७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

सांसद ‘बेपत्ता’ को अन्तर्य–सत्ता

लुम्बिनी प्रदेशसभाको उपनिर्वाचनमार्फत् दाङ क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित बिमला ओली बैशाख १९ मा बेपत्ता भएको खबर बाहिरियो। नेकपा खारेज भई एमाले र माओवादी केन्द्र अलग भैसकेको अवस्थामा सत्तारुढ एमालेले उनलाई विपक्षी गठबन्धनले बेपत्ता पारेको आरोप लगायो। नेकपा खारेजीपश्चात् दल रोज्ने अधिकार पाएकी बिमला माओवादी रोज्ने तयारीमा थिइन्। उनी बेपत्ता भएको खबर बाहिरिएको केही बेरपछि उनले पत्रकार सम्मेलनै गरेर भनिन् ‘म बेपत्ता भएको छैन, म यहीँ छु।’  

त्यो पत्रकार सम्मेलनमार्फत् नै उनले आफूले नेकपा माओवादी केन्द्र रोजेको स्पष्ट समेत पारिन्। तर एमालेका प्रमुख सचेतक भुमेश्वर ढकाल भने यो कुरा स्वीकार्न चाहन्नन्। उनले माओवादीले नै त्यो बेला बिमलालाई कब्जामा लिएर बलजफ्ती प्रवेश गर्न लगाएको दाबी गरे। ‘त्यो बेला बिमला जी आफू स्वेच्छाले जानु भएको हैन नि,’ ढकालले भने ‘माओवादीले उहाँलाई सकेसम्मको शक्ति प्रयोग गरेर भित्र्याएको यथार्थता प्रष्टै छ।’

सत्तारुढ एमालेको नजरमा बेपत्ता बनेकी उनै सांसद बिमला तीन महिनापश्चात् फेरि बेपत्ता बन्न पुगिन्। बैशाख १९ मा उनले रोजेकै दल नेकपा माओवादी केन्द्रसँग उनको सम्पर्क टुटेपछि माओवादी केन्द्रले उनलाई बेपत्ता भएको धारणा सार्वजनिक गर्यो। भलै दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेसँगको फोन सम्पर्कमा उनले आफू बिरामी भएर उपचारका लागि नेपालगन्जमा रहेको बताएकी थिइन्।  

‘मेरो घाँटीको उपचारका लागि म नेपालगन्जमा छु भन्नु भएको थियो,’ एसपी काफ्लेले भने ‘मैले अन्य कुनै अप्ठेरो हो कि हैन भनेर सोध्दा उहाँले मलाई त्यस्तो अन्य कुनै अप्ठेरो परेको छैन भन्नु भएको हो।’ तर माओवादी केन्द्रका अनुसार उनी अहिले बुटवलमै छिन्।  

माओवादी केन्द्रले शुक्रबार बिहानदेखि सांसद बिमला बेपत्ता भएको बताएको मात्रै छैन, सत्तारुढ एमालेले नै उनलाई बेपत्ता पारेको दाबी गरिरहेको छ। माओवादी केन्द्रका अनुसार यसमा ‘सत्ता टिकाउ’ को स्वार्थ जोडिएको छ।  

त्यसो त, स्पष्ट बहुमतको अवस्थामा रहेको विपक्षी गठबन्धनलाई एकमात्रै उपाय मुख्यमन्त्री शंकर पोख्रेलका सामु छ। जसपाका तीनजना सांसदको पद खारेजीसँगै पोख्रेलले आफ्नो पक्षमा बहुमत पुर्याउने सम्भावना न्यून बनिसकेको छ। फलतः विपक्षी गठबन्धनको सांसद संख्या घटाउन सके विपक्षीलाई समेत अल्पमतमा पारिदिने योजनामा मुख्यमन्त्री छन्। यही योजना मुताबिक सांसद बिमलालाई एमालेले आफ्नो पक्षमा पार्ने रणनीति बनाएको आरोप माओवादी केन्द्रको छ। ‘सांसद बिमला ओलीलाई बिपक्षीबाट तानेर आफूतिर समेट्न सके बिपक्षी कमजोर बन्छ भन्ने दाउमा सत्तापक्ष लागेको हो,’ माओवादी केन्द्रका सांसद ईन्द्रजीत चौधरी भन्छन् ‘फलतः ललाई फकाई या सामदाम प्रयोग गरेरै उहाँलाई हामीबाट सम्पर्कविहीन पारिएको हो।’  

एमालेले सांसद बिमलालाई आफ्नो पार्टीमा प्रवेश गराउनका लागि गुमनाम बनाएकोमा माओवादी केन्द्र ढुक्कजस्तै बनिसकेको छ। फलतः उसले सांसद बिमलालाई सांसद पदबाटै कारवाही गर्न मिल्ने नमिल्ने वैधानिक बाटोको खोजी गर्ने तयारी थालिसकेको छ।  

बिमलाको खोजीका लागि खोजतलास समिति बनाएको माओवादी केन्द्रले दुई दिनसम्म खोजतलास गर्नेछ। उक्त समितिको खोज रिपोर्ट अनुसार अगाडि बढ्ने निर्णयमा माओवादी पुगेको छ। ‘उहाँको खोजीका लागि हामीहरुले खोजतलास समिति बनाएका छौँ,’ माओवादी केन्द्रका सांसद ईन्द्रजीतले भने ‘उक्त समितिको रिपोर्ट अनुसार हामीहरु अगाडि बढ्छौँ।’  

बिमलालाई सांसद पदबाट हटाउन मिल्ने वा नमिल्ने भन्ने बारेमा पनि कानुनी परामर्शमा आफुहरु जुट्ने माओवादीको तयारी छ। तर बिमला निर्वाचन आयोगमा भने नेकपाकै सांसद भनेर उल्लेख छिन्। ‘उहाँ माओवादी केन्द्रको सांसद भैसकेको त हो, फलतः उहाँलाई कारबाहीको तयारी हामीले नगर्ने भन्ने कुरा हैन,’ सांसद ईन्द्रजीतले भने ‘तर निर्वाचन आयोगमा नेकपा सांसद रहेकाले उहाँलाई कारवाही हुन्छ या हुँदैन भन्ने बारेमा हामीहरुले कानुनी परामर्श लिन्छौँ।’  

जसपाका तीन सांसदको बर्खास्तीपछि अल्पमतमा रहेका मुख्यमन्त्री पोख्रेलसँग अहिले ३८ मत मात्रै छ। तर बहुमतका लागि ४१ मत चाहिन्छ। बिमलालाई आफूतिर समेट्न सकेपनि पोख्रेलको पक्षमा बहुमत पुग्दैन। तर बिपक्षी गठबन्धन पनि बहुमतबाट कमजोर बन्छ। हाल बिमलासहित बहुमत अर्थात् ४१ मतमा बिपक्षी गठबन्धन छ। सत्ता पक्षले बिपक्षीलाई पनि अल्पमतमा पुर्याउने दाउमात्रै हेरिरहेको छ।  

बिमलाजस्तै केही दिन अघि जनता समाजवादी पार्टीका प्रमुख सचेतक पूर्मती ढेंगा मगर पनि बेपत्ता भएको खबर बाहिरियो। जसपाले आफ्ना प्रमुख सचेतकलाई सत्तारुढ दलले नै बेपत्ता पारेको आरोप लगायो। उसले त खोजीका लागि प्रहरी समक्ष उजुरीसमेत दिएको थियो। बेपत्ता भनिएकी मगर जसपाको आधिकारिकतापछि बल्ल सम्पर्कमा आएकी थिइन्। आफू भारतमा घुम्न गएको भनेर जवाफ दिएकी मगरको सम्पर्क बिहिनताको अर्थ भने सत्तारुढ पार्टीकै नियत रहेको जसपा लुम्बिनी प्रदेश बताउँछ।

जसपा लुम्बिनी प्रदेशका अध्यक्ष अशोककुमार यादवका अनुसार प्रमुख सचेतक मगरलाई  परिवारलाई प्रयोग गरी जसपाको तत्कालीन महन्थ ठाकुर पक्षमा प्रवेश गर्न दबाब दिइएको थियो। ‘उहाँ अहिले हाम्रो सम्पर्कमा आएर पार्टीको काम गरिरहनु भएको छ,’ यादवले भने ‘तर त्यो बेला उहाँलाई परिवारले जसपाको समूह परिवर्तन गर्न दबाब दिएको थियो, उहाँको परिवारलाई सत्ताधारी समुहले प्रयोग गरेकै हो।’  

संविधानको धारा १६८ (१) (एकल दलको बहुमत) अनुसार वर्तमान मुख्यमन्त्री कायम छैनन्। नत उनले जसपाका तीनै जना मन्त्री कारवाही भैसकेपछि १६८ (२) अन्तर्गतको सरकार भन्ने संवैधानिक आधार नै मुख्यमन्त्रीसँग छ। फलतः आफ्नो अनुकुलताका लागि विपक्षीलाई पनि अल्पमतमा पारेर पुनः सत्ताको नेतृत्वमै आसिन हुने नियतमा मुख्यमन्त्री लागेको विपक्षी दलहरुको बुझाइ छ। १६८ (२) अनुसार बिपक्षीको पनि बहुमत पुग्न नदिने र १६८ (३) अनुसार संसदको ठूलो दलको हैसियतले पुनः आफ्नै नेतृत्वमा सरकार गठन गर्ने दाउमा मुख्यमन्त्री रहेको माओवादी केन्द्रका सांसद ईन्द्रजीत बताउँछन्। ‘मुख्यमन्त्रीजीले दाबी गरेअनुसार १६८ (१)को मुख्यमन्त्री उहाँ अब हैन, नत २ अनुसार नै उहाँ हुनुहुन्छ,’ उनले भने ‘विपक्षीलाई पनि २ अन्तर्गतको सरकार गठनमा रोकेर ३ अनुसार पुनः आफै मुख्यमन्त्री बन्ने योजनामा उहाँ हुनुहुन्छ, यसैको उपज नै सांसद बिमलाको सम्पर्क बिहिनताको अवस्था हो।’

तर एमाले लुम्बिनी प्रदेशका प्रमुख सचेतक भुमेश्वर ढकालले भने सांसद बिमला एमालेकै सांसद रहेको दाबी गर्छन्। एमाले संसदीय दलको बैठकमा उनको विगतको सहभागिता र उपनिर्वाचनमा एमालेकै कोटाबाट उम्मेदवार बनेको भन्दै ढकालले उनलाई माओवादी केन्द्रले आफ्नो मानेको मात्रै बताए। ‘उहाँ एमालेकै हो, माओवादी उहाँ हुनुभएकै हैन, बनाइएको मात्रै हो,’ ढकालले भने ‘अहिले पनि उहाँ माओवादी हुनुहुन्न।’ तर बेपत्ता रहेको भनिएकी सांसद बिमलाको अवस्थाबारे भने एमाले अनभिज्ञ रहेको समेत उनले बताए। ‘एमालेले बेपत्ता पार्याे भनेर माओवादीले एमालेको बद्नाम गर्न खोजेको हो,’ उनले भने ‘उहाँसँग हाम्रो सम्पर्क भएकै छैन, उहाँ कहाँ हुनुहुन्छ त्यो हामीलाई केही थाहा छैन।’

प्रकाशित: १६ श्रावण २०७८ ११:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App