४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

संविधान र लोकतन्त्रको रक्षा गर्दै प्रतिगमन रोक्न गठबन्धन: उपसभापति खड्का

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा संयुक्त गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पाँच दलिय गठबन्धन लहड, रहर र कसैलाई चुनाव हराउन वा जिताउनका लागि नभएको बताएका छन्। उपसभापति खड्काले संविधान र लोकतन्त्रको रक्षा गर्दै प्रतिगमन रोकेर शान्ति प्रक्रियाका बाँकी रहेका कामहरु पूरा गर्नका लागि पाँच दलिय गठबन्धन बनेको बताए।

‘यो गठबन्धन कुनै लहड, रहर र ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा कसैलाई जिताउन वा कसैलाई हराउनका लागि होइन्,’ सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजकसमेत रहेका खड्काले भने, ‘संविधानको रक्षा गर्न र लोकतन्त्रको रक्षा गर्न, प्रतिगमन रोकेर शान्ति प्रक्रियाका बाँकी रहेका कामहरु पूरा गर्न, संविधान संशोधनमार्फत असन्तुष्ट पक्षलाई समेट्नका लागि गठबन्धन गरिएको हो।’

उपसभापति खड्काले चुनावको परिणामले गठबन्धन तलमाथि नहुने पनि बताए। ‘स्थानीय तहको निर्वाचनमार्फत जनताको मत लिएर त्यसैको जगमा प्रदेश र संघको निर्वाचनमार्फत बहुमत ल्याएर संविधान संशोधन गर्नका लागि गठबन्धन गरिएको हो,’ कांग्रेस उपसभापति खड्काले भने, ‘कुनै एक चुनावी परिणामले गठबन्धन तलमाथि हुँदैन्।’

उपसभापति खड्काले कांग्रेस नेतृत्वमा संविधान जारी गर्दा गरेको बाचा अनुसार संविधान संशोधनको प्रक्रियामा जाँदा नेकपा एमालेले रोकेको बताउँदै सबै समुदाय, क्षेत्र, वर्ग र लिंगको अधिकारलाई संविधानमा समेट्ने पवित्र उद्देश्य गठबन्धनको रहेको बताए। ‘कांग्रेस नेतृत्वमा संविधान जारी गर्दा हामीले संविधानमा आदीबासी, मधेसी, मुस्लिम, दलित, जनजाति, महिला, पिछडिएको क्षेत्रका अधिकारलाई संविधानमा समेट्ने बाचा गरेका थियौं,’ उपसभापति खड्काले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई संशोधनमार्फत पूर्णता दिदै देशको उन्नति, प्रगति, राष्ट्रियताको रक्षा, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउने पवित्र उद्देश्य अनुरुप गठबन्धनको निर्माण भएको हो।’

उपसभापति खड्काले स्थानीय तहमा गठबन्धनका उम्मेदवारले गरेका विकासका संकल्प पूरा गर्न केन्द्रबाट चाहिने आवश्यक बजेटको कमि हुन नदिने बताए। खड्काले गठबन्धनका उम्मेदवारलाई विश्वासका साथ जिताउन पनि आग्रह गरे। ‘अहिले यहाँ गठबन्धनका उम्मेदवारहरुले गरेको संकल्प पूरा गर्नका लागि स्थानीय तहमा भएको बजेटका अलावा केन्द्रबाट आवश्यक पर्ने बजेट पठाउने ग्यारेन्टी म गर्छु,’ उपसभापति खड्काले भने। निर्वाचनको नजिक पार्टी भित्रका असहमति र गुनासो भए आन्तरिक बसाईबाट टुंग्याउन आग्रह गर्दै खड्काले नेता र नेतृत्वबाट भएका कमजोरीलाई निर्वाचन पछि सच्याइने बताए।

प्रकाशित: २६ वैशाख २०७९ ०८:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App