४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश २ः प्रतिशोधको राजनीतिले प्रदेश प्रमुख परिवर्तन

तिलक परियार र राजेश झा

प्रदेश २ मा दोस्रोपटक प्रदेश प्रमुख परिवर्तन भएको छ। गत कात्तिक २० गते सरकारले सातै प्रदेशका प्रमुखलाई पदमुक्त गर्दा प्रदेश २ मा रत्नेश्वरलाल कायस्थको ठाउँमा तिलक परियारलाई नियुक्त गरिएको थियो। मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखबाट परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। उनको ठाउँमा राजेश झालाई नियुक्त गरिएको छ।

तीन महिना नबित्दै तीनजना अनुहार प्रदेश प्रमुखका रूपमा देखिनुले देशमा सबैभन्दा अस्थिर पद नै प्रदेश प्रमुख रहेको पुष्टि भएको जनकपुरका प्राध्यापक सुरेन्द्र लाभको विश्लेषण छ। ‘यस नियुक्ति र पदमुक्तिले दुईवटा सन्देश दिएको छ,’ उनले भने, ‘पहिलो राजनीतिक प्रतिशोध र अर्को अस्थिरताको।’ प्रदेशको गठनसँगै नियुक्त पहिलो प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ सत्ताधारी जसपानजिक भनेर चिनिन्थे। उनको ठाउँमा नियुक्त तिलक परियार नेकपा नजिकका भनेर चिनिन्छन्। ‘नेकपामा दुई धार भएपछि उनी दहाल–नेपाल नजिकका हुन् भन्ने चर्चा थियो,’ प्राध्यापक लाभले भने, ‘अब त यो पद राजनीतिक बदला साँध्ने प्रवृत्तिले अस्थिर बन्यो। को कतिबेला पदमुक्त हुने हो, ठेगान छैन।’

राजनीतिक विश्लेषक डा. विजयप्रसाद मिश्र भन्छन्, ‘प्रदेश प्रमुख पदमुक्त र नियुक्तका कारण राजनीतिक प्रतिशोध बन्नु राम्रो होइन। अब जतिबेला पनि सत्ताले आफ्नो स्वार्थ नमिल्दा प्रदेश प्रमुख हटाउने र नियुक्त गर्ने परम्परा सुरुवात भयो।’ नवनियुक्त प्रदेश प्रमुख डा. राजेश झा योग्य व्यक्ति भएकोमा दुईमत नभए पनि तिलक परियारको पदमुक्ति अस्वाभाविक र अपर्झट हुन नहुने डा. मिश्रको भनाइ छ।

प्रतिनिधिसभा भंग पछि बदलिएको राजनीतिक परिस्थितिमा प्रदेश प्रमुखलाई हटाइनुलाई विश्लेषकहरूले अर्थपूर्ण रूपमा विश्लेषण गरेका छन्। प्राध्यापक लाभको विश्लेषणमा प्रदेश प्रमुखमा राजेश झाको नियुक्ति मधेसको मन जित्ने दाउ हुन सक्छ। मधेसी समुदायका व्यक्तिलाई नियुक्त गरेर केपी ओली नेतृत्वको सरकार भावनात्मक सम्बन्ध प्रगाढ बनाउने लागिपरेको हुन सक्ने उनको भनाइ छ।

कानुनी उपचार खोज्छु : परियार

शुक्रबार नियमित कार्यसम्पदानमा व्यस्त प्रदेश २ का प्रमुख तिलक परियारलाई पदमुक्त भइएला भन्नेमा कुनै शंकै थिएन। कुनै संकेतबिना राष्ट्रपति कार्यालयबाट इमेल प्राप्त भएपछि उनी छक्क परे। पदमुक्त हुनुपर्नेगरी कुनै काम पो गरियो कि भन्ने विगतलाई सम्झन थाले। ‘अहँ छैन, त्यस्तो कुनै काम त मबाट भएको छैन,’ उनले भने, ‘फेरि इमेल पढें। व्यहोरा दोहोर्‍याएर पढ्दा पदमुक्त गरिएको पाएँ।’ राष्ट्रपति कार्यालयबाट पदमुक्त गरिएको इमेल आउँदा सुरुमा पत्याउनै गाह्रो भएको प्रतिक्रिया उनले दिए।

‘पदमुक्त गरिएकोमा छक्क परेको छु,’ भावुक स्वरमा परियारले भने, ‘प्रदेश प्रमुखको भूमिका तटस्थ र निष्पक्ष रूपमा निर्वाह गरेको थिएँ। मलाई कुनै पूर्वजानकारी नै दिइएन। मेरो कमजोरी थियो भने भन्नु पथ्र्यो नि !’ सच्चिने अवसर नदिई हटाइँदा आफूमाथि अन्याय भएको उनले बताए। ‘अब कानुनी उपचार खोज्छु,’ उनले भने। उनले पूर्वमाओवादी पक्षबाट पुष्पकमल दाहालको सिफारिसमा आफू प्रदेश प्रमुख नियुक्त भएकाले पूर्वाग्रह राखेर पदबाट मुक्त गरिएको आशंका गरे।

प्रकाशित: ८ फाल्गुन २०७७ ०२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App