९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

निर्वाचनमा पुरानाकै दाबीः कोरोना कहरले विकास गर्न नसकेको बहाना

स्थानीय तहका जनप्रतिनिधिको पहिलो कार्यकाल सकिएर देश अर्को चरणको निर्वाचनमा होमिएको छ।

जनप्रतिनिधिहरूलाई विभिन्न बहाना देखाउँदै काम गर्न नसकेको/नपाएको तथा कर्मचारी अभाव र कोरोना कहर बहाना बनेको छ। चुनाव जितेपछि कहिल्यै आत्ममूल्यांकन नगरेका जनप्रतिनिधि सडक र भौतिक पूर्वाधारलाई देखाएर आफूहरूले विकासमा छलाङ मारेको दाबी गरिरहेका छन्।

पहिलो पल्ट निर्वाचन जितेका रोल्पा जिल्लाका पालिका प्रमुखहरूले फेरि पनि आफ्नो उम्मेदवारीको दाबी सुरु गरेका छन्। माओवादी केन्द्रबाट निर्वाचन जितेका रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसी आफ्नो दाबी रहेको बताउँछन्। ‘अपुरा काम सकाउनु छ। सुरुमा अलमलमै बित्यो। गर्ने भन्ने बेला कोरोनाले असहज बनायो,’ उनी भन्छन्, ‘सबै क्षेत्रमा जग बसालेका छौं, अब घर बनाएर देखाउन बाँकी छ, त्यसैले पनि मेरो दाबी हो।’

माओवादी केन्द्रबाट निर्वाचन जितेका माडी गाउँपालिकाका प्रमुख नन्दबहादुर पुन फेरि पनि दोहोरिने अपेक्षामा छन्। ‘केही काम छुटेका छन्, केही गरेका छौं। अब एक कार्यकाल भयो भने ती सबै पूरा गर्छौं। कोरोना कहर र कर्मचारी अभावले भने जस्तो काम गर्न सकिएन,’ उनी भन्छन्, ‘डोकामा तिर लाएका छौं अब बिट मार्न बाँकी छ।’

कांग्रेसबाट निर्वाचन जितेका लुङ्ग्री गाउँपालिकाका प्रमुख दुर्गाबहादुर खड्का फेरि पनि जनप्रतिनिधि बन्ने चाहना रहेको बताउँछन्। ‘एकपटक मेरो दोहोरिने चाहना छ। पहिलो कार्यकालमा भने जस्तो काम गर्न सकिएन। कोभिडले काम गर्न दिएन। पहिलो वर्ष कर्मचारी पनि भएनन्,’ खड्का भन्छन्, ‘जनतामा गरेको प्रतिबद्धता अनुसार काम गर्न समयले साथ दिएन। त्यसैले अधुरा काम पूरा गरेर निस्कने सोच छ। सन्तुष्ट हुने गरी काम गर्ने अवसर भएन।’

माओवादी केन्द्रबाट निर्वाचन जितेका सुनछहरी गाउँपालिकाका प्रमुख आशबहादुर पुन पनि फेरि जनप्रतिनिधि बन्ने मनसायमा छन्। ‘नेपालको संविधानले दुई कार्यकाल जनप्रतिनिधि बन्न छुट दिएको छ, त्यसैले मेरो फेरि दाबी हो,’ पुन भन्छन्, ‘विकास र पूर्वाधारको आधार निर्माण गरिसकेकाले त्यसलाई पूरा गर्नुपर्ने छ। मूल कुरो संविधानले दुई पटकसम्म जनप्रतिनिधि हुन पाउने भनेको छ।’

एमालेबाट निर्वाचन जितेका रुन्टीगढी गाउँपालिकाका प्रमुख बालाराम बुढा पनि फेरि जनप्रतिनिधि बन्ने आसमा छन्। ‘पार्टीले आवश्यक ठानेमा फेरि चुनाव लड्ने हो। पहिलो चरणमा हामीले धेरै कामको सुरुवात गरेका छौं। सम्पन्न गर्नुपर्ने धेरै छ। अनुभव बटुलेका छौं। नयाँलाई सुरुबाट जानुपर्छ हामीले निरन्तर कामलाई अघि बढाउन सक्छौं, त्यसैले एक पटक हामीलाई अवसर दिए राम्रो हुन्छ।’

माओवादी केन्द्रबाट निर्वाचन जितेका थवाङ गाउँपालिकाका प्रमुख वीरबहादुर घर्ती पनि दोहोरिने दाउमा छन्। ‘मनसाय स्वाभाविक रूपले हुने भयो। दाबी गरेको छु। पहिलो कार्यकाल अपुरो भो। ऐन नियमको अभावले काम गर्न गाह्रो भो। कोरोनाले समस्या पार्‍यो।

कर्मचारी पनि पर्याप्त भएनन्। स्पिडमा जाने बेलामा अवधि सकियो। प्रतिबद्धताअनुसार काम भएका छैनन् वा अपुरा छन्। ती सकाउन र क्षमता प्रदर्शन गर्न फेरि आउनुपर्छ।’ उनलाई पार्टीको केन्द्रले गरेको निर्णयले समस्या पार्छ कि भन्ने डर छ।

माओवादी केन्द्रबाट निर्वाचन जितेका परिवर्तन गाउँपालिका प्रमुख निमकान्त डागी पनि फेरि जनप्रतिनिधि बन्न आफ्नो दाबी रहेको बताउँछन्। ‘संविधानले पनि दुई कार्यकाल दोहोरिन पाउने भनेको छ। अर्को कुरा परिणाम निकाल्नलाई पनि १० वर्ष चाहिन्छ। समाज विज्ञानले पनि त्यही भन्छ,’ उनी पनि पहिलो कार्यकाल गतिलोसँग काम गर्न नपाउनुमा कर्मचारी अभाव र कोरोना कहर  रहेको बताउँछन्।

एमालेबाट निर्वाचन जितेका त्रिवेणी गाउँपालिका प्रमुख शान्तकुमार वलीको पनि दोहोरिने मनसाय छन्। ‘चुनाव लड्ने व्यक्तिगत चाहनाले भएन। पार्टी, जनता र कार्यकर्ताको हातमा छ,’ उनले भने। त्रिवेणी गाउँपालिकालाई थप समृद्ध बनाउन र अपुरा कामलाई पूर्णता दिनका लागि आफ्नो दाबी रहेको उनी बताउँछन्।

माओवादी केन्द्रबाट निर्वाचन जितेका सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्ती पनि दाबी रहेको बताउँछन्। ‘एक डेढ वर्ष अन्योलतामै वा सिक्नमै बित्यो। त्यसपछि कोरोनाले थला पार्‍यो। सुरुवात गरेका योजना सम्पन्न गर्न बाँकी छन्,’ घर्ती भन्छन्, ‘अहिले हाम्रो पालिका रोल्पा मै उत्कृष्ट भयो, अब नेपालमै उत्कृष्ट पालिका बनाउन चाहन्छौं।’ उनका अनुसार पार्टीभित्र आकांक्षीहरू धेरै भएकाले अन्तरविरोध हल गर्नका लागि पनि निर्वाचनमा जानुपर्नेछ। ‘संविधानले पनि व्यवस्था गरेको छ।

पहिले गरेका प्रतिबद्धता पूरा गर्न चाहन्छु। सामाजिक क्षेत्रका काम सुरु भएका छन्, सक्नुपर्नेछ,’ उनले थपे। माओवादी केन्द्रबाट निर्वाचन जितेका गंगादेव गाउँपालिकाका प्रमुख वीरबहादुर खत्रीले पनि आफ्नो दाबी रहेको बताए। ‘पार्टीको नीतिअनुसार जाने हो। जनतामा बेस भएको ल्याउनुपर्ने भयो भने पुराना पनि आउन सक्छन्,’ उनी भन्छन्, ‘सुरुमा कोरोना सकस र सिकाइमा बित्यो। हामीले केही अनुभव बटुल्यौं, अब नयाँ आए उनीहरूलाई सिक्नुपर्छ, पुरानालाई बिचबाटै सुरु हुन्छ। पाचँ वर्षमा जग बसाएका छौं त्यसलाई पूरा गर्नु छ। दाबी गरे पनि पार्टीले जे भन्छ त्यही हुन्छ।’

पत्रकार महासंघ रोल्पाका पूर्वअध्यक्ष महेश न्यौपाने समग्रमा जनप्रतिनिधि दोहोरिन नहुने बताउँछन्। ‘एकाध राम्रो काम गर्ने जनप्रतिनिधिबाहेक अन्य दोहोरिँदा जनतामाथि घात हुन्छ,’ उनले भने। उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विश्व कुमार चन्द कोही पनि एक अवधिभन्दा अर्को अवधि पदमा जान नहुने बताउँछन्। उनले भने, ‘अरूलाई पनि अवसर दिनुपर्छ, त्यसैले पदावधि थप्ने काम गर्नुहुँदैन।’

पुराना जनप्रतिनिधिले फेरि पनि निर्वाचनमा दाबी गर्न थालेपछि आकांक्षीहरू रुष्ट बनेका छन्। ‘सधैं एउटैलाई अवसर दिने हो भने हामीले गरेको राजनीति केका लागि? अवसर सबैलाई दिनुपर्छ,’ माओवादी एक कार्यकर्ता भन्छन्, ‘पुरानालाई दोहोर्‍याउने हो भने हामीले राजनीति छोडे भैगो नि।’ कांग्रेस र एमाले कार्यकर्ता पनि अवसर दोहोर्‍याउन नहुने बताउँछन्।

प्रकाशित: २२ चैत्र २०७८ ०७:२८ मंगलबार

माओवादी केन्द्र