२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

भाजपा नेताको काठमाडौंमा दौडधुप

नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख विजय चौथाइवाले उच्चस्तरीय राजनीतिक भेटघाटमा जुटेका छन्। नेपाली कांग्रेसको निमन्त्रणामा आइतबार नेपाल आएलगत्तै उनले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए।

देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर चौथाइवालेले प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाईका साथै जनैपूर्णिमाको शुभकामनासमेत दिएका थिए। दुई नेताबीच भाजपा र नेपाली कांग्रेसबीचमा संवाद बनाइराख्ने सहमति भएको छ ।

चौथाइवालेले प्रधानमन्त्री देउवासँगै कांग्रेसका नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतसँग पनि भेट गरेका छन्। नेता महतले प्रधानमन्त्री देउवा र भाजपा नेता चौथाइवालेबीचको भेटले नेपाली कांग्रेस र भाजपाबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरेका छन् ।

चौथाइवालेले सोमबार नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बालकोट पुगेर भेट गरेका छन्। भेटमा नेपाल–भारत सम्बन्ध थप अघि बढाउने सन्दर्भमा सकारात्मक कुराकानी भएको चौथाइवालेले बताए। सोमबार नै उनले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरसँग पनि भेट गरेका छन् भने त्यसै दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटघाट गरेका छन् ।

नेपालमा वर्तमान सरकार बनेपछि यहाँ आउने उनी पहिलो भारतीय उच्च नेता हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट मानिने उनले शीर्ष नेताहरूसँग भेटघाट गर्नुलाई चासोका साथ हेरिएको छ। चौथाइवालेसँगै अन्य भारतीय अधिकारीहरू पनि काठमाडौंमा आएको स्रोतले जानकारी दिएको छ। उनीहरू काठमाडौको एक होटलमा बसेर भेटघाटलाई तीव्रता दिइरहेको उक्त स्रोतले जनाएको छ ।

यसअघि चौथाइवाले गत मंसिरमा पनि नेपाल आएका थिए। त्यति बेला एमालेका उपमहासचिव विष्णु पौडेलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका उनले तत्कालीन प्रधानमन्त्री केपी ओलीलगायतका नेतासँग भेट गरेका थिए।  

प्रकाशित: ८ भाद्र २०७८ ०३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App