३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मल अभाव खेपीरहेका कृषकलाई प्रधानमन्त्रीको शुभकामनाः सहुलियत दरमा मलखादको व्यवस्था

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय धान दिवसको शुभकामना दिँदै सरकारले धान बालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी आयात प्रतिस्थापन गर्न सहुलियत दरमा गुणस्तरीय बीउ मलखादको व्यवस्था गर्दै आएको बताएका छन्।

देशभरका कृषकले पर्याप्त मात्रामा मलखाद नपाइरहेको अवस्थामा प्रधानमन्त्री देउवाले यस्तो शुभकामना दिएका हुन्। उनले सिंचाइ सुविधा विस्तार, धान बालीको अनुसन्धान र विकास, प्रविधि विस्तार, न्यूनतम मूल्यको कार्यान्वयन, बाली बीमा प्रवर्द्धन लगायतका विषयमा सरकारले काम गर्दै आएको बताए।

बुधबार शुभकामना विज्ञप्ति जारी गर्दै उनले व्यवसायीक कृषि कार्यक्रमहरुको कार्यान्वयन तथा जलवायु अनुकूलित, पोषणयुक्त धान, उच्च उत्पादन हुने जातहरुको विकास तथा उपयोग बढाउने रणनीति लिँदै आएको उल्लेख गरेका छन्। उनले यस वर्ष जैविक विविधता वर्ष मनाउने घोषणा समेत नेपाल सरकारबाट भइसकेको स्मरण गराए।

‘तराई, पहाड, र हिमालमा पाइने रैथाने प्रकृतिका धानको जातहरुको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन मार्फत् नेपालमा धान चामलको उत्पादनमा वृद्धि भइ धान चामलमा आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास लिएको छु’, देउवाले शुभकामना विज्ञप्ति मार्फत् भनेका छन्।

उनले धानको उत्पादन वृद्धि गरी देशमा दिगो खाद्य सुरक्षा कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखी विभिन्न नीति तथा योजनाहरु कार्यान्वयनमा ल्याएको जानकारी दिएका छन्।

प्रकाशित: १५ असार २०७९ ०६:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App