पनि प्रशंशा गरिन्।
प्रकाशित: ३ भाद्र २०७९ ०८:३४ शुक्रबार