१० आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रत्यायन विधेयक बहुमतले पारित

फाइल तस्बिर।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाको सन्देशसहितको ‘प्रत्यायन विधेयक २०७८’ पारित भएको छ।  

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पारित गरियोस् भनी सदनमा प्रस्तुत गर्नुभएको उक्त विधेयक सदनको बहुमतले पारित गरेको हो।  

विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बडूले विधेयकको उद्देश्य नै प्रत्यायनको माध्यमबाट समरुपता प्रमाणित गर्ने र अन्तर्राष्ट्रिय मान्यता प्रदान गराउने तथा अन्तर्राष्ट्रिय व्यापारमा वस्तु र सेवाको पहुँच गराउनु रहेको  बताए। यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गरी आर्थिक विकासमा योगदान पुर्‍याउने उनले विश्वास व्यक्त गरे।  

यसअघि विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद दिव्यमणि राजभण्डारीले अत्यावश्यक विधेयक सदनमा आएको बताए। सांसद नवराज सिलवालले प्रत्यायन विधेयक ल्याएकामा सरकारलाई धन्वयाद दिए।  

उनले नेपाली उत्पादनलाई विश्व बजारमा पुर्‍याउन तथा निरीक्षण र प्रमाणीकरण गर्नका लागि आधिकारिकता प्रदान गर्ने भएकाले पनि उक्त विधेयक महत्वपूर्ण रहेको बताए। उनले विधेयकमा नेपालको उत्पादन हो भनेर प्रमाणीकरण हुने भयो तर अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने सन्दर्भमा पनि विशेष ध्यान दिन आग्रह गरे।  

छलफलमा सांसद प्रेम सुवालले पनि भाग लिएर आफ्नो धारणा राखेका थिए। विधेयकमाथि उनले राखेका संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो। प्रतिनिधिसभाको अर्काे बैठक भदौ २ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ।रासस

प्रकाशित: ३१ श्रावण २०७९ १०:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App