४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

पोखरामा ‘मेट्रो मेयर मिट नेपाल’ हुने

पोखरामा देशभरका ६ महानगरका मेयर भेला हुने भएका छन्। आगामी साउन १३ र १४ गते पोखरामा ‘मेट्रो मेयर मिट नेपाल’ हुने भएको हो।

सम्मेलनमा ६ महानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहनेछ। सम्मेलनमा महानगर सञ्चालनका विद्यमान कानून र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदानप्रदान गर्नका लागि कार्यक्रम राखिएको पोखराका मेयर धनराज आचार्यले बताए।

पहिलो दिन लेकसाइडस्थित होटल बाराहीमा भेला भई सराङकोटस्थित सराङकोट माउण्टेन लजमा सहभागी पुग्नेछन्। जसमा संघीयता, महानगर र अबको बाटोबारे राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.जगदीशचन्द्र पोखरेलको मुख्य प्रस्तुति रहनेछ। 

यस्तै, पोखरासहित काठमाडौ, विराटनगर, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिकाका प्रमुखहरुले आफ्ना महानगरका मुख्य योजना तथा कार्यान्वयनका चुनौतीबारे सम्बोधन गर्नेछन्।

महानगरका उपप्रमुखबाट ऐनले निर्दिष्ट गरेका जिम्मेवारी सम्बन्धमा अनुभव तथा सिकाइ आदानप्रदान हुनेछ भने महानगरका प्रमुख प्रशासकीय अधिकृतले विद्यमान ऐन, कानून र तिनका कार्यान्वयनका चुनौतीबारे मन्तव्य राख्नेछन्। साथै दोस्रो दिन महानगरको साझा सवालबारे संश्लेषण, महानगरमा पूर्वाधार विकास तथा सुशासनबारे पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले प्रस्तुति राख्नेछन्।

यस्तै, महानगरमा हरित, उत्थानशील तथा समावेशी विकासको अपरिहार्यता सम्भावना र चुनौतीबारे छलफल हुनुको साथै महानगरका साझा सवाल तथा आगामी कार्यदिशा विषयमा छलफल हुने पोखरा महानगरका प्रमुख आचार्यले बताए। 

उनले महानगरबीचका काम र सम्भावनालाई उजागर गर्ने कुरामा पनि छलफल हुने बताए। मेयर आचार्यले अनुभवी मेयरले भोगेका समस्या र समाधानका उपाय र नयाँ जनप्रतिनिधिबाट आउने योजनाका बारेमा विस्तृत छलफल हुने बताए। 

अन्त्यमा, पोखरा घोषणापत्र जारी गर्दै सम्मेलन सकिनेछ। गत वैशाख ३० को स्थानीय तह निर्वाचनबाट आगामी ५ वर्षका लागि देशभरका स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएका छन्।

प्रकाशित: १२ श्रावण २०७९ ०८:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App