२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

'सरकारले एमसीसी जबरजस्ती पास गरेपछि नेपालमा आर्थिक संकट बढ्यो'

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले एमसीसी सम्झाैंता संसदबाट पारित गरेकै कारण नेपालमा आर्थिक संकट बढेर गएको दावी गरेका छन्।

सांसद सुवालले सो सम्झौंता संसदबाट पारित गरेपछि नेपालमा महंगी समेत बढेको जिकीर गरे। आईतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शिर्षकमाथिको खर्च कटौति प्रस्ताव पेश गर्दै उनले अमेरिकी सरकारले देउवा सरकारलाई रुसको विरुद्धमा संयुक्त राष्ट्र संघमा मतदान गराएपछि नेपालमा पेट्रोलियम पदार्थ र एलपी ग्याँसको मूल्य बढेको तर्क गरे। 

सो विषयमा तटस्थ बसेको भारतले अहिले पनि अन्तराष्ट्रिय बजार मूल्यको एक तिहाई मूल्यमा पेट्रोलियम पदार्थ र एलपी ग्याँस पाएपनि नेपालले रुसको विरुद्धमा मतदान गरेकाले महंगोमा आयात गर्नु परेको उनको भनाई थियो। सांसद सुवालले प्रधानमन्त्री शेरबहादुर देउवाको कूटनीतिक असफलताको कारण नेपालले महंगोमा पेट्रोलियम पदार्थ तथा एलपी ग्याँस आयात गर्नु परेको भन्दै आक्रोश व्यक्त गरे। 

उनले भने, ‘पाँच दलीय गठबन्धन सरकारले एमसीसी सम्झौंता संसदबाट जब्बरजस्ती पारित गरेपछि नेपालको आर्थिक संकट बढ्यो। सर्वसाधारण जनता महंगीको मारमा परे। एमसीसी सम्झौता पास गरेकै कारण महंगी बढेको हो। यसको प्रमाण हामी दिन सक्छौं। अमेरिकी साम्राज्यवादले देउवा सरकारलाई संयुक्त राष्ट्र संघमा रुसको विपक्षमा मतदान गरायो। यसैकारण महंगी बढेको हो। मतदानमा तटस्थ बसेको भारतलाई रुसले अन्तराष्ट्रिय बजारमा बजार मूल्यको एक तिहाई मूल्यमा तेल, ग्याँस उपलब्ध गरायो। खै, नेपालको कूटनीति? तेल र ग्याँस भारतले जस्तै गरेर ल्याउन सरकार असफल भएको छ। नेपालमा तेल र ग्याँसको मूल्य आकाशियो। देउवा सरकारले रुसविरुद्ध मतदान नगरेको भए नेपाललाई पनि रुसले तेल र ग्याँस भारतलाई जस्तै अन्तराष्ट्रिय बजार मूल्यको एक तिहाई भन्दा कम मूल्यमा दिने थियो। यो कूटनीतिक असफलता हो प्रधानमन्त्री शेरबहादुर देउवाको।’

सांसद सुवालले देउवा नेतृत्वको गठबन्धन सरकार कूटनीतिक क्षेत्रमा पूर्णत असफल भएको पनि पटकपटक दोहोर्‍याए।  

प्रकाशित: २९ जेष्ठ २०७९ ०७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App