राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संघको बैठकमा कुटाकुट भएकाे छ। आइतबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा महिला संघको बैठकमा कुटाकुट भएको हो।
कुटाकुट को क्रममा घाइते केहीको चावहिलस्थित हेल्पिङ हेन्स हस्पिटलमा उपचार भइरहेको राप्रपाका एक सदस्यले बताए। असार ३१ गते महिला हिंसा सम्बन्धी सरकारलाइ ज्ञापन पत्र बुझाउने विषयमा छलफल गर्न बैठक बाेलाइएकाे थियाे।
उक्त बैठक चलिरहेका बेला कुमारी तामाङ लगायतले विराेध गर्दै सहभागीहरूमाथि हातपात गरेकाे राष्ट्रिय प्रजातान्त्रिक महिला संघकी अध्यक्ष अन्जना शाह रावलले नागरिकन्यूजलाइ जानकारी दिइन्। उनले शान्त वातावरणमा बैठक चलिरहेका बेला कुमारी तामाङ र महामन्त्री कुन्त्री शाहीले समेत हातपात गरेकाे आराेप समेत लगाइन्।
यता महामन्त्री शाहीले भने आफू कुटपिटमा संलग्न नभएकाे दाबी गरिन्। उनले त्यहाँ के भएकाे थियाे भन्ने कुरा सिसिटिभि फुटेज हेर्न समेत चुनाैती दिइन्।
बैठकमा दुई पक्षबीच झडप भएपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन त्यहाँ पुगेका थिए।
राप्रपा महिला संघको अध्यक्षमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिन अगाडि मात्रै अञ्जना शाह रावललाई नियुक्त गरेका हुन्। असन्तुष्ट पक्षले पार्टी बाहिरको मान्छेलाई ल्याएर अध्यक्ष बनाएको भन्दै विरोध जनाउँदा विवाद बढेको हो।
प्रकाशित: २६ असार २०७९ १३:०७ आइतबार