सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ८७ पालिकाको नतिजा आइसकेको छ। बाजुराको बुढीगंगा नगरपालिकाको भने मतगणना हुन बाँकी छ। मतगणना सम्पन्न भएकामध्ये अहिलेसम्म पालिका प्रमुख तथा अध्यक्षमा सबैभन्दा बढी स्थानमा नेपाली कांग्रेसले जितेको छ। नेपाली कांग्रेसले ४० पालिकाको प्रमुख तथा अध्यक्षमा जितेर स्थानीय तहमा सुदूरपश्चिममै पहिलो पार्टी बनेको छ।
मत परिणाम आएका ८७ वटा स्थानीय तहमध्ये सुदूरपश्चिममा नेकपा एमालेले २५, नेकपा माओवादी केन्द्रले १४ पालिकाको प्रमुख तथा अध्यक्ष पदमा जित हात पारेको छ। यसैगरी गत पुसमा मात्रै निर्वाचन आयोगमा दर्ता भएको रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीका ४ स्थानीय तहमा प्रमुख र अध्यक्ष जितेको छ।
एकीकृत समाजवादीले भने मत परिणाम आएका सुदूरपश्चिमका ८७ वटा स्थानीय तहमध्ये एउटा नगरपालिका प्रमुख र एउटा गाउँपालिका अध्यक्षमा जितेको छ। सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीको प्रमुख र बैतडीको डिलाशैनी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारले जितेका छन्।
गठबन्धनले यसपटक सबैभन्दा बढी नेकपा माओवादी केन्द्रलाई फाइदा भएको छ। अघिल्लो निर्वाचनमा सुदूरपश्चिममा १० वटा पालिकामा जितेको माओवादीले यसपटक भने जित फराकिलो बनाएको छ। गत निर्वाचनमा ३९ पालिकामा प्रमुख र अध्यक्ष जितेको नेकपा एमाले भने यसपटक खुम्चिएको छ।
अघिल्लो निर्वाचनमा ३८ स्थानमा जितेको कांग्रेसले यसपटक २ स्थानीय तह थपेर ४० पुर्याएको छ। सुदूरपश्चिमको दार्चुलामा कांग्रेस, डडेल्धुरामा नेकपा एमाले, नेकपा माओवादी बाजुरामा र नेकपा (एकीकृत समाजवादी) डडेल्धुरा, बैतडी, डोटी, अछाम, बाजुरा, कञ्चनपुर र दार्चुला गरेर ७ जिल्लामा पालिकाको प्रमुख र अध्यक्षमा शून्य भएका छन्।
दार्चुला
नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूको गृह जिल्ला दार्चुलामा नेकपा एमाले र माओवादी केन्द्रले नेपाली कांग्रेसलाई ‘क्लिन स्वीप’ पारेको छ। ९ स्थानीय तह रहेको दार्चुलामा नेकपा एमालेले ५ र माओवादी केन्द्रले ४ पालिकाको प्रमुख तथा अध्यक्षमा जित हात पारेको छ, भने माआवोदीले केन्द्रले ४ पालिका अध्यक्षमा जितेको छ।
बैतडी
१० वटा स्थानीय तह रहेको बैतडीमा नेपाली कांग्रेस र नेकपा एमालेले ४/४ पालिकाको प्रमुख तथा अध्यक्षमा जित हात पारेका छन। भने माओवादी केन्द्रले १ पालिकाको प्रमुखमा जितेको छ। एक पालिका अध्यक्षमा स्वतन्त्र विजयी भएका छन्।
डडेल्धुरा
प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला रहेको डडेल्धुरामा ७ स्थानीय तह मध्ये ५ पालिका प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसले जितेको छ। गठबन्धन नगरी एक्लै चुनाव लडेको नेपाली कांग्रेसले अघिल्लो निर्वाचनभन्दा एक पालिका बढीमा प्रमुख जितेको छ। डडेल्धुरामा माओवादी केन्द्रले दुई पालिका अध्यक्ष जितेको हो।
बाजुरा
९ स्थानीय तह रहेको बाजुरामा नेपाली कांग्रेसले ३ र नेकपा एमालेले ५ पालिका प्रमुख तथा अध्यक्षमा जितेको छ भने १ नगरपालिकाको नतिजा आउन बाँकी छ।
बझाङ
१२ स्थानीय तह रहेको बझाङमा नेपाली कांग्रेसले ६ पालिका प्रमुख तथा अध्यक्षमा जितेको छ। नेकपा एमालेले ३ पालिका अध्यक्षमा जितेको छ। माओवादी केन्द्र २ पालिका अध्यक्षमा जितेको छ। नेकपा (एकीकृत समाजवादी) ले १ पालिका जितेको छ।
अछाम
१० स्थानीय तह रहेको अछाममा नेपाली कांग्रेसले ७ पालिकामा प्रमुख तथा अध्यक्ष जितेको छ। नेकपा एमालेले २ पालिका प्रमुख तथा अध्यक्ष र नेकपा माओवादी केन्द्रले १ पालिका अध्यक्षमा जितेको छ।
डोटी
९ स्थानीय तह रहेको डोटीमा नेपाली कांग्रेसले ७ पालिका प्रमुख तथा अध्यक्षमा जितेको छ भने नेकपा एमाले र माओवादी केन्द्रले १/१ पालिकाको अध्यक्षमा जितेको छ।
कैलाली
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी १३ स्थानीय तह रहेको कैलालीमा नेपाली कांग्रेसले ३, नेकपा एमालेले २, नेकपा माओवादी केन्द्रले २, नेकपा (एकीकृत समाजवादी) १, नागरिक उन्मुक्ति पार्टी ४ र एक स्वतन्त्रले प्रमुख तथा अध्यक्षमा जितेका छन्।
कञ्चनपुर
९ स्थानीय तह रहेको कञ्चनपुरमा नेपाली कांग्रेसले ५, नेकपा एमालेले ३ र नेकपा माओवादी केन्द्रले १ पालिका प्रमुख तथा अध्यक्ष पदमा जितेका छन्।
प्रकाशित: १२ जेष्ठ २०७९ ०४:५३ बिहीबार