२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

एमाले कार्यकर्ता तान्ने रणनीतिमा एकीकृत समाजवादी

नेकपा (एकीकृत समाजवादी) ले देशव्यापी संगठन विस्तारका क्रममा एमालेकै नेताकार्यकर्ता संंगठित गर्ने पहिलो योजना बनाएको छ। एमालेबाटै विभाजित भएको र एमालेसँगै मिल्दोजुल्दो सांगठनिक संरचना र नीति भएका कारण सोही पार्टीका नेताकार्यकर्तालाई संगठित गर्ने योजना बनाएको हो।

भदौ ९ गते पार्टी विभाजन भएपछि गठित एकीकृत समाजवादी देशव्यापी संगठन विस्तारमा लागेको हो। कतिपय स्थानमा एमालेमै रहँदा समानान्तर कमिटी बनाएको र त्यसमा सहभागी नेताहरूलाई नै जिम्मेवारी दिइएको छ।

कतिपय स्थानमा एमालेबाट असन्तुष्ट नेताहरूलाई समेट्ने तयारी भएको जनाइएको छ। ‘एमालेमा अर्को विद्रोह हुँदैछ, उनीहरूलाई पनि समेट्ने तयारी हुँदैछ,’ एक नेताले भने। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संगठन विस्तारका क्रममा देशदौडाहामा छन्।

उनी झापादेखि डडेलधुरासम्म हुने पार्टी कार्यक्रममा आफैं गइरहेका छन्। काठमाडौंमा हुने ससाना कार्यक्रममा पनि अध्यक्ष नेपाल स्वयं सहभागी भएर नेताकार्यकर्तालाई उत्प्रेरित गरिरहेका छन्।

सोही पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एमाले नै पहिलो स्रोत भएकाले त्यहींका नेताकार्यकर्तालाई पार्टीमा तान्नुलाई प्राथमिकता दिइएको बताए। ‘एमालेबाट विद्रोह गरेका नेताहरू नै संगठन निर्माणमा लाग्नुभएको छ। उहाँहरूले नै संगठन निर्माण र कार्यकर्ता परिचालन गर्नुभएको छ,’ उपमहासचिव खतिवडाले भने।

उनका अनुसार नयाँ युवा पनि पार्टीमा आइरहेका छन् तर एमालेकै नेताहरू भने बढी नै एकीकृत समाजवादीमा संगठित भएका छन्। अहिले देशव्यापी रूपमा प्रशिक्षणको कार्यक्रम चलिरहेको सो पार्टीले जनाएको छ। तीन प्रदेशमा प्रशिक्षण कार्यक्रम सकिएको छ। चौथो चरणमा गण्डकी प्रदेशमा प्रशिक्षण कार्यक्रम तय भइसकेको छ। धेरैजसो नगरपालिका, जिल्ला, प्रदेश र सम्पर्क कमिटी बनिसकेका छन्।

प्रवक्ता खतिवडाका अनुसार मनाङबाहेक सबै जिल्लामा कमिटी गठन भइसकेका छन्। जिल्ला कमिटीहरूले पनि आफ्नो कार्ययोजना बनाएर संगठन निर्माण सुरु गरिसकेका छन्। काठमाडौं जिल्लाले पनि पुस २० गतेभित्र संगठन अभियान टोली निर्माण सम्पन्न गरिसक्नेगरी कार्यक्रम तय गरिसकेको छ। सो अभियानअन्तर्गत माघ २ देखि सुरु गरेर पहिलो चरणको अभियान फागुन २ मा सक्नेगरी प्रत्येक वडामा कम्तीमा १० टोली परिचालन गर्ने, प्रत्येक टोलीमा कम्तीमा १० जनालाई पार्टी सदस्य बनाउने योजना बनाइएको छ।

जिल्ला कमिटीका सदस्यमध्येबाट प्रत्येक क्षेत्रमा दुईजनालाई खाजा, खाना, फोन रिचार्जबापत १० हजार प्रदान गर्ने गरी अभियान अवधिभरिका लागि क्षेत्रीय कमिटीको सिफारिसमा पूर्णकालीन सदस्य बनाउने योजना एकीकृत समाजवादीको काठमाडौं जिल्ला कमिटीले जनाएको छ। यो क्रम सबै जिल्लामा लागु हुने सो पार्टीले जनाएको छ। एकीकृत समाजवादीले सबै कमिटीको गठन–पुनर्गठन र पार्टी सदस्यता वितरण अभियानपछि स्थानीय पार्टी कमिटीका अधिवेशन गर्ने योजना अघि बढाएको छ।

पार्टी सम्बद्ध जनवर्गीय संगठन, पेसागत संगठन, सामुदायिक संगठन र प्रवासी संगठन निर्माण कार्य पनि तीव्र गतिमा अगाडि बढाउने योजना बनाइएको छ। विगतमा ओलीले विधिपद्धतिका आधारमा भन्दा पनि व्यक्तिगत चाहनाका आधारमा स्वेच्छाचारी ढंगले पार्टी चलाउने गरेको भन्दै एमालेबाट विभाजित भएपछि नेता नेपाल एकीकृत समाजवादी गठन गरेर एमालेकै कार्यकर्तालाई आफ्नो पार्टीमा ल्याउन लागिपरेका हुन्।

सोही अभियान लिएर अध्यक्ष नेपाल देश दौडाहामा लागेका छन्। उनले असोज, कात्तिक र मंसिरमा देशभरिका नेता कार्यकर्तासँग संगठन निर्माणकै विषयमा छलफल गरे। त्यति मात्र होइन, देशभर हुने सभामा पनि अध्यक्ष नेपाल आफैं पुग्ने गरेका छन्। ‘एकीकृत समाजवादीले आयोजना गरेका साना वा ठूला जुनसुकै कार्यक्रम भए पनि माधव नेपालकै आवश्यकता महसुस गरेर बोलाउने गरिएको छ। त्यही भएर उहाँ जाने गर्नुभएको हो,’ स्थायी कमिटीका एक सदस्यले भने।

संगठन निर्माणका क्रममा एकीकृत समाजवादीका केन्द्रीय नेताहरूले एमालेलाई गाली गर्दै आफूहरूले गठन गरेको पार्टीको औचित्य पुष्टि गर्ने प्रयास गरिरहेका छन्। अध्यक्ष नेपालले एमालेबाट विद्रोह गर्नुको कारणबाट आफ्ना भाषण सुरु गरेर अन्तिममा केपी ओलीलाई गाली गरेर टुंग्याउने गरेका छन्। ‘धेरैजसो समय विद्रोहको औचित्य पुष्टि गर्दैमा बितेको छ। एमालेका धेरै नेताकार्यकर्ता हामीले किन अर्को पार्टी बनाउनुपर्‍यो भनेर बुझेका छन्, एमालेमा आएको विचलन, संविधानमाथिको कुठराघात, व्यक्तिवादी प्रवृत्ति, स्वेच्छाचारिता यी सबै हाम्रो विद्रोहका कारण हुन्,’ पार्टी प्रवक्ता खतिवडाले भने।

ओलीको नारा वामपन्थ होइन,रामपन्थ होः नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपाको सरकार ढल्नु र पार्टी विभाजन हुनुमा केपी ओली दोषी रहेको दाबी गरेका छन्।

२०७७ पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनका सन्दर्भमा सोमबार काठमाडौंमा भ्रातृ संगठन समाजवादी प्रेस संगठनले गरेको अन्तक्र्रियामा उनले ओली अब वामपन्थी नै नरहेको जिकिर गरे। ‘केपी ओलीको नारा वामपन्थ होइन, रामपन्थ हो, हामी मात्रै अग्रगमनको पक्षमा छौं,’ नेपालले भने। उनले केपी ओली प्रतिगमनको पक्षमा रहेको जिकिर गरे। पाँच दल परिवर्तनका वाहक रहेको र पाँच दलको गठबन्धन एकताबद्ध भएर अघि बढ्ने विश्वास अध्यक्ष नेपालले व्यक्त गरे। ‘आउने निर्वाचनमा पनि संयुक्त रूपमा अघि बढ्छौं,’ उनले भने।

उनले ओलीलाई ‘परपीडक नम्बर १’ भएको समेत बताए। अध्यक्ष नेपालले तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई अन्याय गरेको पनि बताए। उनले दाहाल धेरै सोझो बनेको पनि बताए। अध्यक्ष नेपालले दाहालको कमलो मनले ओलीलाई चिन्न नसकेको भन्दै ओली ज्याद्रो मान्छे भएको दाबी गरे।

‘म कमरेड प्रचण्ड (पुष्पकमल दाहाल) को पनि आलोचना गर्न चाहन्छु, उहाँ सोझो हुनुभयो। उहाँले कहिल्यै कुरा उठाउनुभएन। अब मेरो पालो छ भन्नुपथ्र्याे नि, पालो नै नभन्ने। सम्भवतः भर्खर पार्टी एकताबद्ध भएको छ, धेरै भन्यो भने समस्या खडा हुन्छ भन्ने उहाँको कमलो मनमा त्यही परेछ’, अध्यक्ष नेपालले भने, ‘केपी ओलीजस्तो ज्याद्रो मान्छेलाई उहाँले चिन्न नै सक्नुभएन। म त हत्तुहैरान भएर बसेको मान्छे। तर उहाँलाई पनि केपी ओलीले सहन सकेनन्।’ त्यसैगरी सोही कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालले ओलीमाथिको कारबाही निर्वाचन आयोगले अघि बढाएको भए सूर्य चिह्न यति बेला आफूहरूको भइसक्ने बताए।

२०७७ पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनका सन्दर्भमा गरिएको अन्तक्र्रियामा नै दाहालले सो कुरा बताएका हुन्। ‘निर्वाचन आयोगले हाम्रो सिफारिस मानेको भए केपी ओली पार्टीविहीन हुने थिए। उनी बबुरो भएर सडकमा पुग्ने थिए तर ठूलो सेटिङबाट उनलाई जोगाइयो। हामीले उनलाई पार्टीको साधारण सदस्यबाटै निकालेका थियौं निर्वाचन आयोगलेसंविधानअनुसार काम नै गरेन,’ अध्यक्ष दाहालले भने। उनले पार्टीमा आफूहरूले ७५ प्रतिशत हिस्सा कब्जा गरिसकेको अवस्थामा ओलीले अर्को पार्टी बनाइसकेको बताए।

प्रकाशित: ६ पुस २०७८ ००:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App