८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेसद्वारा देशभरि प्रदर्शन: विघटनविरुद्ध आक्रामक चुनावप्रति सकारात्मक

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा शनिबार प्रदेशसभाका ३ सय ३० निर्वाचन क्षेत्रमा प्रदर्शन र सभा गरेको छ। पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए। प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई अलोकतान्त्रिक, असंवैधानिक र सर्वसत्तावादी आकांक्षाबाट प्रेरित कदमको संज्ञा दिएको कांग्रेसले त्यसको विरोध गर्दै आएको छ। पुस १३ गते प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमा विघटनको विपक्षमा सडकमा उत्रिएको कांग्रेसले त्यसयता विरोधका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।  

पाँच वर्षका लागि प्राप्त जनमतलाई खण्डित गर्दै प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमले लोकतन्त्र र लोकतान्त्रिक शासन व्यवस्थाको मर्ममाथि नै प्रहार गरेको कांग्रेसका धेरैजसो नेताहरूले बताएका छन्। यो विवाद सर्वोच्च अदालतमा पुगेको छ। कांग्रेसले विघटनको विरोधमा कार्यक्रम गर्दै आए पनि नेताहरूले यो अब अदालतको विषय बनेको पनि बताएका छन्। पूर्वप्रधानन्यायाधीशसमेत विघटनको विपक्षमा उभिएका बेला कांग्रेस नेताले अदालतको निर्णय स्वीकार गर्ने बताएका छन्। अदालतलाई दबाब वा प्रभावमा पार्ने काम कसैले पनि गर्न नहुने भन्दै कांग्रेस नेताले संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई अदालतले सदर गरिदिए सबै दल निर्वाचनमा सहभागी हुने विश्लेषण गरेका छन्। तर कांग्रेस नेताले वैशाखमै प्रधानमन्त्री ओलीले निर्वाचन गराउनेमा भने आशंका व्यक्त गरेका छन्।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमसहित कम्युनिस्ट नेतृत्वको सरकारले गरेका गलत कामको भण्डाफोर गर्दै निर्वाचनको तयारी पनि कांग्रेसले एकैसाथ अघि बढाएको छ। उसले जिल्ला हुँदै वडा तहसम्मका विरोधका कार्यक्रम तय गरेर संगठन परिचालन गर्ने रणनीति अख्तियार गरेको छ। यही रणनीतिअन्तर्गत शनिबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई प्रजातन्त्र र संविधान विरोधी भएको बताए। तर उनले विघटनविरुद्धको मुद्दा अदालत पुगेकाले यसमा आफूले यो वा त्यो नभन्ने स्पष्ट पारे। ‘मोटो आँखाले हेर्दा प्रधानमन्त्री ओलीको कदम प्रजातन्त्रविरुद्धको हो, संविधानविरुद्धको कदम हो,’ काठमाडौं–५ ले बुढानीलकण्ठमा आयोजना गरेको सभामा देउवाले भने, ‘तर अदालतमा मुद्दा विचाराधीन भएकाले जुलुस निकालेर यो गर, ऊ गर भन्ने होइन, अदालतको निर्णय पर्खिनुपर्छ। अदालतको निर्णय कांग्रेसले मान्छ।’

प्रतिनिधिसभा विघटन गर्ने कदमलाई अदालतले सदर गरे कांग्रेस निर्वाचनमा सहभागि हुने पनि देउवाले स्पष्ट पारे। सर्वोच्चभन्दा ठूलो अदालत जनता भएकाले जनतामा जाँदा के बिग्रन्छ भन्ने प्रश्न गर्दै उनले भने, ‘अदालतले चुनाव गराउने निर्णय गर्‍यो भने सबैले भाग लिन्छन्।’

वैशाखमै निर्वाचन हुने र गराउनेमा सर्वत्र आशंका रहेको बताउँदै देउवाले चुनाव नगराए ओलीलाई सबै मिलेर सडकबाटै हटाउने चेतावनी दिए। त्यस्तो अवस्था आएमा ओलीलाई देशमा बस्नसमेत गाहे हुन सक्ने भन्दै देउवाले भने, ‘तर ओली आफैं चुनाव प्रचारमा गइसकेकाले ढिलोचाँडो निर्वाचन हुन्छ भन्नेमा विश्वास छ।’

त्यस्तै काठमाडौं–१ का दुवै प्रदेशसभा निर्वाचन क्षेत्रको सभालाई सम्बोधन गर्दै नेता प्रकाशमान सिंहले संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्न नसक्ने बताए। संविधानको रक्षाका लागि पार्टीले विरोधका चरणबद्ध कार्यक्रम ल्याएको बताउँदै सिंहले झन्डै दुई तिहाइ बहुमत प्राप्त नेकपाको सरकार असंवैधानिक बाटोतिर लागेको आरोप लगाए। प्रधानमन्त्रीले अधिकार दुरुपयोग गरेर प्रतिनिधिसभा विघटन गरेको धारणा राख्दै सिंहले ओली नेतृत्वको सरकारले निर्वाचन गराउनेमा पनि आशंका व्यक्त गरे। दुई तिहाइ मत पाएको प्रधानमन्त्री भन्ने तर संसद्मा विश्वासको मत लिन नसक्नेले निर्वाचन कसरी गराउँछन् भन्ने प्रश्न गर्दै उनले थपे, ‘निर्वाचन हुने ग्यारेन्टी कसले लिन्छ ? त्यसैले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम सच्याउनुको विकल्प छैन।’  

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको बताए।  

प्रधानमन्त्रीको असंवैधानिक कदमलाई असफल तुल्याउने बताउँदै काठमाडौं–६ ले प्रदर्शनीमार्गमा आयोजना गरेको सभामा प्रवक्ता शर्माले भने, ‘सबैखाले अँध्यारोसँग लड्न कांग्रेस मैदानमा उत्रिएको छ। लोकतन्त्र, संविधान र जनआकांक्षालाई कांग्रेसले सम्बोधन गर्नेछ।’  

केन्द्रीय सदस्य गगनकुमार थापाले प्रधानमन्त्री ओलीलाई क्रान्तिकारी नभएर प्रतिनिधिसभा छाडेर हिँड्ने भगौडाको संज्ञा दिए। प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले प्रधानमन्त्रीलाई नदिएको बताउँदै केन्द्रीय सदस्य थापाले संविधान पढ्न खुलामञ्चमा आउन चुनौती दिए। ‘कमरेड ओली आउनुस्, खुलामञ्चमा बहस गरौं,’ काठमाडौं–४ ले कपनमा आयोजना गरेको सभामा थापाले भने, ‘तपाईं मैदान छाडेर लुकेर बस्ने सुवास नेम्वाङलाई लिएर आउनुस्, हामी संविधान ढोगेर जारी गर्ने रामवरण यादवलाई लिएर आउँछौं, खुलामञ्चमा जनताका बीचमा संविधान पढौं।’  

कांग्रेसले प्रदेशसभाका ३ सय३० वटै निर्वाचन क्षेत्रमा आयोजना गरेको विरोधसभामा केन्द्रदेखि जिल्ला तहका नेताहरूले सम्बोधन गरेका छन्। कांग्रेसले माघ ३ गते ७ सय ५३ स्थानीय तह र ८ गते ६ हजार ७ सय ४३ वडामा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ।

प्रकाशित: २६ पुस २०७७ ००:५८ आइतबार

नेपाली काँग्रेस प्रतिनिधिसभा विघटन विरोध निर्वाचन