७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

ताप्लेजुङबाट छानिए १३ प्रतिस्पर्धी, अधिकांस संस्थापन पक्षका

नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने १३ प्रतिनिधिको टुङ्गो लागेको छ। कात्तिक ३० गते सम्पन्न मतदानको मतगणना सकिएसँगै महाधिवेशन प्रतिनिधिको टुंगो लागेको हो।

जस अनुसार खुल्ला ८ पदमा सबैभन्दा बढी मत संविधानसभा सदस्य भूपेन्द्र थेबेले ल्याएका छन्। उनले ४ हजार २ सय ६२ मत ल्याए। निर्वाचन समिति संयोजक बलराम भट्टराईका अनुसार खुल्लातर्फको दोस्रो मत दीपेन पोमूले ल्याए। जिल्ला युवा समिति अध्यक्ष समेत रहेका उनले ४ हजार ८७ मत ल्याँउदा फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलले ४ हजार ५३ मत सहित तेस्रो बढी मत ल्याए।

यस्तै युवा संघका नेता आशिष केदेमले ३ हजार ७ सय २५ मत, पूर्व राज्यमन्त्री ओङ्दी शेर्पाले ३ हजार ५ सय ७९ मत, प्रदेश सांसद बलबहादुर साम्सोहाङले ३ हजार ५ सय ५० मत, संविधानसभा सदस्य डम्बरध्वोज तुम्बाहाम्फेले ३ हजार ५ सय २१ मत र एमाले प्रदेश कमिटी सदस्य गोपाल थोप्राले ३ हजार ४ सय १९ मत ल्याएर महाधिवेशन प्रतिनिधि चयन भए।

अन्य प्रतिस्पर्धीमध्ये जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले ३ हजार २ सय ८६ मत, जिल्ला खेलकुद विकास समिति अध्यक्ष मणिशंकर पोमूले ३ हजार ६८ मत ल्याए। प्रदेश कमिटी सदस्य सन्तोष खतिवडाले २ हजार ६ सय ४३ मत, मंगलसिंह केदमेले २ हजार ४ सय ८५ मत,सिंहबहादुर इवारमले २ हजार ४ सय ५४ मत, चन्द्रप्रकाश मेन्याङ्वोले २ हजार २ सय ३८ मत, राजेश प्याकुरेलले १ हजार ९ सय ५२ मत र थर्ककुमार चोङ्वाङ(दिवस)ले १ हजार ८ सय २६ मत ल्याएको निर्वाचन समितिले जनाएको छ। खतिवडा, इवारम, मेन्याङ्वो, केदेम र मादेन पुराना कम्युनिष्ट नेतामा गनिन्छन्। प्याकुरेल एमाले फुङ्लिङ नगर कमिटी सचिव हुन् भने चोङ्वाङ मैवाखोला गाउँपालिका वडा नं ३ का वडाध्यक्ष हुन्।

महिलातर्फ सर्बाधिक लोकप्रिय मत फुङ्लिङ् नगरपालिका वडा नं ५ का वडाध्यक्ष समेत रहेकी भीमादेवी ओझाले पाइन्। ६ हजार १ सय हाराहारी मत झरेकोमा उनले ५ हजार ९ सय ४६ मत ल्याएकी छन्। मीनाकुमारी केदमेले ५ हजार ६ सय ८०, टीकादेवी दाहालले ४ हजार ७ सय ८३, उर्मिला थेबेले ४ हजार ५ सय ९९ मत ल्याएर महाधिवेशन प्रतिनिधि चयन भए।

४ जनाको कोटा रहेकोमा ५ प्रतिस्पर्धी थिए। त्यसमा निर्मला इजमले ४ हजार २६ मत ल्याइन्। थेबे सिरिजंगा गाउँपालिका वडा नं १ का वडाध्यक्ष समेत हुन्। १ दलित कोटाका लागि रहेका २ प्रतिस्पर्धीमध्ये ३ हजार ७ सय २३ मत ल्याएर मनकुमार नेपाली निर्वाचित भए। छत्रबहादुर बिकले २ हजार २ सय १२ मत ल्याए। नेपालीले आफ्ना प्रतिस्पर्धीलाई १ हजार ५ सय बढी मतान्तरले पराजित गरे।

नतिजा अनुसार महाधिवेशन प्रतिनिधिमा चयन भएका अधिकाँस संस्थापन पक्षका छन्।

प्रकाशित: ४ मंसिर २०७८ ११:३५ शनिबार

नेकपा एमाले