१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

स्थायीत्वका लागि विश्वासको मत दिनुस्: मुख्यमन्त्री पोखरेल

विश्वासको मत माग्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल। तस्बिर: उमेश पुन/नागरिक

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थायीत्वका लागि आफूलाइै विश्वासको मत दिन आग्रह गरेका छन् । विश्वासको मत लिन आज बोलाइएको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले आफूले विस्वासको मत नपाए प्रदेश सभा विघटन हुने र यसले गर्दा प्रदेशमा अस्थिरता निम्तिने भएकाले स्थायीत्वका लागि आफूलाई मत दिन आग्रह गरेका हुन् । 

जनताले ५ वर्षका लागि जनादेश दिएकाले त्यस अघि नै जनतामा जानु कुनैपनि दृष्टिकोणले उपयुक्त नहुने भन्दै उनले भने,।।।मतादेश विपरित संसद विघटन गरेर दुर्घट्नातिर, विघटन तिर र अस्थिरतातिर जानु संवैधानिक रुपमा पनि राम्रो नदेखिएकाले हाम्रो गठबन्धनका माननीय ज्यूहरु त हुँदै हुनुहुन्छ, म देब्रेतर्फ बस्ने बिपक्षी माननीय ज्यूहरुलाई पनि स्थायीत्वको लागि विश्वासको मत दिनुहुन अनुरोध गर्दछु ।’ 

उनले संघीयतामा आईसकेपछि राजनीतिक स्थिरता हुन्छ भन्ने कुराको सन्देश दिनका लागिपनि आफूलाई मत दिनुको विकल्प नभएको जिकीर गरे । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संरक्षण गर्दै कार्यान्वयनका लागिपनि प्रदेश सभा बचाउनुपर्ने भएकाले आफूलाई विश्वासको मत दिन आग्रह गरे । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम बनेको आफू नेतृत्वको सरकार विघटन भएमा प्रदेश सभा विघटन हुने र त्यस्तो भएमा संघीयता नै कमजोर बन्नसक्ने भएकालेपनि आफूलाई विश्वासको मत उनको आग्रह थियो ।

मुख्यमन्त्री पोखरेलले आफूलाई सरकारको नीति तथा कार्यक्रम हेरेरपनि विश्वासको मत दिन आग्रह गरे । आफू नेतृत्वको सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत प्रदेशबासीलाई कोरोना खोपको सुनिश्चितता गर्ने, कोरोनाको परीक्षण, नियन्त्रण र उपचारका लागि योजनाबद्ध कार्यक्रम र बजेट छुट्याएकाले सो कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागिपनि आफू नेतृत्वको सरकारलाई विश्वासको मत दिन उनले आग्रह गरे ।

मुख्यमन्त्री पोखरेलले महिलाको धेरै पीडा मध्ये स्तन क्यान्सर र पाठेघरको मुख क्यान्सरको लाग्ने खर्च सरकारले बेहोर्ने, ज्येष्ठ नागरिकको उपचार खर्च बेहोर्ने, कोभिड–१९ का कारण अभिभावक गुमाएका बालबालिका, कोभिड–१९ का कारण ज्यान गुमाएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई नगद राहत उपलब्ध गराउनलेलगायतका कार्यक्रम कार्यान्वयनका लागिपनि यो सरकार रहिरहन आवश्यक रहेको बताए । प्रदेशका सबै जिल्ला अस्पताललाई २० देखि ५० शैयाको अस्पतालको रुपमा स्तरोन्नती गर्नेदेखि गर्भवती तथा नवजात शिशुको हेलिकोप्टरबाट उद्धार गरि निःशुल्क उपचार गर्नेसम्मको कार्यक्रम कार्यान्वयनका लागिपनि वर्तमान सरकार रहिरहनुपर्ने उनको भनाई छ । साथै समाजमा क्यान्सरको रुपमा रहेको भ्रष्टाचार न्यूनिकरण गर्दै पारदर्शी र उत्तरदायी राज्य निर्माण गर्ने प्रतिबद्धता कार्यान्वयनका लागिपनि आफूलाई मत दिन मुख्यमन्त्री पोखरेलले आग्रह गरे।

प्रकाशित: ४ असार २०७८ ०७:२४ शुक्रबार

स्थायीत्वका लागि विश्वासको मत मुख्यमन्त्री पोखरेल