५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

गठबन्धन चुनावसम्मै कायम रहन्छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलबीच गठबन्धन गरेरै चुनावमा जाने बताएका छन्। अहिलेकै अवस्थामा चुनावमा गए कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने अवस्था रहेकोले गठबन्धन गरेरै चुनावमा प्रतिस्पर्धा गर्नेबारेमा छलफल भइरहेको उनले बताए।

वीरगन्जमा बिहीबार आयोजित कांग्रेस पर्साका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण कार्यक्रममा प्रधानमन्त्री देउवाले भने, ‘संविधान र लोकतन्त्रको रक्षा गर्न बनेको योे गठबन्धनको सहकार्य टुट्दैन।’  प्रधानमन्त्री देउवाले एक्लै चुनाव  लड्दा कुनै पनि दलको बहुमत आउने अवस्था नदेखिएकाले आगामी तीनै तहको निर्वाचनमा कांग्रेसले गठबन्धनमा रहेका दलहरूसँग मिलेर चुनाव लड्ने बताए।

उनले भने, ‘अहिले एक्लै चुनाव लड्दा कुनै पनि दलले बहुमत ल्याउन सक्ने अवस्था देखिन्न, त्यसैले चुनावमा गठबन्धनका दलसँग मिलेर कांग्रेसले चुनाव लड्नुपर्छ, लड्छ।’ सत्ता गठबन्धनले पास गरेको एमसिसी परियोजना मुलुकको हितमा रहेको प्रष्ट्याउँदै उनले भने, ‘यसले देशको विकासमा सहयोग पुग्नुका साथै रोजगारी पनि सिर्जना गर्नेछ।’ देउवाले एमसिसी परियोजना मुलुकको हितमा रहेको जिकिर गरे। एमसिसी परियोजना, ऋणमा नभई अनुदानमा आएको परियोजना रहेको प्रष्ट पार्दै प्रधानमन्त्री देउवाले यसले देशमा रोजगार सिर्जना गर्न महत्वपूर्ण सहयोग पुग्ने धारणा राखे।

‘नेपाल दुई ठूला छिमेकी देशको बीचमा रहेको भन्दै उनले दुवै छिमेकीसँग नेपालले समदुरी र सन्तुलित सम्बन्ध राखेर नेपालको विकास गर्न यो सरकार प्रतिबद्ध छ,’ उनले भने।

प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री भएपछि देशको अवस्थामा बदलाव आएको उल्लेख गरे। ‘म प्रधानमन्त्री हुँदाको अवस्था र अहिलेको अवस्थामा धेरै फरक छ। वास्तवमा मैले त प्रधानमन्त्री हुन नै चाहेकै थिइँन। मलाई गठबन्धनका सबै साथीहरूले सहयोग गरेर प्रधानमन्त्री भएको हुँ,’ देउवाले भने, ‘अहिले परिस्थिति बदलिएको छ। डर त्रास हटेको छ। लेख्ने बोल्ने स्वतन्त्रता प्राप्त भएको छ।’

प्रधानमन्त्री देउवाले गठबन्धन सरकारले जनताका अधिकारहरूलाई ग्यारेण्टी गर्ने बाटोमा मुलुकलाई अघि बढाएको बताए। ‘विशेषगरी हाम्रो पार्टीको उद्देश्य भनेकै नेपालमा प्रजातन्त्र र लोकतन्त्रलाई स्थायी गराउने हो। सबै जनताको अधिकारलाई ग्यारेण्टी गर्ने हाम्रो उद्देश्य हो। यो उद्देश्यमा गठबन्धनका सबै साथीहरूले स्वीकार गरेर म प्रधामनन्त्री भएको हुँ,’ उनले भने, ‘यो गठबन्धन सरकारकै उपलब्धि हो।’

कार्यक्रममा पर्साको पोखरीया नगरपालिकाका मेयर दीपनारायण रौनियार कांग्रेसमा प्रवेश गरेका छन्। रौनियारलाई कांग्रेस सभापति समेत रहेको प्रधानमन्त्री देउवाले पार्टी सदस्यता प्रदान गर्दै कांग्रेसमा प्रवेश गराएका थिए।

प्रकाशित: २७ फाल्गुन २०७८ ००:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App