८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

मन्त्री हेरफेरमा कांग्रेस–माओवादी बाधक

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले चार मन्त्रीलाई सरकारबाट फिर्ता गर्न खोजे पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बाधक बनेका छन्।

अध्यक्ष माधवकुमार नेपालले सचिवालय बैठकमा कांग्रेस र माओवादीभित्र पनि सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्ने आवाज उठेपछि नेकपा एसको मन्त्री फेर्ने निर्णय कार्यान्वयनमा ती दुवै दल बाधक बनेको बताएका हुन्। मन्त्री हेरफेर गर्ने प्रस्तावलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अलपत्र पारेपछि नेकपा एस अध्यक्ष नेपाल पार्टीभित्रैबाट दबाबमा परेका छन्।  

नेकपा एसले पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको तीन साता पुग्न लागेको छ। प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालका कारण आफ्ना मन्त्री फिर्ता नभएको नेकपा एसको भनाइ छ। ‘केही दिन पर्खनुस् भन्नुभयो तर कांग्रेस र माओवादीको आन्तरिक समस्यालाई लिएर हाम्रो पार्टीको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्रीले आनाकानी गर्नुभएको छ,’ पार्टी सचिवालयको बुधबारको बैठकमा अध्यक्ष नेपाललाई उद्धृत गर्दै एक नेताले भने। स्थायी कमिटीको सोमबार बसेको बैठकमा पनि नेपालले यस्तै गुनासो गरेका थिए।  

सचिवालय बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेका पछिल्लो कामकारबाहीको विषयलाई लिएर पनि तत्कालै मन्त्री हेरफेर गर्नुपर्ने नेताहरूले बताए। यो विषय सोमबार बसेको स्थायी कमिटी बैठकमा पनि उठेको थियो। सचिवालय बैठकले मन्त्री हेरफेर तुरुन्त गर्न प्रधानमन्त्रीलाई दबाब दिने निर्णय गरेको छ। हामीले प्रधानमन्त्रीलाई पुनः निर्णय कार्यान्वयन गर्न आग्रह गरेका छौं,’ पार्टीका सम्मानित नेता झलनाथ खनालले भने।  

अध्यक्ष नेपालले आइतबार पनि सञ्चारकर्मीसँग कांग्रेस र माओवादीका कारण पार्टीले गरेको मन्त्री हेरफेरको निर्णय कार्यान्वयन हुन नसकेको बताएका थिए। कांग्रेस र माओवादीमा पनि मन्त्री हरेफर गर्नुपर्ने माग उठेको छ। ‘कांग्रेस र माओवादीभित्रको विवादमा हाम्रो पार्टीको निर्णयलाई अलपत्र पारियो,’ नेकपा एसका स्थायी कमिटीका एक सदस्यले भने।  

पार्टी स्थायी कमिटी र सचिवालय बैठकमा अध्यक्ष नेपालले आफूहरूलाई कांग्रेस र माओवादीले हेपेको बताएका थिए। ‘कांग्रेस र माओवादीको मिलेमतोमा हाम्रा साथीहरूलाई मन्त्रीबाट फिर्ता पठाइएको छैन, केही साथीले प्रधानमन्त्री र माओवादी अध्यक्षलाई पनि भेटेर यस विषयमा कुराकानी गरेको सुनेको छु, यसले राम्रो सन्देश गएको छैन,’ नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो।  

नेकपा एसले मन्त्रीहरू रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई मन्त्री बनाउने निर्णय गरेको थियो। स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई स्वास्थ्यमन्त्री बनाउने निर्णय नेकपा एसले गरेको थियो। ‘हाम्रो टिमलाई बदल्ने भनेर जुन निर्णय गरेका छौं। त्यो निर्णय अहिलेसम्म प्रधानमन्त्रीले किन कार्यान्वयन गर्नुभएन, तुरुन्त कार्यान्वयन गर्नुपर्‍यो भनेर निर्णय गरेका छौं,’ नेता खनालले भने, ‘अब तुरुन्तै कार्यान्वयन हुने आशा छ।’

मन्त्रिपरिषद् पुनर्गठनको विषयलाई लिएर अध्यक्ष नेपालले बुधबार दिउँसो माओवादी अध्यक्ष दाहालसँग पनि छलफल गरे। दाहालले पनि प्रधानमन्त्रीलाई दबाब दिने भनेपछि बुधबारै नेपालले प्रधानमन्त्री देउवालाई पनि भेटे। भेटमा देउवाले आफू मन्त्री परिवर्तन गर्न तयार रहेको तर केही प्राविधिक पक्ष मिलाउन बाँकी रहेको बताएका थिए।

त्यसअघि अध्यक्ष नेपालले उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए। ‘प्रधानमन्त्री देउवाले एक/दुई दिनमा नेकपा एसको निर्णय कार्यान्वयन गर्ने भन्नुभएको छ, सायद चाँडै नै मन्त्रीहरू फिर्ता हुनेछन्,’ स्राेतले भन्यो। नेकपा एसले मन्त्री फिर्ता गर्ने निर्णय गरेपछि सोही पार्टीबाट पर्यटनमन्त्री बनेका आलेले निर्णय कार्यान्वयन गरे प्रधानमन्त्री देउवासँग सरकार ढाल्ने चेतावनी दिएका थिए। आलेको सो धम्कीपछि रोकिएका प्रधानमन्त्री देउवाले आफ्नो पार्टीमा पनि समस्या रहेकाले केही दिन पर्खन नेपाललाई आग्रह गरेका थिए। नेकपा एसले मन्त्री फिर्ता बोलाएपछि कर्मचारीप्रति आक्रोशित बनेका आलेले कर्मचारीलाई दुर्व्यवहार गरेको अडियो सार्वजनिक भएको छ।

सो अडियो सार्वजनिक भएपछि पनि नेकपा एसले उनलाई कुनै पनि प्रकारको स्पष्टीकरण सोधेको छैन। ‘आलेको सो अडियो सार्वजनिक भएपछि पार्टीको मर्यादा पनि खस्किएको छ तर पनि अध्यक्ष मौन हुनुहुन्छ,’ एक नेताले भने, ‘यस विषयमा पोलिटब्युरो बैठक, केन्द्रीय कमिटी बैठक र राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा कुराकानी हुनेछ।’

प्रकाशित: ९ असार २०७९ ०१:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App