१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नगरप्रमुख र उपप्रमुखको कार्यकक्षमा तालाबन्दी

फाइल तस्बिर।

निजगढ नगरपालिकाको प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङको कार्यकक्षमा सोमबारदेखि वडाध्यक्ष र कार्यपालिका सदस्यले तालाबन्दी गरेका छन्।

सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीलाई पुनः हाजिर गराउन माग गर्दै गठबन्धनका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले तालाबन्दी गरेका हुन्।

एमालेबाट निर्वाचित नगर प्रमुख पुरीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका थिए। विरोधमा गठबन्धनबाट निर्वाचित वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले नगरप्रमुख र उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको बताईएको छ।

निजगढ नगरपालिकाको प्रमुख सुरथ पुरीले आफू काठमाडौँमा रहेको र उपप्रमुख पनि बाहिर रहेको बेलामा कार्यकक्षमा तालाबन्दी गरेको बताएकी छन्।

दुई वर्ष भन्दा बढी समयदेखि निजगढ नगरपालिकको प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका सुमन कुमार कार्कीको सरुवा भई नगरपालिकामा अर्को प्रमुख प्रशासकीय अधिकृत हाजिर भैसकेपछि त्यसलाई विवादित बनाउने काम काँग्रेस पार्टीबाट जितेका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले गरेको आरोप पुरीले लगाएकी छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन ११ गतेको निर्णय अनुसार कार्कीलाई बाराकै पचरौता नगरपालिकामा  सरुवा गरेको थियो।

निजगढमा कार्कीको ठाउँमा मकवानपुरको थाहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीलाई सरुवा गरेको थियो।  निजगढमा सरुवा भएसँगै पुरी साउन १३ गते  नै हाजिर गरेका थिए।

सरुवा भएको पचरौता नगरपालिकामा नगई  मन्त्रालय पुगेर सरुवाको निर्णय उल्टाएका कार्की पुनः नगरपालिकामा हाजिर हुनको लागि आउँदा नगरप्रमुख पुरीले कार्कीलाई हाजिर गर्नबाट रोक्न उनको कार्यकक्षमै तालाबन्दी गरेका हुन्।

कार्यकक्षमा तालाबन्दी भएपछि कार्की गठबन्धनबाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यमार्फत् नगर प्रमुख र उपप्रमुखलाई हाजिर हुनको लागि दबाब दिँदै आएका छन्।  

कार्कीलाई पुनः थमौती पत्र दिएको मन्त्रालयले पुरीलाई भने मन्त्रालय तानेको छ।  

गठबन्धनबाट निर्वाचित वडाध्यक्षसहितका कार्यपालिका सदस्यले कार्कीलाई हाजिर गराउन भन्दै साउन १७ गते नगरप्रमुखलाई ज्ञापनपत्र समेत बुझाएका थिए।

ज्ञापनपत्र बुझ्ने क्रममा नगरप्रमुख पुरीले पटकपटकको निर्णय उल्टाएर एउटै कार्यालयमा फर्कनु स्वभाविक नहुने र अर्को प्रमुख प्रशासकीय अधिकृतले हाजिर गरिसकेको अवस्थामा कार्कीलाई पुनः हाजिर गराउन नसकिने जवाफ दिएकी थिइन्।  

नगर प्रमुख र उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने कार्यको नेतृत्व गरेका निजगढ नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष सूर्य घलानले कार्कीलाई हाजिर नगराएर नगरपालिकाको कामकाजहरुलाई नगरप्रमुख र उपप्रमुखले प्रभावित गरेको आरोप लगाएका छन्।

नगर सभा उद्घाटन मात्रै गरिएको , नगर सभाबाट भुमि सम्बन्धित लगायतका धेरै महत्वपूर्ण निर्णयहरु गर्न बाँकी रहेकोले प्रमुख प्रशासकीयलाई काम गर्न दिनु पर्ने माग रहेको घलानले बताए।

मन्त्रालयको अपरिपक्क निर्णयका कारण निजगढ नगरपालिकामा विवाद निम्तिएको भन्दै नगरप्रमुख पुरीले मन्त्रालयले आफ्नो निर्णय सच्याउनु पर्ने बताए।

कार्कीले मन्त्रालयको निर्णय उल्टाएपछि विवाद सुरु भएको नगरपालिकाको प्रशासनिक कामकाज प्रभावित बन्दै आएको छ।

कार्कीको विषयलाई लिएर जनप्रतिनिधि बीच मतभेद र कर्मचारीबीच मनमुटावको स्थिति उत्पन्न भएको छ। यसअघि तीनपटक सम्म सरुवाको निर्णय रोकेर निजगढमा बस्दै आएका कार्कीले यो चौथो पटक निर्णय उल्ट्याउन सफल बनेको गुनासो गरेका छन्।

प्रकाशित: २४ श्रावण २०७९ १०:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App