७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

एमालेमा स्थायी समिति हटाउने प्रस्ताव

नेकपा एमालेले स्थायी समिति हटाउने प्रस्ताव गरेको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैैठकले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यहरुमात्रै निर्वाचित हुने गरी विधान संशोधन प्रस्ताव तयार गर्दै स्थायी समिति हटाउने प्रस्ताव गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

प्रस्तावित विधानमा पाँच वर्षमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने, प्रदेश अधिवेशन ४ वर्षमा, ३ वर्षमा जिल्ला अधिवेशन र अन्य कमिटीहरुको अधिवेशनमा २/२ वर्षमा गर्ने पनि प्रस्ताव गरिएको एमालेले जनाएको छ। बैठकले स्थायी समिति बैठकले भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने भनी तयार पारेको प्रस्तावलाई पनि अनुमोदन गरेको छ।पार्टी महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यहरुमात्रै निर्वाचित गर्ने गरी विधान संशोधन प्रस्ताव तयार पारी पार्टीको तल्लो निकायसम्म छलफलका लागि पठाउने निर्णय भएको उनको भनाइ छ।  

प्रस्तावित विधानमा अध्यक्ष १, उपाध्यक्ष २, महासचिव १, उपमहासचिव २ र सचिवहरु ७ जना रहने व्यवस्था गरिएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। उनले अध्यक्ष बाहेकका अन्य पदाधिकारीको चयन भने पार्टी केन्द्रीय समितिले गर्ने प्रस्ताव पनि संशोधनका लागि विधानमा उल्लेख गरिएको बताए। 

एक महिना पार्टीको तल्लो कमिटीले छलफल गरेपछि सो प्रस्तावित विधान आगामी भदौ २७ र २८ गते हुने एमालेको विधान महाधिवेशनले पारित गर्नेछ। प्रवक्ता ज्ञवालीले विधान महाधिवेशन गर्ने स्थायी समितिको प्रस्तावलाई पनि अनुमोदन गरेको जानकारी दिए। प्रस्तावित विधान मस्यौदामा महाधिवेशन प्रतिनिधि परिषदको व्यवस्था गरिएको छ भने केन्द्रीय कमिटी, पोलिटव्यूरो र सचिवालय मात्रै रहने व्यवस्था पनि गरिएको छ।

प्रवक्ता ज्ञवालीका अनुसार सो महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली नेतृत्वको राजनीतिक प्रस्ताव मस्यौदा समिति, महासचिव ईश्वर पोखरेल नेतृत्वको संगठनात्मक प्रस्ताव मस्यौदा समिति, संगठन विभाग प्रमुख विष्णु पौडेल नेतृत्वको विधान संशोधन मस्यौदा समिति र नेता रामबहादुर थापा नेतृत्वको सो महाधिवेशन व्यवस्था समिति बनाउने स्थायी समितिको निर्णयलाई पनि अनुमोदन गरेको छ।

प्रकाशित: २५ श्रावण २०७८ १४:०३ सोमबार

नेकपा एमाले महाधिवेशन