६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

दस भ्रातृ संगठनका नेतृत्व तोक्दै कांग्रेस

नेपाली कांग्रेसले पार्टीका प्रमुख भ्रातृ संगठनको केन्द्रीय समिति गठनको गृहकार्यअघि बढाएको छ। शुक्रबार बस्ने पार्टी केन्द्रीय समितिको बैठक अघि नै दश भ्रातृ संगठनका नेतृत्व तोक्ने तयारी गरेको हो। 

विधान अनुसार कार्यकाल गुजारेका र केन्द्रीय अध्यक्षहरू पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भएपछि नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघ अहिले नेतृत्वविहीन छन्।

ती संगठनको केन्द्रीय नेतृत्व नै नहुँदा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका साथै पार्टी सञ्चालन गरेको एक महिने अभियान पनि प्रभावित भएको भन्दै कांग्रेस पदाधिकारीहरू दश भ्रातृ संगठनको अध्यक्ष तोक्ने तयारीमा जुटेका छन्।

अधिकांश भ्रातृ संगठनको केन्द्रीय नेतृत्व सभापति शेरबहादुर देउवानिकटले नै पाउनेगरी तयारी भइरहेको जानकारी दिंदै निकट एक नेताले भने,‘नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका अध्यक्षमा डुजाङ शेर्पा र विद्वान् गुरुङलाई बनाउने निश्चित जस्तै भएको छ। अन्य संगठनको पनि टुंगो लाग्ने क्रममा छ ।’

संघको महाधिवेशन गराउन असफल भएका संघका अध्यक्ष राजीव ढुंगाना, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत पार्टीको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका छन्। नेपाल मुस्लिम संघका अध्यक्ष अब्दुल सतार पनि केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्मा र नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीलाई पनि सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।

पार्टीको माथिल्लो निकायको उम्मेदवार भएपछि तल्लो तहको पदस्वत खारेज हुने कांग्रेस विधानमा व्यवस्था छ। त्यसरी रिक्त भएका भ्रातृ संगठनका केन्द्रीय नेतृत्वसहित कार्यकाल गुजारका भ्रातृ संगठन केन्द्रीय समिति भंग गर्दै कांग्रेस कार्यसम्पादन समितिले फागुनभित्र समितिहरू गठन गरिसक्ने जनाएको थियो। तर, कांग्रेसले अझै ती भ्रातृ संगठनको नेतृत्व तोक्न सकेको छैन।

प्रकाशित: ९ चैत्र २०७८ ००:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App