६ वैशाख २०८१ बिहीबार
राजनीति

वाग्मतीमा शाक्य मुख्यमन्त्री

राजनीतिक दलसम्बन्धी अध्यादेश जारी र नेकपा एमालेमा भएको विभाजनलगत्तै वाग्मती प्रदेशले महिला मुख्यमन्त्री पाएको छ। एमाले केन्द्रीय उपाध्यक्ष एवं प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भएकी हुन्। उनलाई प्रदेश प्रमुख विष्णु प्रसाईंले बुधबार राति मुख्यमन्त्री नियुक्त गरेका हुन्। मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छिन्।

एमाले वाग्मती प्रदेश संसदीय दलका नेता एवं प्रदेश सरकारका मुख्यमन्त्री रहेका डोरमणि पौडेलले पदबाट राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री भएकी हुन्। पौडेलले बुधबार दिउँसो संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि एमाले वाग्मती प्रदेशसभा संसदीय दलको बैठकले सर्वसम्मतिले दलको नेतामा शाक्यलाई चयन गरेको थियो। प्रदेशसभामा एमाले बहुमतमा छ।

पौडेल २०७४ माघ २८ गते प्रदेश सरकारको मुख्यमन्त्री बनेका थिए। पौडेलले संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएपछि एमाले वाग्मती प्रदेश संसदीय दलको बुधबार हेटौंडामा बसेको बैठकले दलको नेतामा शाक्यलाई चयन गरेको दलका प्रमुख सचेतक दीपक निरौलाले बताए। शाक्यलाई दलको नेता बनाउन पौडलले प्रस्ताव गरेका थिए।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेपछि शाक्यले एमालेमै रहने निर्णय गरेपछि उनलाई संसदीय दलको नेता बनाएर सरकारको नेतृत्व सुम्पन पौडेल तयार भएका हुन्। शाक्य एमाले विवादमा नेपालको साथमा थिइन्।

संसदीय दलमा पार्टी अध्यक्ष केपी ओली पक्षका सांसदको बहुमत रहे पनि नेपाल पक्षले साथ छाडेमा सरकार ढल्ने अवस्था थियो। सरकार बचाउन ओली पक्षले संसदीय समितिमा नेपाल पक्षलाई राखेर मनाउन खोजेको थियो। प्रदेशसभामा नेपाल समूहलाई मनाउन समिति थप्ने प्रस्तावसमेत पेस भएको थियो। तर नेपालले नयाँ पार्टी गठन गर्ने निर्णय गरेसँगै शाक्यसहितका केही प्रदेश सांसदले एमाले नछाड्ने तर सरकारमा नेतृत्व माग्ने निर्णय गरेका थिए। त्यसपछि ओली समूह पौडेललाई संसदीय दलको नेता र मुख्यमन्त्री छाड्न लगाएर शाक्यलाई दिने निष्कर्षमा पुगेको हो।

११० सदस्यीय वाग्मती प्रदेशसभामा एमालेका ५६ सांसद छन्। सरकार बनाउन बहुमतका लागि आवश्यक ५६ सांसद एमालेकै छन्। जसमध्ये ओलीपक्षका ३५ र नेपाल पक्षका २१ सांसद थिए तर नेपाल नयाँ पार्टी दर्ता प्रक्रियामा गएपछि यसअघि उनको पक्षमा रहेका केही सांसदले एमालेमै रहने जनाएका छन्। प्रदेशसभामा प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझाका ३, नेपाल मजदुर किसान पार्टीका २, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन्। एक पद रिक्त छ । 

प्रकाशित: ३ भाद्र २०७८ ००:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App