४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

सिपिसी अन्तर्राष्ट्रिय विभाग प्रमुख नेपाल आउँदै

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियान्चाओ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार नेपाल आउने भएका छन्। राजनीतिक भ्रमणको सिलसिलामा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। २०२२ मेमा चिनियाँ अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी सम्हालेका उनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरूसँग भेट गर्ने कार्यक्रम छ।

पार्टीको अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी सम्हालेपछि उनले नेपाली नेताहरू ओली, दाहाल र हालै परराष्ट्रमन्त्री नारायण खड्कासँग समेत भिडियो कन्फरेन्सका माध्यमबाट कुराकानी गरेका थिए। नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बाट बाहिरिने निर्णय गरेसँगै नेपालको निर्णयको स्वागत गरेको चीनले उच्च सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेट गर्नेगरी चिनियाँ वरिष्ठ राजनीतिज्ञ लिउलाई नेपाल पठाउन लागेको हो।

पछिल्लो सयम नेपालमा अमेरिकी प्रभाव बढेको भन्दै चिन्ता व्यक्त गरिरहेको चीनले नेपालमा आफ्नो उपस्थितिलाई पनि बढाउँदै लगेको छ। नेपालमा संघीय तथा प्रदेशसभाको निर्वाचनको मिति नजिकिँदै गर्दा हालको गठबन्धनको सट्टामा वाम गठबन्धनको कुरा गरिरहेका बेला चिनियाँ वरिष्ठ अधिकारीको नेपाल भ्रमण हुन लागेको हो।

नेपालमा नेकपाकालीन कम्युनिस्ट सरकार भएका बेला चीनले वाम शक्तिलाई एक बनाइराख्न आफ्नो सक्रियता बढाएको थियो। कम्युनिस्ट पार्टीलाई एक बनाउन नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले पार्टीका शीर्ष नेताहरूलाई पटकपटक भेटर पार्टी नफुटाउन दबाब दिएकी थिइन्। कूटनीतिज्ञका रूपमा उनको सक्रियता अस्वाभाविक भएको भन्दै कतिपयले उनको आलोचनासमेत गरेका थिए।

प्रकाशित: २४ असार २०७९ ०२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App