नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र मूल्याङ्कनको समय आएको बताएका छन्। नेपाली कांग्रेस रत्ननगर नगरपालिका–१३ को कार्यालय उद्घाटन, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा आज उनले पार्टीको १४ औँ महाधिवेशन नेताको मूल्याङ्कनको समय रहेको बताएका हुन्।
उनले भने,“पार्टीका लागि कस्ले के गर्यो भन्ने विषयमा मूल्याङ्कन १४ औँ महाधिवेशनले गर्नेछ।” कार्यकर्तालाई दुविधामा राख्ने र ढाकछोप गर्ने गर्दा पार्टी बिग्रिएको उनको भनाइ थियो। “अहिले पार्टी कहाँ पुग्यो मूल्याङ्कन गरेर नेतृत्व चयन गर्नुपर्छ”, उनले भने। वरिष्ठ नेता पौडेलले कांग्रेसलाई सुधार गरेर लैजानका लागि महाधिवेशनमा कार्यकर्ताले मूल्याङ्कन र विवेक पुर्याउनुपर्नेमा जोड दिए। अब पार्टी बनाउनका लागि निष्ठा र नैतिकताको राजनीति गर्नुपर्ने उनको भनाइ थियो।
वरिष्ठ नेता पौडेलले पार्टीका नेता तथा कार्यकर्ताको आचरण र सिद्धान्तका आधारमा आम जनताले हैसियतमा राख्ने गरेको भन्दै कांग्रेसका नेता कार्यकर्ता नैतिकवान बन्नुपर्ने बताए। पार्टीलाई रुपान्तरण गर्दै लैजानुपर्ने समय आएको भन्दै उनले भने, “पार्टीभित्र रुपान्तरणको आवश्यकता छ। कांग्रेस उज्यालो अनुहार लिएर अघि बढ्नुपर्छ।” कांग्रेसभित्र सुदृढ एकताको आवश्यकता रहेको भन्दै उनले न्याय र मूल्याङ्कनको आधारमा सँगै एजेण्डामा एकता हुन जरुरी रहेको बताए।
वरिष्ठ नेता पौडेलले पछिल्लो समयमा लोकतान्त्रिक संस्था कमजोर बनाउने काम भएको बताउँदै संवैधानिक परिषद्को ऐन र सेटिङका कारण अदालतजस्तो संस्था ढल्ने अवस्थामा पुगेकाले अब आँखा चिम्लेर बस्ने समय नरहेको उल्लेख गरे।
प्रकाशित: १६ कार्तिक २०७८ १४:१० मंगलबार