१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

२० न्यायाधीश नियुक्ति सिफारिस, एकजनाविरुद्ध फरक राय

न्याय परिषद् सचिवालयको शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतका लागि दुईजना न्यायाधीश र उच्च अदालतका लागि १८ न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ । न्यायाधीश नियुक्तिमा गलत भएको भन्दै एकजनाविरुद्ध परिषद्का सदस्य एवं सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले भने फरक राय दिएका छन् ।

सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालालाई नियुक्तिका लागि योग्य नभएकाले सिफारिस गर्न नहुने भन्दै फरक राय दिएका हुन् । कोइरालालाई उच्च अदालत जनकपुर वीरगन्ज इजलासका लागि सिफारिस गरिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्ष रहेको परिषद् बैठकले रिक्त न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि सदस्य कार्कीले फरक राय दिएका हुन् ।

न्यायाधीश कोइरालाले विवादास्पद फैसला गरेको भन्दै उनलाई नियुक्तिको सिफारिस गर्न नहुने भन्दै कार्कीले फरक राय दिएको बताइएको छ । जबर्जस्तीकरणीको आरोपमा सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई न्यायाधीश कोइरालाले सफाइ दिने फैसला गरेका थिए । परिषद्को सिफारिसमा परेका कोइराला जिल्ला न्यायाधीशतर्फको सूचीमा पाँचौं नम्बरमा छन् ।

कोइरालालाई सिफारिस गर्ने परिषद्को निर्णयप्रति असन्तुष्टि जनाउँदै परिषद्का वरिष्ठ सदस्य कार्कीले ‘नोट अफ डिसेन्ट’ लेख्दै फरक राय दिएका हुन् ।

न्यायाधीश कोइरालाले जग्गासम्बन्धी मुद्दामा र जबर्जस्तीकरणी मुद्दामा गलत फैसला गरेकाले उनलाई सिफारिस गर्नु गलत भएको भन्दै कार्कीले फरक राय नै लेखेको स्रोतले जनाएको छ । परिषद् बैठकले न्याय सेवामा कार्यरत, जिल्ला न्यायाधीश र अधिवक्तामध्येबाट सातजनासहित न्यायाधीश नियुक्तिका लागि २० जनाको नाम सिफारिस गरेको हो ।

बैठकले सर्वोच्च अदालतका लागि उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई नियुक्तिका लागि सिफारिस गरेको हो । सर्वोच्च अदालतमा दुईजना न्यायाधीश पद रिक्त थियो ।

त्यसैगरी न्याय सेवाका सचिवमध्येबाट नायब महान्यायाधिवक्ता नारायणप्रसाद पौडेल उच्च अदालत पाटनका लागि र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव ऋषि राजभण्डारीलाई उच्च अदालत पोखराका लागि न्यायाधीश नियुक्तिको सिफारिस गरिएको छ । न्याय सेवाका प्रथम श्रेणीका अधिकृतमध्येबाट उच्च अदालत पाटनका रजिस्ट्रार रामेश्वर रेग्मीलाई उच्च अदालत जनकपुर र सर्वोच्च अदालतका सहरजिस्ट्रार ममता खनाललाई उच्च अदालत तुलसीपुर बुटवल इजलासमा नियुक्तिका लागि सिफारिस गरिएको छ ।

त्यसैगरी जिल्ला न्यायाधीशहरूबाट जगतनारायण प्रधान, माधवेन्द्र रेग्मी, पुरुषोत्तमप्रसाद ढकाल, विष्णु सुवेदी, अर्जुनप्रसाद कोइराला, अमृतबहादुर बस्नेत, मेदिनीप्रसाद पौडेललाई विभिन्न उच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरिएको छ ।

त्यसैगरी अधिवक्तामध्येबाट फुर्वा तामाङ, श्रीधरा पुडासैनी, जगदीश घिमिरे, पुनम सिंह, सागर चन्द, गणेश ठाकुर, निर्मला शाक्यलाई उच्च अदालतका न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको हो ।

प्रकाशित: २९ फाल्गुन २०७७ ०१:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App