जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरसहितका नेतालाई दोस्रो पटक २४ घन्टे स्पष्टीकरण सोधेको छ। जसपाका अध्यक्ष महन्थ ठाकुर लगायत सर्वेन्द्रनाथ शुक्ला,राजेन्द्र महतो र लक्ष्मणलाल कर्णलाई यादव पक्षले शनिबार स्पष्टीकरण सोधेको हो ।
कार्यकारिणी सदस्य प्रकाश अधिकारीद्वारा पठाइएको स्पष्टीकरण पत्रमा उक्त अवधीमा चित्त बुझ्दो जवाफ नआएमा पार्टीबाट निष्कासन गर्ने समेतको चेतावनी दिइएको छ। यादवपक्षले जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोसहितका नेताहरूलाई जेठ ११ गते पहिलो पटक ७२ घण्टे स्पष्टीकरण सोधेको थियो।
नयाँ सरकार गठनका लागि कसलाई समर्थन गर्ने भन्ने विवाद हुँदा जसपा विभाजनउन्मुख छ । संसदीय दलमा ठाकुर पक्षको बहुमत देखिएपनि जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव पक्षको बहुमत रहेको छ ।
प्रकाशित: १५ जेष्ठ २०७८ ०९:०१ शनिबार