५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रियसभाः गण्डकीबाट आले, पन्त र सुनार विजयी

गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित सुरेश आले मगर, कमला पन्त र भुवनबहादुर सुनार। तस्बिरः नागरिक

राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका तीनैजना उम्मेद्वारहरु विजयी भएका छन्। राष्ट्रिय सभा सदस्यको तीन सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दुई र नेपाली कांग्रेसका एक गरी तीनै जना उम्मेद्वारहरु विजयी भएका हुन्।  

गण्डकीबाट राष्ट्रिय सभा सदस्यमा नेकपा माओवादी केन्द्रका सुरेश आलेमगर, भुवनबहादुर सुनार र नेपाली कांग्रेसका कमला पन्त बिजयी भएको प्रदेश निर्वाचन कार्यालय गण्डकी प्रदेशले जनाएको छ।

राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशमा खुल्ला, महिला र दलिततर्फ एक–एक सिटका लागि निर्वाचन भएको थियो। जसमा खुल्लातर्फ नेकपा माओवादी केन्द्रका सुरेश आलेमगर बिजयी भएका छन। उनले प्रतिस्पर्धी नेकपा एमालेका पूण्यप्रसाद पौडेललाई ४०२ मतान्तरले पराजित गरे। विजयी आलेमगरले ३ हजार ९६ मतभार प्राप्त गरे भने पराजित पौडेलले २ हजार ६ सय ९४ मतभार प्राप्त गरे।

महिलातर्फ नेपाली कांग्रेसकी कमला पन्त विजयी भएकी छन्। उनले प्रतिस्पर्धी नेकपा एमालेका लिला पोख्रेल थनेतलाई ३६० मतान्तरले पराजित गरिन्। विजयी पन्तले ३ हजार ८४ मतभार प्राप्त गरिन् भने पराजित थनेतले २ हजार ७ सय २४ मतभार प्राप्त गरिन्। त्यस्तै, दलिततर्फ नेकपा माओवादी केन्द्रका भुवनबहादुर सुनार बिजयी भएका छन्। उनले नेकपा एमालेका अर्जुनकुमार सुनामलाई ३६० मतान्तरले पराजित गरे। बिजयी सुनारले ३ हजार ८४ मतभार प्राप्त गरे भने पराजित सुनामले २ हजार ७ सय २४ मतभार प्राप्त गरे।

राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको थियो। गण्डकी प्रदेशमा स्वतन्त्र सांसद दीपक मनाङेपनि गठबन्धनमा आबद्ध छन्। तर बुधबार भएको निर्वाचनमा गण्डकी प्रदेशमा सत्ता गठबन्धनको मत क्रस भएको छ।  

गण्डकी प्रदेशमा कुल ५ हजार ८ सय ९२ मतभार रहेको छ। जसमा सत्तारुढ गठबन्धनको मात्र ३ हजार २ सय ५२ मतभार रहेको थियो। तर बुधबार भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका कुनैपनि उम्मेद्वारले उक्त मत प्राप्त गरेनन्। बुधबारको निर्वाचनमा नेकपा माओवादी केन्द्रका सुरेश आले मगरले ३ हजार ९६ मतभार प्राप्त गरे। जुन गठबन्धनको मतभार भन्दा १५६ मतभार कम हो। उसो त सत्ता गठबन्धनका अन्य उम्मेद्वारले आले मगरको भन्दापनि कम मतभार प्राप्त गरे । नेपाली कांग्रेसकी कमला पन्तले ३ हजार ८४ र नेकपा माओवादी केन्द्रका भुवनबहादुर सुनारले ३ हजार ४८ मतभार पाए।

अर्कोतर्फ एमालेको कुल मतभार २ हजार ५ सय ५६ मतभार रहेको थियो। तर खुल्लातर्फ पराजित एमालेका उम्मेद्वार पूण्यप्रसाद पौडेलले २ हजार ६ सय ९४ मतभार प्राप्त गरे। जुन एमालेको मतभार भन्दा १३८ मत बढी हो भने महिलातर्फपनि एमालेकी लिला पोख्रेल थनेत र दलिततर्फ अर्जुनकुमार सुनामले समान १६८ मतभार बढी प्राप्त गरे।

सत्ता गठबन्धनबाट मत क्रस भएको पत्तो लागेपनि कुन दलबाट भएको हो भन्नेबारेमा यकीन भएको छैन। यद्दपी कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुले जसपा र जनमोर्चाबाट मत क्रस भएको अनुमान गरेका छन्। तर अहिल्यै मुख खोल्न हतार हुने भन्दै उनीहरु मौन बसेका छन्।

प्रकाशित: १२ माघ २०७८ १३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App