काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहले राष्ट्रिय दैनिक नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनलाई कारबाही गर्न माग गर्दै नेपाल प्रेस काउन्सिलमा उजुरी दिएका छन्।
उक्त सञ्चारमाध्यमहरुले महानगरपालिकाका विषयमा तथ्यहीन, भ्रामक र कपोलकल्पित समाचार सम्प्रेषण गरेको साहको आरोप छ।
केही दिनअघि महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा १ करोड रुपैयाँ 'रुटिन अफ नेपाल बन्द' नामको फेसबुक पेजलाई फाइदा पुग्नेगरी छुट्याएको समाचार समाचारपत्र र हिमालयन टिभीले प्रकाशन/प्रशारण गरेका थिए।
साहले लेखेका छन्, ‘अमूक संस्थालाई बजेट बिनियोजित गरेको समाचार प्रकाशन तथा प्रशारण गरी पत्रकार आचार संहिता २०७३ को दफा ४ बमोजिम कर्तव्य पालना गरेको नदेखिएकोले सोही आचार संहिताको दफा ७ बमोजिम दुवै सञ्चारगृहलाई क्षतिपूर्ति सहितको कारवाहीको माग गर्दछु,’
उजुरीपत्र
प्रकाशित: ३ श्रावण २०७९ ११:३६ मंगलबार