३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

त्रियुगा खानेपानीको अध्यक्षमा धेरै आकांक्षी

अधिवेशन आउन सातादिन बाँकी रहँदा सदरमुकाम गाईघाटस्थित ‘त्रियुगा साना सहरी खानेपानी उपभोक्ता समिति (संस्था)’ उदयपुरको अध्यक्ष बन्न तँछाड मछाड सुरु भएको छ। आउँदो पुस ४ गते हुने १३ औं साधारणसभा तथा अधिवेशनको तयारीसँगै अध्यक्ष बन्ने होडबाजी चलिसकेको हो।

०७३ वैशाख १८ गते भएको १२ औं साधारणसभा तथा अधिवेशनबाट अध्यक्ष निर्वाचित शंकरबहादुर बस्नेत लामो समयसम्म कार्यालय अनुपस्थित भएपछि अदालतले हटाएर उपाध्यक्ष ओमबहादुर खड्कालाई कार्यबाहक बनाएको थियो। बस्नेत स्वयंले दिएको मुद्धाउपर फैसला गर्दै उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगाले ०७४ भदौ २९ गतेको फैसला अनुसार बस्नेतलाई अध्यक्षबाट हटाएको थियो। त्यसयता खड्का कावा अध्यक्ष भएर समितिको नेतृत्व गर्दै आएका छन्।

आसन्न अधिवेशनमा खड्का अध्यक्षका प्रमुख दावेदार हुन् भने अन्य पदाधिकारी तथा उपभोक्ता पनि अध्यक्षमा दावी गर्दै उम्मेदवारी घोषणाको तयारी गरिरहेका छन्। कावा अध्यक्ष खड्का आफू निर्विकल्प उम्मेदवार भएको बताउँछन्। संस्था स्थापनाकालदेखि पटकपटक अध्यक्ष भएका बस्नेतको कार्यकालमा अस्तव्यस्त हुन पुगेको संस्थालाई ५ वर्ष अनवरत रातदिन दुःख गरेर जीवन दिँदै व्यवस्थित बनाएको भन्दै उनले आफू अध्यक्षको प्रमुख दावेदार रहेको खुलाए।

बस्नेतको कार्यकालमा नगर विकास कोषमार्फत लिएको एसियाली विकास बैंक (एडिबी) को ३ करोड १६ लाख ऋणको साँवाव्याज अघिल्लो कार्यसमितिले नतिर्दा बढेर ६ करोड नाघेको उनले बताए। खड्काले ०६६ जेठ २ गते सम्झौता गरेर लिएको ऋण तोकिएको मितिमा किस्ता नबुझाउँदा बढेर ६ करोड नाघेको र आफु कार्यवाहक अध्यक्ष भएपछि नियमित साँवाव्याज बुझाउँदै आएको बताए।

आफूले नेतृत्व सम्हालेपछि एडिबीको सावाँव्याज तिर्दै आएको र ३ वर्षमा १ करोड ५० लाख तिरिसकेको उनले बताए। पछिल्लो समय कोषको निर्देशनअनुसार नियमित ऋणको सावाँव्याज बुझाउँदै आएको र अव ४ करोड ५० लाख मात्र बाँकी रहेको छ।

सदरमुकामबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने मुख्य लक्ष्य लिएर ०५३ सालदेखि सुरु भएको खानेपानी योजनाको हालसम्म २ हजार ६ सय हाराहारी ग्राहक छन्। मुख्यगरी वडा नं. १०, ९, ११ र १२ नं. वडाबासीलाई योजनाले खानेपानी उपलब्ध गराउँदै आएको छ। बरुवा खोला मुहान भएको योजनाले हाल स्थान अनुसार आवश्यक्ताको आधारमा ८ घण्टादेखि १६ घण्टासम्म खानेपानी उपलब्ध गराउँदै आएको छ।

सचिव सन्तोष खड्काका अनुसार उपभोक्तालाई खानेपानीको अभाव हुन नदिन, सहज तरिकाले महसुल बुझाउन र बिग्रेभत्के तत्काल मर्मतसम्भार गर्न व्यवस्थित रुपमा जनशक्ति परिचालन गर्ने गरेको दावी समितिको छ। संस्थालाई आधुनिक र व्यवस्थित बनाउन मोवाईल बैंकिङ र इसेवामार्फत समेत महसुल बुझाउने व्यवस्था मिलाइएको उनले बताए।

कोषाध्यक्ष किरण पाण्डेले अघिल्लो कार्यकालमा रसातलमा पुगिसकेको संस्थालाई यो समितिले उकासेको बताए। धेरैजसो उपभोक्ताले महसुल नै नबुझाउने र बुझाउँदा बैंकमा नराखेर अध्यक्षले राख्ने परम्परा अन्त्य गर्दै रकम जम्मा र परिचालन बिधिलाई बैंकिङ प्रणालीमा ढालिएको पाण्डेले बताए। अहिले सानोभन्दा सानो रकम जम्मा तथा भुक्तानी कार्य बैंकमार्फत गर्ने गरेको तथा कर्मचारी र ज्यालादारी कामदारलाई समयमै तलबभत्ता दिने गरिएको छ।

एडिबीको ऋण नियमित तिरेर पनि हाल संस्थामा २५ लाख हाराहारी रकम मौज्दात रहेको पाण्डेले बताए। गतवर्षको कोभिड कहरमा ३ महिनाको शूल्क मिनाहा गरिदिएको पनि उनले बताए।

टाट पल्टिसकेको संस्था नाफामा जाँदै गएको देखेपछि धेरैले अध्यक्ष र पदाधिकारी हुन आँखा गाडेको उपभोक्ताहरु बताउँछन्। कतिपय हिजो मनपरी गर्ने तप्काको समूहले पनि अध्यक्षमा आँखा गाडेको र सुधार गर्ने मनसाय भएकाहरुले पनि अध्यक्ष दावी गर्नु स्वभाविक भएको सचिव खड्काले बताए।

उनले आफू पनि अध्यक्षको आकांक्षी भएको स्वीकार्दै लोकतान्त्रिक विधि र स्वस्थ्य प्रतिस्पर्धामार्फत नेतृत्व छान्नुपर्ने बताए।

उसो त दलीय कारण पनि अध्यक्षमा प्रतिस्पर्धा हुनेमा शंका छैन। कावा अध्यक्ष खड्का र कोषाध्यक्ष पाण्डे एमाले समर्थक हुन्। सचिव खड्का नेपाली काँग्रेस समर्थक हुन् भने अदालती कारबाहीमा पद गुमाउन पुगेका पूर्व अध्यक्ष बस्नेत पनि काँग्रेसी हुन्।

माओवादी र एकीकृत समाजवादी तथा राप्रपाले पनि दावी गर्ने योजना बनाएका छन्। यसअघिको चुनाव पनि दलीय स्पर्धाबाटै उम्मेदवारी पर्ने गरेको थियो। आकांक्षी धेरै र दलीय प्रतिस्पर्धाले खानेपानी समितिको चुनाव रोचक हुने अनुमान गरिएको छ।

प्रकाशित: २९ मंसिर २०७८ १२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App