गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सपथ लिएका छन् । पोखरेलले शनिबार राती ८ः३० बजे प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट सपथ लिएका हुन् ।
सपथ लगत्तै मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद गठन गरेका छन् । उनले आफूलाई समर्थन गर्ने सबै दलका एक/एक जना समेटेर आफूसहित ५ सदस्यीय मन्त्रिपरिषद गठन गरेका हुन् ।
मुख्यमन्त्री पोखरेलले नेपाली कांग्रेसबाट कास्कीका कुमार खड्का, नेकपा माओवादी केन्द्रबाट लमजुङकी मधु अधिकारी गुरुङ, जनता समाजवादी पार्टी (जसपा)बाट गोरखाका सांसद हरिशरण आचार्य र मनाङबाट निर्वाचित स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेलाई मन्त्रीमा नियुक्त गरेका छन् । मन्त्रीमा नियुक्त कसैलाई पनि मन्त्रालयको जिम्मेवारी नतोकि बिना विभागीय मन्त्रीमा नियुक्त गरिएको जनाइएको छ । मन्त्रीमा नियुक्त खड्का यसअघी संघ सरकारका महिला, बालबालिका तथा समाज कल्याणमन्त्री भइसकेका हुन् ।
त्यस्तै लमजुङकी अधिकारी सहीद पत्नी हुन् । उनले यसअघी सभामुखमा पनि दाबी गरेकी थिईन् । गुण्डा नाईकेका रुपमा छवी बनाएका स्वतन्त्र सांसद मनाङे यसअघी पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री हुँदा २ पटक युवा तथा खेलकुदमन्त्री बनेका थिए । उनी डेढ महिनाको अवधिमा तेश्रो पटक मन्त्री बनेका हुन् । यसअघी पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री हुँदा बैशाख १६ गते पहिलो पटक मन्त्री बनेका उनी बैशाख २९ गते अल्पमतको सरकार बन्दापनि मन्त्री बनेका थिए ।
नवनियुक्त मन्त्रीहरुले शनिबार राती नै सपथ लिएका छन् । उनीहरुलाई मुख्यमन्त्रीको उपस्थितिमा प्रदेश प्रमुख पौडेलले सपथ खुवाएकी थिईन् ।
पोखरेललाई समर्थन गर्ने मध्येको एक दल जनमोर्चा भने सरकारमा नजाने भएको छ । जनमोर्चाको केन्द्रीय नीति नै बिपक्षी गठबन्धनलाई समर्थन गर्ने तर सरकारमा नजाने नीति रहेकाले आफूहरु सरकारमा नगई बाहिरै बसेर समर्थन गर्ने जनमोर्चा संसदीय दलका नेता पियारी थापाले बताईन् ।
प्रकाशित: २९ जेष्ठ २०७८ १५:५५ शनिबार