८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

देउवाको घरमा पार्टीको बैठक राखेकोमा असन्तुष्टि जनाउँदै सिंहले भनेः बुढानिलकण्ठ हामीले नदेखेको हो र

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको घरमा पार्टी केन्द्रीय कार्य समितिको बैठक राखेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

नेता सिंहले पार्टी कार्यालय हुँदाहुँदै केन्द्रीय कार्य समितिको बैठक सभापति देउवाको घरमा बोलाएकोमा चर्को असन्तुष्टि व्यक्त गरेका छन्। नेपाली काँग्रेस जिल्ला कार्य समिति, काठमाडौंले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बुढानिलकण्ठ नदेखेको झैं गरेर सभापति देउवाले आफ्नै निवासमा आइतबार (हिजो) केन्द्रीय कार्य समितिको बैठक बोलाएकोमा आपत्ति जनाए।

नेता सिंहले सभापति देउवाको गृहजिल्ला डडेलधुरामा सम्पन्न भएका वडा तथा पालिका अधिवेशनहरु मान्य नहुने चेतावनी समेत दिए। उनले सत्ताको दूरुपयोग गरेर पुलिसको घेरामा राखेर डडेलधुरामा गरिएको अधिवेशन मान्न नसकिने अडान राखे। नेता सिंहले क्रियाशील सदस्यताको विवाद देखिएको ठाउँमा पूरानै क्रियाशील सदस्यलाई मान्यता दिने पार्टी केन्द्रीय कार्य समिति बैठकले गरेको सर्वसम्मत निर्णय तत्काल कार्यान्वयन गर्न पनि पार्टी नेतृत्वलाई दवाव दिए।

उनले भने, ‘पार्टी केन्द्रीय कार्य समितिको बैठक पार्टी सभापतिको घरमा राख्छ। हिजो मैले बोले। कार्यालयमा राख्नु पर्‍यो नि वर्किङ कमिटी भनेर। भवनको के काम। बुढानिलकण्ठ हामीले नदेखेको हो र भन्या। उहाँको त्यहाँ घर बन्नुभन्दा अघि नै हामी त्यहाँ बुढानिलकण्ठ भगवानको पूजा गर्न जान्थेऊ नि त। अनि एक दिन नाघि सक्यो–रौंतहटका साथीहरु धर्ना बसेको बस्यै।'

नेता सिंहले राजनीतिक न्याय दिन पनि पार्टी नेतृत्वसँग माग गरे। उनले विधि र नियम उलंघन गरेर पार्टी नेतृत्वले सधैं कार्यकर्तालाई अन्याय गरेकाले आफूहरुले राजनीतिक न्यायको खोजी गर्नु परेको तर्क समेत गरे। उनले पार्टी नेतृत्वले अब महाधिवेशन सार्ने अवस्था भने नरहेको बताए।

प्रकाशित: २९ कार्तिक २०७८ ०६:४३ सोमबार

शेरबहादुर देउवा पार्टी केन्द्रीय कार्य समितिको बैठक