५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

‘सहमतिमै पारित हुन्छ’

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमसिसी सम्झौता गठबन्धन दलको सहमतिमै पारित हुने दाबी गरेका छन्। प्रतिनिधिसभामा एमसिसी टेबुल भएको भोलिपल्ट सोमबार राजधानीमा पत्रकारसँग महतले सत्ता गठबन्धनका साथै प्रमुख प्रतिपक्षी एमालेसमेतको सहयोगमा प्रस्ताव पारित गर्न आफ्नो दल लागि परेको बताएका हुन्।

‘प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी संसद्बाट अनुमोदन गराउन सबैसँग सल्लाह गरिरहनुभएको छ,’ महतले भने, ‘ओलीजी (केपी ओली) ले एमसिसी ससद्मा दर्ता गर्नुभएको थियो। उहाँको पालामा टुंगोमा पुर्‍याउन सक्नुभएन। अहिले हामीले संसद्मा पुर्‍याएका छौं। सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ।’

एमसिसी सम्झौता अब संसद्को विषय भएको भन्दै महतले संसदीय प्रक्रियाअनुसार नै प्रस्ताव पारित हुने दाबी गरे। अब प्रक्रिया नरोकिने दाबी गर्दै महतले नेपाल सरकारको मागअनुसार नै अमेरिकाले नेपालको आर्थिक विकासका लागि अनुदान सहयोग दिएको बताए।  

एमसिसी स्वीकार गर्दा अमेरिकी सेना आउँछ भन्नेजस्ता नियोजित प्रचार गरिएको दाबी गर्दै महतले भने, ‘मुलुकको आर्थिक विकास गर्ने र रोजगारी खडा गर्ने कुरा कसरी राष्ट्रघाती र राष्ट्रविरोधी हुन्छ?’

नेपालको इतिहासमा एमसिसीका विषयमा जस्तो झुटो र नियोजित प्रचार कहिल्यै नभएको टिप्पणी गर्दै महतले भने, ‘झुट कुरा पनि धरै पटक भन्यो भने सत्य हुँदोरहेछ। साँचो पनि झुटो हुँदोरहेछ।’

नेपाल सरकारकै माग र निवेदनअनुसार परियोजना आएको बताउँदै कांग्रेस प्रवक्ता महतले भने, ‘कार्यक्रमहरू हामीले निर्धारण गरेका हौं। २०१२ देखि २०१७ सम्म सबै दल र नेताको प्रयासमा यसको टुंगो लागेको हो।’

मुलुकको आर्थिक विकासमा सहयोग पुग्नेगरी अन्य मित्रराष्ट्रले पनि एमसिसीजस्ता परियोजना दिए नेपालले स्वीकार गर्नुपर्ने उनको भनाइ थियो। चीनसँग बिआरआई सम्झौताका लागि आफूले पनि पहल गरेको महतले बताए। अमेरिकाले एमसिसी पारित गर्न दबाब दिएको भन्ने कुरा सत्य नभएको महतले दाबी गरे। ‘हामीले निवेदन दिएर मागेको अनुदान सहयोग पाँच वर्षभित्र कार्यान्वयन गरिसक्ने भनिएको थियो। तर अहिलेसम्म प्रक्रियामा पनि नगएकाले तिमीहरू के गर्छौ, छिटो निर्णय गर भन्नु अस्वाभाविक होइन,’ महतले भने, ‘अरू कसैलाई दबाब परेको छ भने थाहा छैन।’

गठबन्धन टुट्छ कि, एमसिसी पारित हुँदैन कि भन्ने अहिले कांग्रेसले नसोचेको भन्दै महतले थपे, ‘एमसिसी अहिले विपक्षी दलका रूपमा रहेको एमालेले नै संसद्मा दर्ता गरेकाले अहिले सहयोग गर्न आग्रह गरेका छौं। अहिले सबै मिलेर पास गरौं। पछि आफ्ना मुद्दा पनि अघि बढाउँला।’

प्रकाशित: १० फाल्गुन २०७८ ००:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App