१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

पश्चिम चितवनको साथ पाए, रेणु फेरि बन्नेछिन् मेयर

भरतपुर महानगरपालिकाको मतगणना जारी छ। यहाँको अन्तिम नतिजाप्रति आम मतदाताको चासो बढ्दो छ। मेयर पदमा नेकपा माओवादी केन्द्रका अध्यक्ष (प्रचण्ड) पुत्री रेणु दाहाल दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा छिन्। उनी सत्तारुढ गठबन्धनकी उम्मेदवार पनि हुन्।  

मेयरमा आफ्नो पार्टीले पुनः उनलाई उम्मेदवार बनाउन समर्थन गरेपछि कांग्रेसको एउटा पक्ष माथिदेखि तलसम्मै असन्तुष्ट छ। यही पक्षको नेतृत्व गरेर स्थानिय नेता जगन्नाथ पौडेल मेयरमै स्वतन्त्र उम्मेदवार छन्। एकातिर प्रतिपक्ष नेकपा एमालेका विजय सुवेदी छन्। यी सबै पक्ष केलाउँदा भरतपुरले दिने सन्देशप्रति आम मतदाताको चासो बढ्नु स्वभाविक पनि हो।  

मंगलबार दिउँसो ४ बजेसम्म १५ दशमलव ५० प्रतिशत मतगणना भइसकेको छ। यहाँ रेणु दाहाल र विजय सुवेदीबीच झिनो मत अन्तरमा कडा प्रतिस्पर्धा भइरहेको छ। भरतपुर वडा नम्बर १, २, ३ र ४ नम्बर वडाको मतगणना भैसक्दा पनि कस्ले जित्छ? भन्न सक्ने अवस्था छैन। दाहाल र सुवेदी अघिपछि हुने क्रम जारी नै छ।  

१९ हजार ७ सय ८८ मतगणना हुँदा रेणु दाहाल २ सय २६ मतले अगाडी छिन्। उनले ६ हजार ६ सय ७८ मत ल्याउँदा सुवेदीले ६ हजार ४ सय ५२ मत ल्याएका छन्। अहिले वडा नम्बर ५ को मतगणना जारी छ। यस वडामा आउँदा दाहालले मतान्तर बढाउँदै लगेकी छन्। यद्यपि अघिल्लो निर्वाचनमा यी वडाहरुमा दाहाल देवी ज्ञवालीभन्दा पछि थिइन्। यो मत परिणामले दाहाललाई राहत भएको हुनुपर्छ। किनकी यसअघि बजार क्षेत्रमा दाहाललाई निकै कम मत आएको थियो।

अहिले वडा नम्बर १ बाट १ हजार २ सय ८, २ बाट १ हजार ७ सय १०, ३ बाट ९ सय ८५, ४ मा १ हजार ८ सय २४ मत ल्याएकी छन्। यसैगरी सुवेदीले वडा नम्बर १ मा १ हजार ८७, २ मा १ हजार ८ सय २८, ३ मा १ हजार २७ र ४ मा नम्बर वडामा १ हजार ७ सय ४५ मत ल्याएका छन्।

यही अवस्थामा मतपरिणाम आएको खण्डमा दाहाल ६, ७, ८ र ९ नम्बर वडासम्म पनि अगाडी आउने अनुमान गर्न सकिन्छ। यद्यपि अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेले ७ र ९ नम्बर वडा जितेको थियो। तर, त्यहाँका वडाध्यक्ष नेकपा (एकीकृत समाजवादी)मा गएका छन्। त्यसकारण पनि एमालेको मत केही काटिन सक्छ।

तर, स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलको प्रभाव क्षेत्र ६ र ७ नम्बर वडा रहेको कांग्रेसका नेताहरु नै बताउँछन्। ६ नम्बर वडा कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाको वडा हो। ७ नम्बर वडा स्वतन्त्र उम्मेदवारी दिएका पौडेलकै वडा हो। अहिले पनि पौडेलले १७ प्रतिशतको हाराहारीमा मत ल्याईरहेका छन्। उनले ३ हजार ८१ मत ल्याईसकेका छन्।

अन्य वडामा पनि यही स्तरमा मत ल्याउँदै जाने हो भने दाहाललाई चुनौती थपिन सक्छ। पौडेलले मत नकाटेको अवस्थामा ९ नम्बर वडासम्म सुवेदीलाई लिड गर्ने अनुमान छ। त्यसपछि १०, ११ र १२ नम्बर एमालेको राम्रो प्रभाव रहेको वडा हो। सबैभन्दा बढी मतदाता रहेका यी वडामा यसअघि एमालेले राम्रै मत ल्याएको थियो।

तर, अहिले १० र १२ नम्बर वडाध्यक्ष माधवकुमार नेपाल तिर लागेका छन् जसले एमालेको मत घट्ने देखिन्छ। १३ नम्बर यसअघि पनि माओवादीले नै जितेको वडा हो। यहाँ दाहाललाई अहिलेपनि राम्रै भोट आउने देखिन्छ। त्यसपछि १४, १५, १६, १७, १८, १९, २०,२१, २३, २४, २७  वडामा कांग्रेसको बढी मत छ।

यसैगरी २५ र २६ वडा यसअघि माओवादीले जितेको थियो। एमालेले २२, २८ र २९ वडा जितेको थियो। पश्चिम चितवनमा राप्रपाको पनि राम्रै मत छ। तर, भरतपुर वडा नम्बर ४ को मतपरिणाम हेर्दा विजय सुवेदीलाई राप्रपाको मत गएको देखिदैैन। यसरी हेर्दा जगन्नाथ पौडेलले मेयर पदमा कांग्रेसको मत धेरै काटे भने दाहाललाई जित्न असहज हुन सक्छ। यद्यपि जगन्नाथ पौडेलले कांग्रेसको मत काटेमा एमालेलाई फाइदा नै पुग्ने देखिन्छ।

यसअघि पनि चितवनमा नेपाली कांग्रेस र माओवादीबीच गठबन्धन थियो। अहिले पाँच दलिय गठबन्धन छ। यद्यपि यसअघि रेणु दाहाललाई बजार क्षेत्रबाट एकदमै कम मत खसेको थियो। तर, अहिले उनलाई सन्तोषजनक नै मत खसेको देखिन्छ। विगतमा जस्तो पश्चिम चितवनले साथ दिएमा रेणु दोस्रो पटक महानगर प्रमुख बन्नेछिन्।

भरतपुरमा माओवादीलाई प्रमुख पद सहित ५ वटा वडा र नेपाली कांग्रेसलाई उपप्रमुख सहित २० वटा वडा भागमा परेको छ। त्यसमध्ये ३ वटा वडा नेपाली कांग्रेसले जितिसकेको छ। एकीकृत समाजवादीले ४ वटा वडा पाएको छ। माओवादी र एकीकृत समाजवादीले पाएको वडा गन्न नै बाँकी छन्। माओवादीको भागमा ११, १३, २५ र २६ वडा परेको थियो। एकीकृत समाजवादीले ७, ९, १२, २३ नम्बर वडा पाएको छ।

प्रकाशित: ३ जेष्ठ २०७९ १०:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App