३ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

मल नदिए मलको ट्रक लुटिन सक्छ,गोदाममा आगो लाग्न सक्छ: सांसद कार्की

प्रदेश १ का सांसद विमल कार्कीले किसानलाई तत्काल मागेजति मल उपलब्ध गराउन नसके धादिङमा जस्तै प्रदेश १ मा पनि मलको ट्रक लुटिन सक्ने चेतावनी दिएका छन्। आइतबारको प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै सांसद कार्कीले यस्तो चेतावनी दिएका हुन्।  

किसानलाई तत्काल मागेजति मल नदिए किसानको आक्रोश थेग्न नसकिने भन्दै तत्कालै मलको व्यवस्था गर्न उनले  प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्। ‘वाली लगाउने सिजनमै मल नपाएर किसान मर्कामा परेका छन्’ उनले भने, ‘तत्काल मल नदिए प्रदेश १ मा पनि मलको ट्रक लुटिन सक्छ। मलको गोदाममा आगो लाग्न सक्छ।’ किसान आक्रोशित भएर सडकमा आउनू पहिलै माग अनुसारको मल उपलब्ध गराउन उनले प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद अम्विका थापाले उदयपुरमा मेडिकल कलेज स्थापना गर्ने प्रदेश सरकारको योजनाबारेमा जिज्ञासा राखेकी छिन्। 

उनले प्रदेश सरकारले उदयपुरमा  गत वर्ष नै मेडिकल कलेज खोल्ने घोषणा गरेपनि अझै सम्म मेडिकल कलेजको पूर्वाधार निर्माणको काम सुरू नभएको बताइन्। उनले मेडिकल कलेजका लागि  ६० विघा जग्गा व्यवस्था भइसकेको अनुगमन र नामजाँचसमेत गरिसकेको जानकारी दिइन्। तर, अझैसम्म भौतिक निर्माण सुरू नभएको र बजेटमा पनि उल्लेख नभएकाले उदयपुरमा मेडिकल कलेज स्थापना गर्ने योजनाबारे जानकारी दिन प्रदेश सरकारको ध्यानाकर्षण गराईन्। 

सांसद पूर्णप्रसाद राईले शंखुवासभाका विभिन्न स्थानमा पहिरोले क्षति पुर्‍याएको सडक, टेलिफोनको टावर बगाएर सडक  तथा सञ्चारबाट भोटखोला र मकालु गाउँपालिका सम्पर्क विहीन भएको बताए। उनले केहि बस्तीहरू बाढीको जोखिममा रहेकाले त्यस्ता वस्ती तत्काल सुरक्षित स्थानमा सारेर जनताको जीउ धनको सुरक्षा गर्न  प्रदेश सरकारलाई आग्रह गरे। सांसद होमकुमारी साँवाले ताप्लेजु्ङको खोवाङका बाढी पीडितलाई राहत र क्षतीपूर्ति दिन आग्रह गरिन्। 

प्रकाशित: ५ असार २०७९ १०:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App