२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस एकमहिने अभियानले फाटेको मन जोड्ला?

नेपाली कांग्रेसको १४औं महाधिवेशनका क्रममा नेतृत्वका लागि भएको प्रतिस्पर्धाले गाउँ तहसम्म गुटगत विभाजन देखियो। पार्टी नेतृत्वमा टिक्ने र पुग्ने होडबाजीमा वडा तहका नेता तथा कार्यकर्तासम्म विभाजित भएका थिए।

कतिपय स्थानमा त अस्वस्थ्य गतिविधि पनि भए। आफू नेतृत्वमा टिक्नुपर्ने र पुग्नुपर्ने दाउपेचमा नेताहरूले तलबाटै आ–आफ्नो समूह/गुटमा नेता कार्यकर्तालाई डोर्‍याए। तर १४औं महाधिवेशनसम्म आइपुग्दा कांग्रेसका पुराना गुटहरू भने भत्किए।

शेरबहादुर देउवा सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि संस्थापन इतर समूह सानो समूहमा समेटिन पुग्दा केन्द्रमा गुटगत रडाको अहिले केही सुस्ताएको छ। संस्थापन इतर समूहबाट सभापतिमा शेखर कोइराला र प्रकाशमान सिंह प्रतिस्पर्धामा उत्रिए तर संस्थापन इतर समूहका नेता रामचन्द्र पौडेल र तत्कालीन महामन्त्री शशांक कोइराला शेखर र प्रकाशमान कसैको पनि पक्षमा खुलेनन्।

त्यससँगै संस्थापन इतरका समूह अहिले करिबकरिब छिन्नभिन्न अवस्थामा छ। तर अधिवेशनका क्रममा वडादेखि नै दुई समूहमा विभाजित नेता तथा कार्यकर्तामा अहिले पनि सौहार्दता आएको छैन। यसको असर वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मात्र होइन, एक वर्षभित्रमा हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा पर्न नदिन कांग्रेसले आइतबारदेखि एकमहिने अभियान सुरु गर्न लागेको छ। 

चुनावकेन्द्रित यो अभियानको एक उद्देश्य महाधिवेशनका क्रममा विभाजित कार्यकर्ताको मन जोड्नु पनि हो। ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ नारासहित आइतबारदेखि ७७ वटै जिल्लामा सुरु हुने कांग्रेसको एकमहिने अभियान महाधिवेशनका क्रममा फाटेको नेता तथा कार्यकर्ताको मन जोड्न पनि सहयोग पुग्ने बुझाइ सहमहामन्त्री बद्री पाण्डेको छ।

महाधिवेशनका क्रममा भएको नेतृत्व प्रतिस्पर्धाले नेता तथा कार्यकर्ताको मन फाटेको स्वीकार्दै सहमहामन्त्री पाण्डेले अभियान पार्टीमा एकता र हार्दिकता कायम गर्न तथा जनतालाई कांग्रेसमा आकर्षित गर्न सफल हुने विश्वास व्यक्त गरे। महाधिवेशनपछि कांग्रेस केही न केही अभियान वा कार्यक्रम लिएर जनतामाझ जाने तर त्यो प्रभावकारी नभएको विगतले देखाएको छ।

यसपटक आइतबार सुरु हुने एकमहिने अभियान पनि त्यस्तै हुने त होइन भन्ने आशंका व्यक्त हुँदै आएका बेला सहमहामन्त्री पाण्डेले भने, ‘विगतका अनुभवलाई पनि ध्यानमा राखेर हामीले अभियानको कार्यक्रम र रणनीति बनाएका छौं।’

विगतमा अभियान र कार्यक्रम बनाएर जिल्ला प्रतिनिधि खटाए पनि सकेसम्म विभिन्न बहाना बनाएर तोकिएको ठाउँमा नजाने र गए पनि कार्यक्रममा सहभागी नहुने प्रवृत्ति थियो। तर यसपटक केन्द्रीय प्रतिनिधिलाई जिल्लामा पुगेर गर्नुपर्ने काम तोकिएको छ र गरेको कामको प्रतिवेदन पनि दिन भनिएको छ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार अभियानको उद्घाटनका लागि पार्टीले खटाएका केन्द्रीय प्रतिनिधि सबैजसो जिल्लामा पुगिसकेका छन्। कांग्रेसलाई चुनावमा विजयी गराउन वडा र टोल तहसम्म पुगेर कार्यकर्ताबीच सौहार्दता कायम गरी संगठन अभिवृद्धि गर्ने जिम्मेवारी केन्द्रीय प्रतिनिधिलाई दिइएको उनले बताए।

‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीति कांग्रेसले लिएको जनाउँदै महतले अभियानका क्रममा स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउन मतदातालाई अपिल गरिने बताए। पार्टी विधानको व्यवस्थाअनुसार जिम्मेवारी बाँडफाँट गर्दै अभियानले बृहत्तर रूपमा पार्टीका नेता तथा कार्यकर्ता परिचालन गर्नेे दाबी गरे।

‘पार्टीले खटाएका केन्द्रीय प्रतिनिधिले तत्कालीन नेकपा नेतृत्वको सरकारले गरेका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष व्यापक रूपमा राख्नुहुनेछ,’ महतले भने, ‘आफ्नो कुरा भन्नेमात्र होइन, जनताको कांग्रेसप्रतिको अपेक्षा के छ त्यो सुनेर सोहीअनुसारका नीति तथा कार्यक्रम पनि बनाउनेछौं।’

अभियान सञ्चालनअघि नै कांग्रेसले जिल्लादेखि क्षेत्रीय समितिका बैठकहरू सम्पन्न गरेको छ। टोल समिति गठनलाई पनि उसले तीव्रता दिएको छ तर पार्टीका मेरुदण्ड भ्रातृ संगठनहरू भने नेतृत्वविहीन छन्।

प्रकाशित: २९ फाल्गुन २०७८ ००:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App