१४ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

माओवादी विघटन वा बिसर्जन होइन, पुर्नगठन गर्ने होः पौडेल

पोखरामा शनिबार नेपाल राष्ट्रिय कर्मचारी महासंघ भेलामा सहभागि शिक्षा मन्त्री देवेन्द्र पौडेल लगायत। तस्बिर ः सन्देश श्रेष्ठ÷नागरिक

शिक्षा मन्त्री देवेन्द्र पौडेलले नेकपा माओवादी केन्द्र विसर्जन वा विघटन गर्ने नभई पुर्नगठन गरिने बताएका छन्। नेपाल राष्ट्रिय कर्मचारी महासंघ गण्डकी प्रदेशको शनिबार पोखरामा आयोजित दोश्रो भेलालाई सम्बोधन गर्दै मन्त्री पौडेलले पार्टीलाई फेरी २०६४ सालकै अवस्थामा फर्काउने संकल्प सहित पार्टी पुर्नगठन गर्ने काम भइरहेको बताएका हुन्।  

माओवादी अध्यक्ष पुष्पकमल दाहालले केहिदिन अघि वाईसिएलको भेलालाई सम्बोधन गर्ने क्रममा अन्य पार्टीजस्तै हुने, अवसरवादी हुने हो भने माओवादी किन चाहियो ? बरु विघटन गर्दिऔं, होइन भने पुर्नगठनका लागि त्याग, तपस्या र मेहनत गरौं भनेर भनेको प्रसंग कोट्याउँदै पौडेलले भने, ‘प्रचण्डले माओवादी विघटन गरौं, बिजर्सन गरौं वा सिद्धिऔं भनेर भन्नुभएको होइन, बरु यसलाई सबैले मिलेर पुर्नगठन गरौं भन्न खोज्नु भएको हो।’

शिक्षा मन्त्री पौडेलले माओवादीले जित्दैन, माओवादी आन्दोलन सिद्धियो भनेर केही स्याल हुईंयाहरुले हल्ला फैलाएको आरोप लगाए। त्यसमा साम्राज्यवादी र बिस्तारवादीहरु संलग्न रहेको उनको आरोप थियो। उनले माओवादीलाई चुनौतिसहित ठूलो पार्टी बनाउने संकल्प लिएर देशब्यापी अभियान सञ्चालन भइरहेको बताए। नीति, बिचार र नेतृत्वमा माओवादी सबैभन्दा सबल र सफल पार्टी रहेको दाबी गर्दै उनले भने, ‘अब विगतका कमी कमजोरी सुधार्दै प्रचण्डको नेतृत्वमा पार्टीलाई पुर्नजिवित बनाउने हो, साम, दाम, दण्ड, भेदको प्रयोग गरेर माओवादीलाई देशको सबैभन्दा ठूलो पार्टी बनाउने हो।’

कांग्रेस, एमाले लगायतका पार्टी आन्तरिक द्वन्द्वले कमजोर भएकाले अब माओवादी नै जनताको रोजाईमा पर्ने उनले बताए। ‘कांग्रेसका शीर्ष नेताहरु चारतिर फर्केका छन्, एमालेको त भन्नै परेन, सिंगो एमाले हुँदा त सक्दैनथ्यो, अहिले माधव नेपाल बाहिरिएपछि  झन् सक्ने कुरै भएन,’ उनले भने।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य समेत रहेका पौडेलले एमालेसँग पार्टी एकता गर्नु ठीक भएपनि एमालेका केपी ओलीको स्वार्थका कारण एकीकरणले सार्थकता नपाएको आरोप लगाए। उनले भने, ‘एकता ठीक थियो तर एकतालाई गलत तरिकाले स्वार्थमा प्रयोग गर्न खोज्नु ओलीको गल्ती थियो।’ माओवादीले ईमान्दार भएर समाजवादी क्रान्ति पूरा गर्नेगरी अगाडि बढ्न पार्टी एकता गरेपनि ओलीले आफू प्रधानमन्त्री हुनका लागि मात्रै प्रयोग गर्दा एकताले सार्थकता नपाएको उनको जिकीर थियो।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सह–ईञ्चार्ज यशोदा सुवेदीले अहिले माओवादीको अर्जुनदृष्टि भनेको पार्टी सुदृढिकरण गर्नु रहेको बताईन्। त्यसका लागि पार्टी सदस्यता नवीकरण गर्दै संगठनलाई मजबुत बनाउनु रहेको उनको भनाई थियो। सुवेदीले केपी ओलीले प्रतिक्रान्ति गर्दै साम्राज्यवादीको गुलामी गरेको आरोप लगाइन्। उनले अब साम्राज्यवादी र बिस्तारवादीलाई पत्तासाफ गर्दै समाजवादी यात्रा तय गर्नु पार्टीको वर्तमान कार्यदिशा रहेको बताईन्।

प्रकाशित: १३ कार्तिक २०७८ १०:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App