१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पार्टी पुनर्गठनको विकल्प छैन : खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) दक्षिणपन्थी अवसरवाद र पुँजीवादको बाटो हिँडेकाले पार्टी पुनर्गठनको विकल्प नभएको बताएका छन्। उनले वर्तमान नेतृत्वले ‘संविधान च्यात्ने’, जनमत लत्याउने र सम्भावनासाथ अघि बढेको एकीकृत कम्युनिस्ट पार्टी ध्वस्त बनाउनेलगायतका गलत काम गरेपछि पार्टी पुनर्गठनको बाटोमा जानुपरेको बताए।

भारतमा उपचार गराइरहेका नेता खनालले शुक्रबार नागरिकन्युजसँग टेलिफोनमा कुरा गर्दै पुनर्गठित पार्टीले अब सबैलाई एकताबद्ध गराएर अघि बढ्ने बताए। ‘अब पार्टीका सबै नेताले पुनर्गठनको क्रान्तिकारी बाटो हिँडेर नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाईबाट अघि बढाउनुपर्छ,’ उनले भने, ‘दक्षिणपन्थी अवसरवादलाई परास्त गर्नुपर्छ।’ नेता खनालले एमाले अध्यक्ष केपी ओलीले सत्तामा पुगेपछि पार्टीलाई दक्षिणपन्थी अवसरवादको चंगुलमा धकेलेको आरोप लगाए।

‘एमाले उच्च सम्भावना साथ अघि बढेको थियो तर नेताहरूलाई एकपछि अर्काे गर्दै कारबाही गर्ने, पूर्वाग्रह साँध्नेजस्ता गलत काम नेतृत्वले नै ग¥यो,’ उनले भने, ‘दुईतिहाई बहुमतको असाधारण शक्ति भएको संसद्लाई दुई पटकसम्म ध्वस्त बनायो। सर्वसम्मतिले बनाएको संविधान च्यात्यो।’  

समाजवादलाई लक्ष्य मानेर आफूहरूअघि बढ्ने भन्दै खनालले नयाँ पहलकदमी र पुनर्गठनतर्फ प्रतिबद्ध, एकताबद्ध भएरअघि बढ्न पार्टी नेता–कार्यकर्तालाई आग्रह गरे। ‘अब क्रान्तिकारी मार्क्सवादी–लेनिनवादी कार्यदिशा र नीतिका आधारमा पार्टी पुनर्गठन गर्नुको विकल्प छैन,’ उनले भने, ‘साथीहरू नअल्मलिनुस्, तपाइँहरू दृढतापूर्वक उज्वल भविष्य देखेर अघि बढ्नुस्।’  

उनले ०३२ सालमा आफूहरूले ८ जना मिलेर पार्टी पुनर्गठन, एकीकरण, विकास र विस्तार गरी समृद्ध बनाएको भन्दै ओलीले दक्षिणपन्थी अवसरवाद अख्तियार गरेकाले पार्टीको अहिलेको अवस्था सिर्जना गरेको बताए। भारत नयाँदिल्लीमा उपचाररत खनालले आफ्नो मृगौला प्रत्यारोपण सफल भएको र करिब अबको १२ दिनभित्रमा नेपाल फर्किने  पनि बताए। 

प्रकाशित: ४ भाद्र २०७८ ११:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App