प्रतिनिधिसभाका र राष्ट्रियसभाका बैठकमा बेलाबेलामा अशोभनीय दृष्य देखिँदै आएका छन् भने अशोभनीय आवाज पनि सुनिँदै आएका छन्। पछिल्लो पटक संसद्मा एमालेको नाराबाजीका क्रममा विगतमा अन्य पार्टीको जस्तै अशोभनीय दृष्य देखिए।
मर्यादाविपरीत सांसदहरू ढाडमा टेकेर रोष्ट्रममाथि उक्लने प्रयास, मर्यादापालकको हात टोक्ने, माइक भाँच्ने, टेबुल भाँच्ने जस्ता गतिविधि भए। संसद्मा असंसदीय भाषाको प्रयोग त झन् बढ्दै छ। यति मात्र हैन संसद्मा अपनाउनुपर्ने प्रक्रियाका विषयमा पनि निकै गल्ती हुने गरेका छन्।
विगतदेखि अहिलेसम्म सभा सञ्चालन गर्ने व्यक्ति होस् वा सांसद, संसद्मा जे बोले पनि हुन्छ भन्ने मनोविज्ञान हावी हुँदै गएको देखिन्छ। कतिपय जान्दाजान्दै र कतिपय नजानेर यस्ता गतिविधि हुने गरेका छन्। कतिपय अवस्थामा हेर्दा अशोभनीय लाग्ने गरेको छ भने सुन्दा पनि मर्यादाबाहिर गएजस्तो लाग्ने गतिविधिले संसदीय व्यवस्थाको साख कमजोर बनाइरहेको छ।
२०७७ पुस २६ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले राष्ट्रियसभाको बैठकमा रोष्ट्रमबाट सम्बोधन गर्दैगर्दा भुईंमा प्याच्च थुकेका थिए। यो दृष्य सामाजिक सञ्जालमा निकै भाइरल बन्न पुगेको थियो। २०७३ पुस १८ गते तत्कालीन सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संसद्भित्र आफूले मुखमा च्यापेको सुर्ती फ्याँकेपछि यो पनि सामाजिक सञ्जालमा निकै भाइरल बन्न पुग्यो। कतिपय शीर्ष नेता र सांसद निदाएका दृष्यहरू पनि संसद्मा देखिँदै आएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले भदौ २३ गतेको पहिलो बैठकमा सहिदका लागि एक मिनेट मौनधारण गराउनु पर्नेमा दोस्रो बैठकमा मात्र गराएर सामान्य प्रक्रियागत त्रुटि गरे। अधिवेशनको पहिलो बैठकमा सहिदका लागि मौनधारण गर्नका लागि प्रतिपक्ष पनि तयार हुन्छ भन्ने हेक्का सभामुखले नराखेको देखियो।
एमाले सांसदले अवरोध गर्न आ–आफ्नो स्थानबाट उठ्नासाथ उनी आत्तिएर बोल्न समय दिँदा त्यो त्रुटि हुन पुग्यो। उनले त्यो त्रुटि दोस्रो बैठकमा सच्याएका थिए। यस्तै उनले एमालेका नाराबाजीकै बीचमा अध्यादेश स्वीकृतिका लागि हुन्छ भन्ने र हुन्न भन्नका लागि निर्णयार्थ प्रस्तुत गनुपर्नेमा हुन्न भन्ने सांसदले हुन्न भन्नुस् भन्ने प्रस्ताव नै नराखेर हुन्छ भन्ने सांसदले हुन्छ भन्नुस् मात्र भनेर प्रस्ताव राखी अध्यादेश स्वीकृत भएको बताएका थिए।
एक कानुनविद्ले भने, ‘संसद्मा हुन्छ भन्ने र हुन्न भन्ने विषय दुवै निर्णयार्थ प्रस्तुत गर्नुपर्दछ। नत्र हुन्नको प्रस्ताव नै नगरी हुन्छ भन्ने सांसदको बहुमत पुगेको भन्न मिल्दैन,’ उनले भने। यसैगरी, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भदौ ३० गतेको बैठक एमालेले अवरुद्ध गरेपछि अर्को बैठक असोज ५ गतेका लागि बैठक स्थगित भयो भन्नुपर्नेमा भदौ ५ गतेका लागि बैठक स्थगित भयो भनेर सामान्य त्रुटि गरे। यसले पनि गल्ती नै जनाउँदछ भन्ने कानुनविद्को भनाइ छ।
अघिल्लो संसद्मा पूर्वसभामुख ओनसरी घर्तीबाट पनि केही गल्ती भएका थिए। तर उनले पछि धेरै नै सुधार गरेको पूर्वसांसदहरू बताउँछन् तर अर्का पूर्वसभामुख कृष्णबहादुर महराबाट पनि पटकपटक अशुद्ध उच्चारण र प्रक्रियामा पनि गडबड गर्ने काम भएको थियो। उनले भने कहिल्यै पनि सुधार गर्ने सोच नै गरेनन् भन्ने सांसदहरूको भनाइ छ।
यसैगरी, राष्ट्रियसभाको बैठकमा सांसद रामनारायण बिडारीले सभामुख महोदय भनेर राष्ट्रियसभाका अध्यक्षलाई सम्बोधन गरेका थिए त्यसलाई केही सञ्चार माध्यमले कुन सदनमा छु भन्ने थाहा पाउँदैनन् सांसदहरू भनेर समामार बनाएका थिए भने प्रतिनिधिसभाको बैठकमा एमालेका सांसद भूमि त्रिपाठीले सभामुखलाई श्रीमान् भनेर सम्बोधन गरेर पछि सच्याएका थिए।
यसैगरी अमरेशकुमार सिंहले ‘लुट न सके लुट कान्छा’ बोलको गीत नेपाली शासकलाई निकै मार्मिक रूपमा व्यंग गरेको भन्दै लोकगीत गायक पशुपति शर्मालाई २५ हजार पुरस्कार दिन्छु भनेर घोषणा गरे। सस्तो लोकप्रियताका लागि सदनबाटै पुरस्कारको घोषणा गर्ने र पुरस्कार भने दिन नपर्ने कुराले पनि संसद्को गरिमामा धक्का लाग्न थालेको विश्लेषक बताउँछन्।
प्रकाशित: १ आश्विन २०७८ ०१:०७ शुक्रबार