१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

बाबुसंग हारेकी गण्डकीले छोरालाई जितिन्

जिल्लाको बडिगाड गाउँपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन्। पाँच दलीय गठबन्धनबाट प्रतिनिधित्व गर्दै अध्यक्षकी उम्मेदवार गण्डकी थापा अधिकारीले एमालेबाट उम्मेदवार बनेका राजन पाईजालाई पछि पार्दै गाउँपालिका अध्यक्ष जितेकी हुन्। 

उनले एक हजार पाँच सय ७२ मतान्तरले पाईजालाई पराजित गरेकी छिन्। थापाले ७ हजार तीन सय ८६ मत ल्याउँदा पाईजाले ५ हजार ८ सय १४ मत पाएका थिए। गत स्थानीय तहमा निर्वाचनमा अधिकारी राजनका बुबा मेहरसिंह पाईजासंग पराजित भएकी थिईन्। त्यतिबेला नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर निर्वाचनमा गएका थिए।  

नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चा भिन्दा भिन्दै चुनावी प्रतिस्पर्धामा थिए। गत निर्वाचनमा मेहरसिंह पाईजासंग ५ सय २२ मतान्तरले पराजित भएकी अधिकारीले यो पटक उनकै छोरालाई त्यसको तीन गुणा मतान्तरले पराजित गरेर हिसाब किताब चुक्ता गरेकी छिन्। विगतमा खेलकुदमा लागेका पाईजा आफ्नै बाबु गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सामाजिक राजनीतिक रुपमा सक्रिय भएका थिए। कोभिड संक्रमणका बेला उनले कमाएको लोकप्रियता देखेर नेकपा एमालेले गाउँपालिका अध्यक्षको टिकट दिए पनि पाँच दलीय गठबन्धनले उनको लोकप्रियतालाई माथ दियो। बडिगाड गाउँपालिका अध्यक्षमा निर्वाचित गण्डकी थापा अधिकारी नेपाली काँग्रेस बागलुङकी जिल्ला सचिव हुन्।  

स्थानीय निर्वाचन २०७४ मा स्थायी शिक्षकबाट राजिनामा दिएर उनी निर्वाचनमा होमिएकी उनलाई पराजय व्यहोर्नुपर्‍यो। भर्खर ८/१० वर्ष पुगेको स्थायी शिक्षकको जागिर छोडेर गाउँपालिका अध्यक्षमा उठेर पराजित भए पनि अहिले उनले त्यसको भर्पाई गरेकी छिन्। गाउँपापालिका उपाध्यक्षमा पनि गठबन्धनकै तर्फबाट राष्ट्रिय जनेमार्चाका भीमसेन वन विजयी भएका छन्। उनले नेकपा एमालेकी मिनकुमारी माझीलाई एक हजार चार सय ३१ मतले पछि पारे। वनले कुल ७ हजार दुई सय ३१ मत ल्याउँदा उनका प्रतिस्पर्धी माझीले ५८ सय मत पाईन्।

भीमसेन वन पनि गत स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट अध्यक्षका प्रत्यासी थिए। त्यो बेला उनले एक हजार २ सय ५८ मत पाएका थिए। अहिले गठबन्धनबाट उपाध्यक्षमा निर्वाचित भएका छन्। गत निर्वाचनमा बडिगाड गाउँपालिका अध्यक्षमा एमालेका मेहरसिंह पाईजा निर्वाचित हुँदा उपाध्यक्षमा नेपाली काँग्रेसका अमरबहादुर श्रीस  विजयी भएका थिए। त्यो बेला एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरे पनि एमालेको भोट माओवादी केन्द्रका नेता राजिव घिमिरेमा ट्रान्सफर नहुँदा उपाध्यक्षमा पराजित भएका थिए।  

बागलुङमा एक्ली महिला प्रमुख  

गण्डकी बागलुङको १० पालिकामध्ये एक्ली महिला प्रमुख हुन्। पाँच दलीय गठबन्धनबाट उनले बडिगाड गाउँपालिकामा टिकट पाएकी थिईन्। गण्डकी निर्वाचन जितेपछि बागलुङ जिल्ला महिला बिहीन प्रमुख हुनबाट जोगिएको छ। नेकपा एमालेले कुनै पनि पालिका प्रमुखमा महिला उम्मेदवार बनाएन। गठबन्धनका कारण बागलुङका १० स्थानीय तहको उपप्रमुखमा सबै पुरुष नै पुरुष भएका छन्। गठबन्धनले बडिगाड गाउँपालिका अध्यक्षममा गण्डकीलाई उम्मेदवार बनाउनु बाहेक अन्यत्र सबै ठाउँमा पुरुष नै पुरुष उम्मेदवार बनाएको छ।

स्थानीय निर्वाचन २०७९ मा बागलुङका पाँच दलीय गठबन्धन हाबी हुँदा बागलुङका पालिकाको नेतृत्व तहमा महिलाको संख्या न्यून भएको छ। जिल्लाको तमानखोला गाउँपालिकामा गठबन्धन भाँडिएका कारण उपाध्यक्षमा नेपाली काँग्रेसकी हिराकुमारी छन्त्याल विजयी भएकी छिन्। 

यहाँ काँग्रेस, एमाले, माओवादी केन्द्र एक्ला एक्लै निर्वाचनमा गएका थिए। जिल्लामा सहमती गर्दा गठबन्धनबाट तमानखोला गाउँपालिका काँग्रेस र उपाध्यक्ष नेकपा एकीकृत समाजवादी पार्टीलाई दिने सहमति भए पनि उम्मेदवारी दर्ताको समयमा भाँडिएको थियो। त्यसको फाईदा काँग्रेसलाई पुग्यो र अध्यक्ष उपाध्यक्ष दुबै पद जित्यो।  

पार्टी फेरेर टिकट, निर्वाचनमा विजयी  

बडिगाड गाउँपालिकाको वडा नम्बर ५ ग्वालीचौर पालिकामै सबैभन्दा बढि मतदाता भएको वडा हो। गत स्थानीय निर्वाचनमा यहाँ नेपाली काँग्रेसका अर्जुनप्रसाद खरेल विजयी भएका थिए। यस पटक भने नेकपा एमालेले बाजी मारेको छ। नेपाली काँग्रेस भित्रको टिकट वितरणको किचलोको मौका छोपेर एमालेले निर्वाचन जितेको हो। 

उम्मेदवारी दर्ताकै दिन काँग्रेस छाडेर एमाले प्रवेश गरेका विष्णु प्रसाद आचार्य एमालेबाट वडाध्यक्ष निर्वाचित भएका छन्। नेपाली काँग्रेसबाट वडाध्यक्ष उम्मेदवारको रुपमा हेरिएको उनी अन्तिम समयमा पार्टीले टिकट नदिएपछि उही दिन एमाले प्रवेश गरेर एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका थिए।

उनले पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका रमेशबहादुर घिमिरले पराजित गर्दै वडाध्यक्ष निर्वाचित भए। आचार्यले एक हजार १२ मत ल्याउँदा घिमिरेले ७९० मत मात्रै प्राप्त गरे। वडा सदस्यहरुमा भने सबै गबठन्धनका उम्मेदवार निर्वांचित भएका छन्। पार्टीबाट वडाध्यक्षको टिकट नपाएपछि एमाले प्रवेश गरेर उम्मेदवार विष्णुप्रसाद आचार्यलाई काँग्रेसकै माथिल्लो तहका नेताहरुको साथ रहेको चर्चा हुने गरेको थियो।  

बडिगाड गाउँपालिकाका १० वडामध्ये वडा नम्बर १ र ४ गरी दुई वटा राष्ट्रिय जनमोर्चा, वडा नम्बर २, ३ र ५ गरी तीन वटा नेकपा एमाले र वडा नम्बर ४ र १० गरी दुई वटा नेकपा माओवादी केन्द्र र वडा नम्बर ६, ७ र ९ गरी तीन वटा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

प्रकाशित: ५ जेष्ठ २०७९ ०६:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App