४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

फोहोर व्यवस्थापन वैज्ञानिक तरिकाबाट गर्नुपर्छः मन्त्री झाँक्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोरलाई वैज्ञानिक किसिमले व्यवस्थापन गर्ने बताएका छन्।

काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग गर्न मन्त्रालय पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलसँगको भेटमा उनले यस्तो बताएका हुन्। उनले काठमाडौंको फोहोर व्यवस्थापन अहिलेको ठूलो चुनौति रहेको भन्दै फोहोर व्यवस्थापनको लागि नयाँ टेक्नोलोजीको निर्माण गरेर अघि बढ्न आवश्यक रहेको बताए। मन्त्री झाँक्रीले बञ्चरे डाँडामा व्यवस्थित तरिकाबाट फोहोर व्यवस्थापन गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

त्यस्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मन्त्रालयले काठमाडौंको फोहोर व्यवस्थापनका लागि गरेको प्रतिवद्धता समयमै पूरा गर्न आग्रह गरे। 

भेटमा बञ्चरे डाँडा ल्याण्डफिल्ड साइटबाट सिकेको पाठबाट अघि बढेर फोहोर व्यवस्थापन गर्नका लागि योजनाका बारेमा कुराकानी भएको थियो। सरकारले स्थानीयका माग पूरा नगरेको र उचित तरिकाले व्यवस्थापन नगरेको भन्दै बञ्चरे डाँडावासीले फोहोर फाल्न दिएका छैनन्। जसकारण लामो समययता काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन। 

काठमाडौंका सडकमा जताततै फोहोरको थुप्रो देख्न सकिन्छ। यसअघि काठमडौंका नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गरेर मात्रै महानगरका अन्य काम गर्ने घोषणा गरिसकेका छन्। सिसडाेलवासीका समस्या बुझ्न उपमेयरसहितको टिम लिएर मेयर साह आज सिसडोल पुगेका छन्।

प्रकाशित: २० जेष्ठ २०७९ ०५:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App