४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नागढुंगा नौबिसे सुरुङमार्गः मुख्य सुरुङ करिव आधा खनियो

बाहिरी जिल्लालाई राजधानी काठमाडौंसँग जोडने एक मात्र नागढुंगा नौबिसे सुरुङ मार्ग अन्तर्गत मुख्य सुरुङको करिव आधा भाग खनिएको छ।

नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार मुख्य सुरुङको कुल लम्बाई २६ सय ८८ मिटरमध्ये अहिलेसम्म १२ सय ४ मिटर सुरुङ खन्ने काम सकिएको छ। मुख्य सुरुङको काठमाडौंतर्फ ६ सय १ मिटर र धादिङतर्फबाट ६ सय ३ मिटर सुरुङ खनिएको हो। आयोजनाले आर्थिक वर्ष २०७७÷७८ को पुस पहिलो सातादेखि सुरुङ खन्न थालेको थियो ।

अघिल्ला महिनाहरूको तुलनामा पछिल्ला तीन महिनामा भने सुरुङ खन्ने गतिमा केही कमी आएको छ। स्थानीयवासीको अवरोधका कारणले सुरुङ खन्ने गतिमा कमी आएको हो। अप्रिलमा नागढुंगा–नौबिसे सुरुङमार्गको मुख्य सुरुङ ८७ मिटर मात्रै छिचोलिएको छ।

आयोजनाका अनुसार विगतमा प्रत्येक महिना तीन सय मिटर सुरुङ खन्ने गरिन्थ्यो। गत फेब्रुअरीमा १ सय १० मिटर र मार्चमा १ सय २२ मिटर मात्र खनिएको छ। यस्तै अप्रिलमा मुख्य सुरुङ सबैभन्दा कम अर्थात् ८७ मिटर मात्रै खनिएको हो। गत अप्रिल ४ तारिखसम्म मुख्य सुरुङ ११ सय १७ मिटर मात्रै खनिएको थियो।

नागढुंगा सुरुङमार्ग आयोजनाका निर्देशक नरेशमान शाक्यले अहिलेसम्म सुरुङमार्गको मुख्य सुरुङतर्फ १२ सय ४ मिटर खनिएको बताए। ‘अहिलेसम्म सुरुङमार्गतर्फको मात्रै हेर्ने हो भने आधा सुरुङ खन्ने काम सकिएको छ’, उनले भने– ‘गत महिनामा स्थानीयको अवरोध र नरम खालको चट्टानका कारणले सुरुङ खन्ने काम केही सुस्त भएको हो।’

इभाक्युएसन एक महिनामा ३४ मिटर  

मुख्य सुरुङ बाहेक इभाक्युएसन टनेलतर्फ एक महिनामा जम्मा ३४ मिटर मात्रै सुरुङ खनिएको छ। यो अवधिमा इभाक्युएसन टनेलतर्फ कमजोर चट्टान र स्थानीयवासीको अवरोधका कारणले झण्डै एक साता सुरुङमार्गको काम अवरुद्ध भएको थियो। यही कारण काममा सुस्तता आएको हो। गत महिनासम्म इभाक्युएसन टनेलतर्फ १३ सय ८५ मिटर मात्रै खनिएको थियो। हालसम्म इभाक्युएसन टनेलतर्फ १४ सय १९ मिटर खनिसकिएको छ। काठमाडौंतर्फको इभाक्युएसन ८ सय २८ मिटर र धादिङतर्फ पाँच सय ९१ मिटर खनिएको छ। गत महिना १९ मिटर मात्रै खनिएको थियो।

आयोजनाका अनुसार मुख्य सुरुङमार्ग, इभाक्युएसन टनेल, वर्किङ अडिट र क्रस–प्यासेजतर्फको भौतिक प्रगति भने ५०.९० प्रतिशत भएको छ। एक महिनाअघि यी संरचनाको प्रगति ४८.७ प्रतिशत मात्रै भएको थियो।

आयोजनाका अनुसार अहिलेसम्म समष्टिगत वित्तीय प्रगति मोविलाइजेसन रकमसहित ४५.५० प्रतिशत खर्च भएको छ। आयोजनाको समष्टिगत भौतिक प्रगति भने ३५.५ प्रतिशत भएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ६ गते सुरुङमार्ग औपचारिक रूपमा शिलान्यास गरे पनि आयोजनाको सुरुङ खन्ने काम झण्डै १४ महिनापछि अर्थात् पुस ८ गतेदेखि मात्रै सुरु भएको थियो। सम्झौता अनुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै निर्माण सम्पन्न हुनुपर्ने थियो। कोभिड १९ को कारणले यो आयोजना सम्पन्न गर्ने म्याद जम्मा ८६ दिन मात्रै थप गर्ने निर्णय भएको छ। अर्थात् आयोजना आगामी २६ जुलाई २०२३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यो आयोजना निर्माण गर्ने ठेक्का जापानी कम्पनी हाज्मा आन्दो कर्पाेरेसनले पाएको छ। सुरुङमार्ग निर्माण गर्न जापान सरकारले ०।०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण दिने सम्झौता भइसकेको छ। यो आयोजना निर्माणमा जापानी सहयोग नियोग जाइकाले साढे १६ अर्ब ऋण र नेपाल सरकारको करिब ६ अर्ब गरी कुल साढे २२ अर्ब रूपैयाँ लाग्नेछ ।

प्रकाशित: ३० वैशाख २०७९ ०६:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App