१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उपप्रधानमन्त्री र स्वीजरल्याण्डकी राजदूतबीच संवादः स्वीजरल्याण्डबाट शनिबार स्वास्थ्य सामग्री आइपुग्ने

स्वीजरल्याण्ड सरकारले कोरोना भाइरसविरुद्वको लडाईंमा साथ दिँदै नेपाललाई यसैसाता बिभिन्न स्वास्थ्य सामाग्री पठाउने भएको छ। 

उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग आज भएको टेलिफोन संवादमा नेपालका लागि स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भन क्यापिलरले नेपाल सरकारलाई बिभिन्न स्वास्थ्य सामग्री सहयोग गर्न लागेको जानकारी दिइन्। राजदूत क्यापिलरका अनुसार स्वीजरल्याण्ड सरकारले अक्सिजन कन्सेन्ट्रेटर, पीपीई, मास्क र एन्टिजेन टेस्टिङ किट सहयोग गर्न लागेको हो। स्वास्थ्य सामाग्री बोकेको गुल्लिभ एयरको कार्गो चार्टर्ड जहाज शनिबार काठमाडौं आइपुग्ने स्वीस राजदूत क्यापिलरले जानकारी दिइन्। चार्टर्ड फ्लाइटको खर्च पनि स्वीस सरकारले नै व्यहोर्ने भएको छ।  

उपप्रधानमन्त्री पोखरेलले नेपाल र नेपालीप्रति सद्भाव देखाएकोमा स्वीजरल्याण्ड सरकारलाई धन्यवाद दिए। कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले यसअघि नेपालस्थित अमेरिकी राजदूत र संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकसँग सहयोगका लागि अपिल गरेका थिए। 

नेपालमा कोरोना भाइरस संक्रमण बढीरहेका बेला नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत सहयोगका लागि कुटनीतिक पहल गरिरहेको छ।

प्रकाशित: ४ जेष्ठ २०७८ १४:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App