आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले सत्ता गठबन्धनमा रहेका दलहरुसँग तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ।
सोमबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गठबन्धनका दलहरुसँग छलफल गरेर चुनावी तालमेल गर्ने निर्णय गरेको हो।
'पार्टीलाई आसन्न प्रदेश र प्रतिनिधिसभामा प्रष्ट बहुमततर्फ लक्षित गराउने, संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरणका गर्दै जननताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि केन्द्रीय समितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरुसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ।’ कांग्रेसको निर्णयमा भनिएको छ।
यस्तै तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्नुपर्ने निर्णयमा उल्लेख गरेको छ।
प्रकाशित: २ श्रावण २०७९ ११:५७ सोमबार