२ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

स्वराजको अभिव्यक्ति भ्रमपूर्ण : परराष्ट्रमन्त्री

काठमाडौं- उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय विदेशमन्त्री सुषमा स्वराजले त्यहाँको राज्यसभामा दिएको वक्तव्य भ्रमपूर्ण र नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेपकारी भएको टिप्पणी गरेका छन्।'भारतीय विदेशमन्त्रीको वक्तव्य भ्रमपूर्ण छ,' थापाले संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिको बैठकमा भने, 'नेपालको आन्तरिक राजनीतिमा भारतको हस्तक्षेपकारी भूमिका देखिएको छ।' स्वराजले बिहीबार भारतको राज्यसभामा लिखित मन्तव्य दिँदै नेपालमा भारतले नाकाबन्दी नलगाएको दाबीसहित भारतको सर्वदलीय संयन्त्र नेपाल पठाउने प्रस्ताव गरेकी थिइन्।

थापाले भारतले अघोषित नाकाबन्दी गरेर नेपालको जनजीवन कष्टकर पारेको बताए। उनले एक महिनाअघि गरेको प्रतिबद्धता पनि भारतले पूरा नगरेकाले पछिल्लो भ्रमण र भेटघाट गरिएको बताए। उनले वीरगन्जबाहेक नाकामा कुनै अवरोध नभए पनि भारतले अड्कलेर मात्रै पठाएको जानकारी गराए।

'वीरगन्ज–रक्सौल नाकामा धर्नाका कारण अवरोध छ,' थापाले भने, 'दशगजामा बसेर अवरोध गर्नु जायज होइन तर त्यसबाहेक आधादर्जन नाका खुला छन्। त्यहाँबाट पनि भारतले सामग्री पठाउन सक्छ।'

थापाले विश्व समुदायलाई देखाउन र नेपाल सरकारलाई दबाब दिन अड्कलेर पठाइएको दाबी गरे। 'सुरक्षाको कारण देखाउने हो भने किन अड्कलेर पठाइएको छ?' थापाको प्रश्न थियो, '३ सयवटा ट्रक आउने नाकाबाट ३० वटा मात्रै पठाइएको छ। सुरक्षाको कारण हो भने ३० वटा मात्रै किन पठाइयो? यो विश्व समुदायलाई देखाउन र नेपाल सरकारलाई दबाब दिन अड्कलिएको हो भन्ने घामजत्तिकै छर्लंग छ।'

थापाले मुलुकमा देखिएको संकट मधेसकेन्द्रित दलको अवरोधका कारण मात्रै नभएको बताए। आन्दोलनले उठाएका जायज माग राज्यले पुरा गर्नुपर्ने भए पनि कुनै देशको आन्तरिक मामिलालाई देखाएर दुईदेशबीचको व्यापार प्रभावित पार्ने काम गर्नु अन्तर्राष्ट्रिय मान्यताविपरीत हुने उनको भनाइ थियो।

'नेपालको आन्तरिक समस्या समाधान गर्न हामी पनि तयार छौं,' थापाले भने, 'कुनै देशको आन्तरिक मामिलालाई आधार बनाएर दुई देशबीचको व्यापार प्रभावित तुल्याउनु अन्तर्राष्ट्रिय कानुन र मान्यताविपरीत हो। त्यही बहानामा आपूर्ति र पारवहन अवरोध गर्नु उपयुक्त हुँदैन।'

उनले दुई देशका सरकारबीच भएका विषय मात्र नेपालको राष्ट्रिय नीति बन्न सक्ने बताए। मधेसवादी दलको माग पुरा गराउन सत्तारुढ र विपक्षी दलले साझा अवधारणा तयार पारेको उनको भनाइ थियो। उनले समस्या समाधानका लागि सरकारले विभिन्न प्रयास जारी राखेको पनि धारणा राखे। आयात सामग्री सहज वितरणका लागि सरकारले प्रयास जारी राखेको बताए।

'भारतबाट भएको अघोषित नाकाबन्दी हटाउन विभिन्न पक्षबाट छलफल भए,' उनले भने, 'सरकार गठन हुनासाथ म दिल्ली पुगेर प्रयास गरेको थिएँ तर एक महिना हुँदा पनि आश्वासन पुरा नभएपछि दोहोर्याभएर भ्रमण गरेको हुँ।'

थापाले पछिल्लो भ्रमणपछि समस्या समाधान उन्मुख भए पनि परिणाम नआएसम्म ढुक्क हुने अवस्था नरहेको बताए। 'समस्या समाधान उन्मुख छ तर परिणाम नआएसम्म ढुक्क हुने अवस्था छैन,' थापाले भने, 'सचेत रहनैपर्छ। कूटनीतिक प्रयास पनि जारी राख्नुपर्छ।'

बैठकमा सांसदहरूले सरकारले समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न नसकेको, यतिका दिन हुँदासम्म विकल्प दिन नसकेको भन्दै आलोचना गरेका थिए। कांग्रेसका सांसद कृष्णबहादुर छन्त्यालले जनताको चुलो नबलेको महिनौं भए पनि सरकारले विकल्प दिन नसकेको बताए। एमाओवादी सांसद हितराज पाण्डेले सरकारले औषधि र इन्धनको समस्या कहिलेसम्म हल गर्ने भन्ने प्रश्न गरेका थिए।

एमाले नेतृ अष्टलक्ष्मी शाक्यले पनि सरकारले अहिलेसम्म कूटनीतिक प्रयास नगरेको धारणा राखे। 'तपाईंहरुको कूटनीतिक प्रयास पुगेको छैन,' उनले भने, 'आशा देखाउनुभयो तर ठ्याक्कै भन्नुस्, कहिलेसम्म समाधान हुन्छ?'

यसैबीच समितिले भारतका तर्फबाट भएको अघोषित नाकाबन्दी हटाई बन्द नाका खुलाउन नेपाल सरकारका तर्फबाट गरिएका पहल परिणाममुखि नदेखिएकाले नेपालको राष्ट्रिय हित र स्वाधीनतालाई केन्द्रमा राखेर सार्थक र परिणाममुखी कूटनीतिक पहल गर्न निर्देशन दिएको छ।

प्रकाशित: २० मंसिर २०७२ १९:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App