१० आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादी द्वन्द्वमा बाँके र बर्दिया ‘कमाण्ड’ सम्हालेका ‘अथक’ बने खेलकुद मन्त्री

तत्कालिन नेकपा माओवादीले थालेको ‘जनयुद्ध’का क्रममा बाँके र बर्दियामा दैनिकजसो हुने घटनामा जोडिएर आउने नाम हो, ‘अथक’। बाँके र बर्दियामा माओवादीले गरेको कारबाहीको जिम्मा यिनै ‘अथक’ले लिन्थे, सञ्चार माध्यमले उनको हवाला दिँदै समाचार सम्प्रेषण गर्थ्यो। विभिन्न आरोह–अवरोह पार गर्दै उनी शुक्रबार संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालयको मन्त्री बनेका हुन्।  

उनी मन्त्री त्यसै बनेका होइनन्, लामो राजनीतिक संघर्ष, पार्टीका लागि अथकले गरेको त्याग नै मूल्यांकनको मुख्य आधार हो। ‘मैले पार्टीमा रहेर गरेको कामको मुल्यांकनस्वरुप नै अहिले मन्त्रीको जिम्मेवारी पाएको हुँ,’ उनले भने।

अथक, बाँके, प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद हुन्। २०२८ सालमा रुकुममा जन्मिएका हुन्, महेश्वरजंग गहतराज ‘अथक’। हाल उनी नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ धम्बोझीका स्थायी बासिन्दा हुन्। आमा रति विश्वकर्मा र बुबाको सुकीराम विश्वकर्माको कोखबाट जन्मिएका उनको भित्री कथा भिन्न छ। शैक्षिक योग्यताका हिसाबले आई.ए सम्मको अध्ययन गरेका उनले २०४६ सालमा नेकपा मसालको पार्टी सदस्यता लिएका थिए।

यस्तो छ अथकको राजनीतिक यात्रा

अतिविपन्न परिवारमा जन्मिएका उनले उमेरमा पढ्नै पाएनन्। गरिबी र विपन्नताका कारण झण्डै १२ वर्षको उमेरमा मात्र उनी विद्यालय भर्ना भएका थिए। ‘प्रारम्भिक राजनीतिक चेतना २०४३ सालको तत्कालिन पञ्चायती आमनिर्वाचन र त्यसकाविरुद्ध उठेका आवाजहरुबाट भएको थियो,’ उनी भन्छन् ‘दलित समुदायमा भइरहेको अमानवीय व्यवहार शोषण, दमन, उत्पीडनका कारण त्यसबेला स्थानीय सामन्ती राजारजौटा र पञ्चायतकाविरुद्ध तिब्र घृणा विकास भयो।’ २०४५ सालमा वीरेन्द्र मावि बाँफिकोट रुकुमको अनेरास्ववियू इकाई सचिवमा उनी चुनिए। त्यसपछि विद्यार्थी राजनीतिमा लाग्ने नसाले उनलाई छोयो। २०४६ सालमा जिल्ला समिति रुकुमको कोषाध्यक्ष हुँदै सोही वर्ष चितवनमा सम्पन्न राष्ट्रिय भेलामा प्रतिनिधि भए।

‘२०४६ सालमा पंचायत विरोधी भावना बढ्दै जनआन्दोलनका रुप लिंदै जाँदा बाँफिकोट भेगमा नेकपा मशालको संघर्षका गतिविधि सञ्चालन गर्न लोकेन्द्र विष्ट मेरै घरमा बसेर पार्टी र आन्दोलनको बारेमा महत्वपूर्ण मार्ग निर्देशन गर्नुभयो,’ अथक भन्छन्, ‘हामीलाई पार्टीका संघर्षका कार्यक्रमहरु पर्चा छर्ने, पोष्टर टाँग्ने, वालिङ गर्ने, मसाल जुलुस गर्ने जस्ता क्रियाकलापमा सरिक गराउनु भयो।’

२०४७ मा तत्कालिन नेकपा मशालको एसीएम, अनेरास्ववियुको जिल्ला सचिव र राप्ती अञ्चल समन्वय समितिको सचिव समेतको जिम्मेवारी पाए। उनले डोल्पा र जाजरकोट समेतमा संगठन विस्तारको जिम्मा पाएका थिए। तत्कालिन अखिल नेपाल युवक संघको जिल्ला सदस्यमा मनोनित पनि भए, उनी।

२०५० मा हेटौडा राष्ट्रिय भेलाबाट अनेरास्ववियू क्रान्तिकारीको केन्द्रीय सदस्यमा निर्वाचित भएका अथक सोही वर्ष नेपाल उत्पीडित दलित मुक्ति समाजको बुटवलमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा पनि निर्वाचित भए। रुकुम सल्यान र कर्णाली अञ्चलको सांगठनिक जिम्मा लिएर काम गरे। २०५१ मा नेकपा माओवादी रुकुमको जिल्ला भेलाबाट जिल्ला समिति सदस्यमा निर्वाचित भए।

‘जनयुद्ध तयारीको अन्तिम प्रशिक्षण प्रचण्डबाट रोल्पामा सम्पन्न भएपछि दिमागमा पूरै जनयुद्ध राखेर तयारीमा लागियो,’ उनी सम्झन्छन् ‘पार्टीले अन्तिम तयारी र थालनीको मिति समेत तय गरिसकेपछि प्रतिनिधिमूलक एक कारवाही रुकुममा गर्ने निर्देशन केन्द्रले गर्यो, पश्चिम कमाण्ड इन्चार्ज बादलको उपस्थितिमा बसेको जिल्ला समिति बैठकले कारवाहीको लागि मेरै कार्य क्षेत्रको आठवीसकोट, राडीजिउँला प्रहरी चौकीलाई टार्जेट गरी सर्वे गर्ने निर्णय गर्यो।’ उक्त कारबाहीका लागि तोकिएका चार मध्येका एक जना कमाण्डर थिए, अथक। उनी सम्झन्छन्, ‘त्यो मेरो जीवनको असाध्यै विशिष्ट महत्व र गौरवको क्षण बन्यो, यो मेरो अविष्मरणिय क्षण र गौरवमय परिघटना हो, जसले मलाई बाँच्न सिकाएको छ।’  

२०५७ मा रुकुमलाई माओवादीले देशको पहिलो जिल्ला जनसरकार घोषणा गर्दा अथक त्यहाँ पार्टीको महत्वपूर्ण जिम्मेवारीमा थिए। २०५७ मा पार्टी दोस्रो राष्ट्रिय सम्मेलन लगत्तै रुकुम जिल्ला पार्टी इन्चार्जमा नियुक्त भए, अथक। २०५९ मा विशेष क्षेत्रीय व्यूरो र रुकम इन्चार्जबाट भेरी–कर्णाली क्षेत्रीय व्यूरोमा सरुवा भएर गए। त्यहाँ हुम्ला, मुगु र जुम्ला, कालीकोट जिल्लाको इन्चार्ज भएर काम गरे। ‘एक वर्ष कर्णालीका गाउँबस्तीको संगठन र आन्दोलनको नेतृत्व गर्ने अवसर मिल्यो, कर्णाली बसाई शिक्षापछि उत्साहजनक रह्यो,’ उनी भन्छन्।

उनी कर्णालीमा रहँदा बाँके–बर्दियाको इन्चार्जमा ज्ञामप्रसाद चालिसे ‘आयाम’ थिए। तत्कालिन सुरक्षाकर्मीको आक्रमणबाट चालिसे मारिए। बाँके र बर्दियामा पार्टीले ठूलै क्षति व्यहोरेको अवस्थामा नयाँ जिम्मेवारीका साथ अथक यस क्षेत्रमा आइपुगे। उनी यहाँ आउँदासम्म आयामसहित २३ जना प्रभावशाली नेताहरु (डिसिएम) मारिएका थिए। भूमिगत जीवन र नौलो परिवेशमा पनि अथकले बाँके र बर्दियामा आफुलाई स्थापित नै गराए।  अथकले बाँके र बर्दियामा फरक शैलीबाट युद्ध र पार्टीका गतिविधी अगाडि बढाए।  

‘ज्ञाम आयाम संस्कृति भनेर संश्लेषण गरी व्यापक स्कूलिङ चलाइयो, त्यसबाट सबैमा बद्ला भाव र संकल्पका साथ व्यापक जनतालाई संगठित गर्ने दिशातिर प्रेरित र जिम्मेवार बनाइयो,’ उनले विगतलाई स्मरण गर्दै भने। २०६० मा अथक पार्टी केन्द्रीय समितिको सदस्यमा मनोनित भए। त्यसपछि उनले बाँके–बर्दिया विशेष जिल्ला र केही समय सुर्खेत जिल्ला समेतको नेतृत्व सम्हाल्न पुगे। ‘संसदीय दलहरु, अधिकारकर्मी, कानून व्यवसायी, उद्योगी, बुद्धिजीवी, विकासकर्मी र मिडियासँगको सहकार्य र सहमतिको अभ्यासले जनयुद्ध र जनआन्दोलनलाई फ्यूजन गराएर केन्द्रीय नारालाई स्थानीय स्तरमा अभ्यास र संयुक्त मोर्चाको आधार तयार पार्दै बाँके बर्दियामा एकातिर जनयुद्धका गतिविधि र अर्कातिर जनआन्दोलनको भावभूमि तयार पार्ने काम भयो,’ अथक भन्छन्।  

२०६३ मंसिरमा विस्तृत शान्ति सम्झौतापश्चात् माओवादी शान्तिपूर्ण राजनीतिमा आयो। उनी २०६५ देखि २०६९ साउनसम्म पार्टी केन्द्रीय सदस्यको जिम्मेवारीसँगै थारुवान राज्य समितिको सेक्रेटरी भए। २०६९ माघ २० देखि २५ गतेसम्म हेटौडामा सम्पन्न एकताको सातौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भए। २०७० सालको संविधानसभाको निर्वाचनमा माओवादीका तर्फबाट बाँके, क्षेत्र नम्बर १ मा उम्मेदवार भएपनि पराजित भएका थिए।  

२०७१ मा विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अथक पुनः पार्टी केन्द्रीय समितिमा निर्वाचित भए। २०७३ जेठमा पार्टी केन्द्रीय समितिको सचिवालय सदस्यमा मनोनित भएका अथक २०७४ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर १ बाटै वाम गठबन्दनका तर्फबाट उनी उम्मेदवार भइ निर्वाचित भएका थिए। २०७५ जेठ ३ गते माओवादी केन्द्र र एमालेबीच पार्टी एकता पश्चात गठन भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को उनी केन्द्रीय सदस्य भएका थिए। प्रतिनिधि सभामा निर्वाचित भएपछि उनी संसद भवनदेखि आफ्नो निर्वाचन क्षेत्रमा समय बिताउँदै आएका छन्। बाँकेको समग्र विकास निर्माणका साथै क्षेत्र नम्बर १ का विभिन्न समस्यामा उनी सम्बन्धित पक्षलाई दवाफदेही बनाउने काम गर्छन्। जिल्लाको राप्तीपारी विद्युतीकरण, हुलाकी राजमार्ग निर्माणलगायत बाँकेको समग्र विकास निर्माणका काममा अगाडि सर्ने नेताका रुपमा चिनिन्छन्, अथक। 

प्रकाशित: २२ आश्विन २०७८ ११:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App