७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

सबै न्यायाधीशहरुको राजिनामा माग्दै ओलीले सोधे, कुखुराको अण्डा मन्छाएर क्यान्सर निको हुन्छ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने बताएका छन्। सर्वोच्च अदालतका न्यायाधीशहरुमाथि ठूलो प्रश्न उठेको उल्लेख गर्दै आफूले सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने अवस्था देखेको उनको भनाइ छ। अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराप्रति संकेत गर्दै कुनै अमूक व्यक्तिले राजीनामा गर्दैमा न्यायिक क्षेत्रको प्रदुषण हट्ला? भनि सम्पादकहरुसामू नै प्रश्न गरेका थिए।

उनले अदालतभित्र सेटिङमा सहमत भएर फैसला गरिएको देखिएको, परमादेशको आधारमा आफूलाई हटाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको भन्दै आक्रोश समेत व्यक्त गरे।

मंगलबार सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘अहिले सर्वोच्च अदालत प्राङगणमा जे भइरहेको छ। सर्वोच्च अदालतभित्र जे भइरहेको छ। यो बहुत दुःखद् छ। र यो टाउको दुखेको औषधि नाईटोमा लाएजस्तो गरेर यसको उपचार हुनेवाला छैन’।

सोही क्रममा उनले थपे, ‘फलानोले राजीनामा गर्दा हुन्छ भन्ने जस्तो कुराले यसको न्यायिक क्षेत्रको प्रदुषण यति एउटा कुराले हटला? मलाई त्यस्तो लाग्दैन। लागेको क्यान्सर छ, कुखुराको अण्डा मन्छाउने? कुखुराको अण्डा मन्छाएर क्यान्सर निको हुन्छ? त्यसो भएर यसको राम्रै उपचार अप्रेशन, किमो गर्नुपर्ने हुन्छ।’

प्रकाशित: ७ मंसिर २०७८ १३:०० मंगलबार

नेकपा एमाले