२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ओलीलाई लक्षित गर्दै माधव नेपालले भनेः आफैंले जन्माएको सन्तान रावण भइदियो

गोरखा सदरमुकाममा आयोजित नेकपा एसको जिल्ला स्तरीय प्रशिक्षमा बोल्दै अध्यक्ष माधवकुमार नेपाल। तस्बिरः नागरिक

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रावणको संज्ञा दिएका छन्। नेकपा एस गोरखाले शनिबार सदरमुकाममा आयोजना गरेको जिल्ला स्तरीय भेला तथा प्रशिक्षणमा बोल्दै उनले भने, ‘एमाले भत्काउने काममा मात्र लागेको विध्वंसकारी पार्टी भयो।’

सन्तती रावण भै दियो भनेर त्यसको दोष बाबु आमालाई दिन नहुने बताउँदै उनले केपी ओलीलाई लक्षित गर्दै भने, ‘आफैंले जन्माएको सन्तान रावण भैदियो।’ नेकपा एमाले आफूले जन्माएको बताउँदै उनले अहिले भत्काउने काममा मात्र लागेको एमालेलाई नेकपा एसले राम्रो काम गरेर देखाउनुपर्ने बताए।  

अबको चुनाव अग्नी परीक्षा रहेको बताउँदै उनले गोरखाका नेता कार्यकर्तालाई चुनाव केन्द्रित हुन, जनताको घरदैलोमा पुग्न र पार्टीको ऐजेण्डाबारे जानकारी गराउन निर्देशन गरे। नेकपा एसले बाग्मती प्रदेशमा र राष्ट्रिय सभामा एमालेलाई पराजित गरेर आफूले जितको सुरुवात गरिसकेको उनले बताए।

प्रशिक्षणमा पटक–पटक केपी ओली प्रति खनिएका उनले नेकपाको एकता ओलीको षड्यन्त्रले भंग भएको आरोप लगाए। ‘ओलीले प्रचण्डको काँधमा टेकेर आफूलाई अग्लो देखाउन खोजे,’ नेता नेपालले भने। ओलीको एमाले प्राली जस्तो भएको बताउँदै उनले ओली सुध्रिन्छन् कि भनेर धेरै समय पर्खिएको तर नसुध्रिएको बताए।  

ओलीको दरबार र विदेशीसँगको संगतले क्रान्तिकारी धार भुत्ते हुँदै गएको आरोप नेकपा एसका अध्यक्ष नेपालले लगाए। ‘एमाले अब एमाले रहेन, बि माले, सि माले भयो,’ उनले भने, ‘पटक–पटक भनेको छु सूर्यमा ग्रहण लागिसक्यो, काम नगर्ने, गफ मात्रै गर्ने गफाडी त्यहाँ छन्।’

गाली गलौज बाहेक ओलीले केही नगर्ने बताउँदै उनले एउटा नेताको मुखबाट निस्कन नहुने कुरा ओलीको मुखबाट पटक–पटक निस्कने गरेको बताए।  

कार्यकर्तालाई उनले गाउँगाउँमा चुनाव प्रचारमा लाग्न र संगठन निर्माणमा केन्द्रित हुन सुझाव समेत दिए। एकीकृत समाजवादीमा एमाले छाडेर आउनेको संख्या दिनदिनै बढेको दावी गर्दै उनले देशभर यो लहर चलिरहेको बताए।  

शुक्रबार गोरखाको बारपाक, लाप्राक पुगेर कार्यकर्ता भेटघाट गरेका नेता नेपाल शनिबार कार्यकर्ता प्रशिक्षणमा सहभागी भएर फर्केका हुन्। लाप्राक पुगेका उनले गैरआवासीय नेपाली संघ एनआरएनएले निर्माण गरेको एकीकृत बस्तीमा सडक, खानेपानी, बिजुली लगायत पूर्वाधारका लागि सहयोग गर्ने आश्वासन समेत दिएका छन्।

प्रकाशित: ५ चैत्र २०७८ ०९:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App