४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपा एसको आरोपः एमाले दक्षिणपन्थी धारमा रुपान्तरण

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) दक्षिणपन्थी धारमा रुपान्तरित भएको आरोप लगाएका छन्।

पार्टी केन्द्रीय कमिटीको बुधबार सुरु भएको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले एमालेमाथि यस्तो आरोप लगाएका हुन्। नेपाललगायत नेताले एमालेबाट अलग भएर नेकपा एस गठन गरेका हुन्।

‘हामीले तत्कालीन नेकपा (एमाले) मा उत्पन्न दक्षिणपन्थी अवसरवाद एवं विसर्जनवाद, व्यक्तिवादी, अहंकारवाद, निरंकुश एवं स्वेच्छाचारी प्रवृत्ति र चरम गुटबन्दीका विरुद्ध विद्रोह गरेर आजभन्दा करिब साढे ६ महिना पहिले २०७८ भदौ २ गते नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गठन गरी पार्टी पुनर्गठन अभियान सुरु गरेका थियौं’, अध्यक्ष नेपालले तेस्रो केन्द्रीय कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा लेखिएको छ।  नेकपा एसले २०७८ भदौ ९ गते निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र पाएको थियो।

राजनीतिक प्रतिवेदनमा संगठन विस्तार अभियान सञ्चालन योजना तर्जुमा गरी अगाडि बढ्ने भनिएको छ। प्रतिवेदनमा मुलुक यति बेला राजनीतिक रूपले मूलतः दुई धारमा विभाजित भएको उल्लेख छ। ‘मुलुकमा अहिले एउटा व्यक्तिवादी, स्वेच्छाचारी, अलोकतान्त्रिक र असहिष्णु प्रवृत्ति बोकेको दक्षिणपन्थी अवसरवादी धार र अर्को संविधानको पूर्ण कार्यान्वयन गर्दै त्यसले निर्देश गरेअनुरूप मुलुकलाई समाजवादको दिशामा अगाडि बढाउन चाहने वाम–लोकतान्त्रिक धार छ।

अघिल्लो प्रवृत्तिको मूलवाहक केपी ओली हुन् भने वाम–लोकतान्त्रिक धारका अगुवा गठबन्धनमा रहेका पाँच राजनीतिक दल हुन्’, प्रतिवेदनमा नेपालले लेखेका छन्। अध्यक्ष नेपालले वर्तमान वाम–लोकतान्त्रिक गठबन्धनमा रहेका राजनीतिक दलहरूको वर्गाधार र वर्ग चरित्र फरकफरक भए पनि संविधानको पूर्ण कार्यान्वयन, लोकतन्त्रको रक्षा र मुलुकमा राजनीतिक स्थिरता कायम गर्न सहमत भएर सहकार्य गरिरहेको प्रस्ट्याएका छन्।

राजनीतिक प्रतिवेदनमा यो गठबन्धन र सहकार्यलाई आगामी स्थानीय तहको निर्वाचनसम्म मात्र होइन, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म पनि कायम राख्नुपर्नेमा जोड दिइएको छ।  

‘संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दलहरूले संविधानको पूर्ण कार्यान्वयनमा पनि सहकार्य गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ।  हामी अहिले संघीय तथा प्रदेश सरकारमार्फत जागरण अभियानहरूमा सामेल छौं र त्यहाँबाट देश र जनताको सेवा गर्ने प्रयास गरिरहेका छौं’, प्रतिवेदनमा लेखिएको छ।

अध्यक्ष नेपालले एमालेभित्र दक्षिणपन्थी अवसरवादी चिन्तनद्वारा निर्देशित षड्यन्त्रकारी यात्रा जारी नै रहेको औंल्याएका छन्। २०७७ साल फागुन २३ मा सर्वोच्च अदालतले तत्कालीन नेकपा भंग गरेपछि पूर्ववत् अवस्थामा फर्किएको एमालेमा अध्यक्ष ओलीको षड्यन्त्रकारी यात्रा झनै अगाडि बढेको नेपालको ठहर छ। 

एमाले र माओवादी मिलेर बनेको नेकपा भंग भएपछि ती दुवै साबिक अवस्थामा फर्किएका थिए।  ‘२०७७ फागुन २८ मा आफ्नो गुटको बैठक राखेर ओलीले नेकपा (एमाले) मा विभाजन ल्याउन निर्णय गरे, पुनःस्थापित प्रतिनिधिसभाले आफूलाई विश्वासको मत नदिएपछि उनले फेरि चरम अलोकतान्त्रिक एवं प्रतिगामी कदम चाल्दै २०७८ जेठ ७ मा दोस्रोपटक प्रतिनिधिसभा विघटन गरे’, अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदनमा लेखेका छन्।

गठबन्धन निर्वाचनसम्म  

अध्यक्ष नेपालले स्थानीय तहको चुनावमा नेकपा एससहित माओवादी, कांग्रेस र मधेसवादी दल जसपा मिलेर जाने सहमति भैसकेको बताएका छन्।  यी सबै दल मिलेर मात्रै एमालेलाई हराउने सकिने भएकाले गठबन्धन कायम गरी चुनावमा जाने सहमति भएको उनले खुलाए।  उनको राजनीतिक प्रतिवेदनमा पनि यो कुरा उल्लेख छ।

उनले पार्टी पंक्तिलाई चुनावमा केन्द्रित हुन निर्देश गरेका छन्।  ‘हाम्रो पार्टीको सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रित गर्नुपर्छ, वैशाख ३० गते हुने निर्वाचनको तयारीमा लाग्नुपर्छ, निर्वाचनका निम्ति नै संगठन परिचालन र योजना बनाउनुपर्ने आवश्यकता छ’, नेपालले भनेका छन्, ‘निर्वाचन तयारी यति बेलाको हाम्रो मुख्य काम हो।  निर्वाचन तयारीका सन्दर्भमा गर्नुपर्ने प्रमुख काम हुन्– निर्वाचन घोषणापत्र लेखन, निर्वाचन निर्देशिका निर्माण, उम्मेदवारको मापदण्ड निर्धारण र छनोट प्रक्रिया निर्धारण, निर्वाचन परिचालन तथा सहयोग समितिको गठन।  यी सबै काम सम्पन्न गर्न पार्टी पंक्ति केन्द्रित भएर लाग्नुपर्दछ।’

एमसिसीको विपक्षमा नउभिन आग्रह 

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले संसद्बाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसिसी अमेरिकी विकास परियोजना भएको उल्लेख गर्दै त्यसमा टिप्पणी नगर्न आग्रह गरेका छन्।  उनले सामाजिक सञ्जालमा गरिएका नकारात्मक टिप्पणीलाई पनि हटाउन र पार्टीको निर्णय मान्न पार्टी पंक्तिका सबैलाई आग्रह गरेका छन्। ‘नेपालमा यो परियोजना ल्याउने पहल सन् २०११ बाट सुरु भएको थियो र २०१७ सेप्टेम्बर १४ मा सम्झौतामा हस्ताक्षर गरिएको थियो।

सुरुमा सम्झौता गर्दा यसलाई संसद्बाट अनुमोदन गर्नुपर्ने प्रावधान राखिएको थिएन’, अध्यक्ष नेपालले राजनीति प्रतिवेदनमा लेखेका छन्, ‘केपी ओली नेतृत्वको तत्कालीन सरकारका अर्थमन्त्री युवराज खतिवडाले २९ सेप्टेम्बर २०१९ मा कार्यक्रम कार्यान्वयन सम्झौता गर्दा यसलाई संसद्बाट अनुमोदन गराउने प्रावधान थपेका थिए। ’नेपालले तत्कालीन ओली नेतृत्वको सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सन् २०१८ को डिसेम्बरमा अमेरिका गएका बेला संयुक्त राज्य अमेरिकाको हिन्द प्रशान्त रणनीतिको सदस्य बनेको भनी उक्त रणनीतिको प्रतिवेदनमा उल्लेख गरिएपछि एमसिसी विवादित बनेको जनाएका छन्।

नेपालले विभिन्न सर्त राखेर एमाले अध्यक्ष ओली एमसिसी जस्ताको तस्तै पास गर्न तयार भएपछि सत्ता गठबन्धन जोगाउन र व्याख्यात्मक टिप्पणीसहित संशोधन गरेर एमसिसी पारित गर्न नेकपा एस सहमत भएको बताएका छन्। ‘पाँच दलीय गठबन्धनमा संलग्न दलहरू वैकल्पिक निकासको खोजीमा लागे, त्यसक्रममा एमसिसी कम्प्याक्टको सम्झौतासँगै त्यसको व्याख्यात्मक घोषणा गरेर जान सकिने धारणा विकसित भयो।  त्यस धारणामा हामी पनि आधारभूत रूपमा सहमत भयौं। त्यसकारण तपाईहरू असहमत हुने ठाउँ छैन, विरोध गर्नुको अर्थ छैन,’ अध्यक्ष नेपालले बैठकमा भने। 

राजनीतिमा कालो बादल 

राष्ट्रिय राजनीति अझै पनि तरल अवस्थामा रहेको जनाउँदै अध्यक्ष नेपालले मुलुक संविधानले निर्देश गरेको दिशामा स्थिर ढंगले अगाडि बढ्न नसकेको औंल्याएका छन्। ‘नेपाली राजनीतिको आकाशमा अस्थिरताका काला बादल अझै पनि मडारिरहेका छन्।

प्रतिगमनकारी षड्यन्त्रका तानावाना अझै पनि बुनिँदैछन्’, नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा छ, ‘जनप्रतिनिधिले जनताका आवाज मुखरित गर्नुपर्ने थलो संसद् अलोकतान्त्रिक एवं प्रतिगमनकारी चिन्तन र व्यवहारको सिकार बनिरहेको छ।  चुनाव हुन्छ कि हुँदैन? पाँचदलीय गठबन्धन टुट्छ कि टुट्दैन? भन्ने जस्ता प्रश्न उठ्ने गरेका छन्।’

नेपालको विश्लेषणअनुसार मुलुकको राजनीतिक क्षेत्र एक प्रकारको अनिश्चयात्मक परिस्थितिबाट गुज्रिरहेको छ। मुलुकको आर्थिक अवस्था खस्किँदै गएको र सबैजसो आर्थिक सूचकांक निराशाजनक रहेको उनको विश्लेषण छ। ‘सबैभन्दा बढी अस्तव्यस्त भएको न्याय क्षेत्र अझै पनि सुधारको पर्खाइमा नै छ। समाजमा विद्यमान वर्गीय, जातीय, धार्मिक, सांस्कृतिक आदि प्रकृतिका असमानता, विभेद, अन्धविश्वास र रुढीवादी संस्कार एवं संस्कृतिजस्ता विकृति र विसंगतिको अन्त्यका लागि गर्नुपर्ने सामाजिक रुपान्तरणका काम केही पनि भएका छैनन्’, नेपालले भनेका छन्।

प्रकाशित: २६ फाल्गुन २०७८ ००:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App