२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भक्तपुरमा गठबन्धन, एमाले र नेमकिपा मुख्य प्रतिस्पर्धी

भक्तपुर, मध्यपुरथिमि, चाँंगुनारायण र सूर्यविनायक यी चार वटा नगरपालिकाहरुमा ३८ वटा वडाहरु छन्। भक्तपुर र सूर्यविनायकमा १० दस वटा वडाहरु छन् भने मध्यपुरथिमि र चाँंगुनारायणमा नौ-नौ वटा वडाहरु रहेका छन्।

पछिल्लो स्थानीय निकायको निर्वाचनमा यीमध्ये भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले क्लिन स्विप (मेयर, उपमेयर, वडाअध्यक्षदेखि वडासदस्यसम्म सवै जितेको) गरेको थियो। नेमकिपाले यहाँं चार दशक बढी समयदेखि एकछत्र जित हासिल गर्दै आएको छ।

यस बाहेकका बाँंकी तीन वटा नगरपालिकाहरुमा भने नेपाली कांग्रेस, एमाले, नेमकिपाको मिश्रित परिणाम आएको थियो। पछिल्लो स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेस मध्यपुरथिमि नगरपालिकामा पहिलो भएको थियो। उक्त निर्वाचनमा कांग्रेस चाँगुनारायण र सूर्यविनायकमा कडा प्रतिस्पर्धाका बीच दोस्रो दलमा सिमीत भएको थियो।

एमाले चाँगुनारायण र सूर्यविनायकमा पहिलो, मध्यपुरथिमीमा दोस्रो र भक्तपुर नगरमा तेस्रो भएको थियो। एकीकृत माओवादी चार वटै नगरमा चौथो दलको रुपमा सिमित रहेको थियो। यसअघि निर्वाचनमा चाँंगुनारायण नगरपालिकामा एमालेबाट सोमप्रसाद मिश्रले ८ हजार पाँंच सय १२ र उपमेयरमा विना बास्तोलाले ८ हजार सात सय ७९ मत ल्याएर विजयी भएका थिए।

त्यस नगरपालिकामा कांग्रेसबाट मेयरमा उम्मेदवारी दिएका राजाराम खड्काले ६ हजार आठ सय ६९ मत र उपमेयरकी उम्मेदवार राधा कार्कीले ७ हजार चार सय ७६ मत ल्याएका थिए। यस्तै नेमकिपाबाट मेयरमा नहुछेभक्त फोजुले ४ हजार चार सय ४२ मत र उपमेयरमा गीता काफ्लेले ४ हजार २२ मत ल्याएर तेस्रो भएका थिए।

यता मध्यपुरथिमिमा एमाले र नेमकिपाले गठबन्धन गरेका थिए। गठबन्धनबाट एमालेका मदनसुन्दर श्रेष्ठ १३ हजार ६ सय ७८ मत ल्याएर मेयरमा निर्वाचित भएका थिए। यस्तै उपमेयरमा नेमकिपाबाट केदार खड्का ७ हजार सात सय ६२ मत ल्याएर पराजित भएका थिए।

कांग्रेसबाट मेयरमा अष्ट कवे १० हजार ८ सय ४६ मत ल्याएर पराजित भए। उनी दोस्रो मात्रै हुन सफल भए। कांग्रेसबाट उपमेयरमा अञ्जनादेवी मधिकर्मी भने १० हजार ६ सय ७८ मत ल्याएर विजयी भएकी भइन्। सूर्यविनायकमा भने एमालेबाट मेयरका उम्मेदवार भएका बासुदेव थापा १२ हजार एक सय ३५ मत र उपमेयरमा जुना बस्नेत १२ हजार आठ सय ३२ मत ल्याएर विजयी भएका थिए।

कांग्रेसबाट मेयरमा विष्णुराज कार्की १० हजार एक सय ६५ मत र उपमेयर कल्पना राजथला ८ हजार नौ सय सात मत ल्याएर दोस्रो भएका थिए। यस्तै नेमकिपाबाट मेयरका उम्मेदवार मनशोभा सुवालले दुई हजार दुई सय ८० मत, उपमेयरमा महेन्द्र बखुन्छेले दुई हजार ६ सय सात मत ल्याएका थिए।

गएको निर्वाचनमालाई आधार मान्ने हो भने भक्तपुर नगरपालिकामा नेमकिपाले विजयी पाउनेमा कुनै शंका रहेन। यता चाँंगुनारायण, मध्यपुरथिमि र सूर्यविनायकमा भने नेपाली कांग्रेसहितको पाँंच दलीय गठबन्धन र एमालेवीच अत्यन्त कडा प्रतिस्पर्धा हुने देखिएको छ। यी तीन वटै नगरपालिकामा एक दुई हजार मत अन्तरले विजयी भएको एमालेलाई टक्कर दिन कांग्रेससँंगको नेकपा एसको गठबन्धनले अप्ठेरो पार्ने देखिन्छ।

नेकपा एसले एक दुई हजार मात्रै मत कटाएर कांग्रेसको पोल्टामा गएपछि एमालेलाई आफनो पहिलाको जित कायम राख्न हम्मेहम्मे हुने देखिन्छ। जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाए अनुसार यस पटकको निर्वाचनमा जिल्लामा ३४ दलहरुबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: २२ वैशाख २०७९ १३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App